मुकुन्द गैरे
काठमाडौँ, भदौ, ४ गते । लकडाउनपछि साउन मसान्तसम्म पाँच महिनाको अवधिमा विभिन्न मुलुकबाट ५० हजार ५१५ नेपालीसहित ५० हजार ७२३ जना नेपाल भित्रिएका छन् । साउन महिनामा २२ हजार ९३२ नेपाली नेपाल फर्किएका छन् ।
यस्तै, पाँच महिनाकै अवधिमा २० हजार ७१० जना नेपालीसहित विदेशी नागरिक बाहिर गएका छन् । पाँच महिनाको अवधिमा ११ हजार २२६ जना नेपाली विदेश गएकोे विभागको तथ्याङ्क छ ।
साउन महिनामा मात्रै पाँच हजार २२ जना बाहिरिएका थिए । यसैगरी, साउनमा तीन हजार ५४२ नेपाली बाहिर गएका छन् । चैत्र १४ देखि साउनसम्म नेपालबाट सबैभन्दा धेरै चिनियाँ नागरिक चीन फर्किएका छन् ।
सो अवधिमा एक हजार ४०३ जना चिनियाँ नागरिक स्वदेश फर्किएको अध्यागमन विभागले जनाएको छ । साउन महिनामात्रै एक हजार २२ जना चिनियाँ नागरिक नेपालबाट आफ्नो देशमा फर्किए ।
त्यस्तै, एक हजार ३४१ जना अमेरिकी नागरिक आफ्नो देश फर्किएका छन् । साउन महिनामा मात्रै १२७ जना अमेरिका फर्किएका थिए ।