logo
२०८० चैत्र १५ बिहीवार



टिकटकले बिथोल्यो इन्टरनेट, अत्याधिक ब्यान्डविथ प्रयोग

अर्थ |
फिचर |


टिकटकले बिथोल्यो इन्टरनेट, अत्याधिक ब्यान्डविथ प्रयोग


विश्वास रेग्मी

काठमाडौँ, भदौ १९ गते । टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ ।

इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ । जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला समस्यामा देखिन्छन् ।

टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो । जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ ।

तर बन्दाबन्दीका कारण सर्भर तथा आवश्यक अपगे्रडको काम गर्न नसक्दा टिकटले अधिक ब्यान्डविथ खपत गरिरहेको इन्टरनेट सेवा प्रदायक भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा बताउनुहुन्छ । लकडाउनका कारण सर्भर र नेटवर्कमा लगानी बढाएर अन्तर्राष्ट्रिय ब्यान्डविथ घटाउने हाम्रो प्रयास भने सफल हुन सकेको छैन, उहाँले भन्नुभयो ।
सेवा प्रदायकका अनुसार नेपालमा सबैभन्दा बढी इन्टरनेट प्रयोग हुने समय राति ८ः०० देखि १०ः०० बजेसम्म टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथकै कारण ढिला चल्ने हुन थालेको छ । वल्र्डलिङ्क, सुबिसुजस्ता स्थापित इन्टरनेट सेवा प्रदायकले त टिकटकका कारण बिगे्रको इन्टरनेटको गुणस्तरमा सार्वजनिक सूचना जारी गरेर क्षमा माग्दै तत्काल यो समस्या समाधान गर्ने प्रयासमा लाग्ने जनाएका छन् ।

टिकटकले एचटीपीपीएस प्रोटोकलका लागि क्यास सर्भर उपलब्ध गराउन अकामाईको नेटवर्क प्रयोग गर्दै आएको छ । अचानक टिकटकले गरेको प्रोटोकल परिवर्तनले टिकटकसहित अकामाईसँग पनि सहकार्य गर्नुपर्ने बाध्यता सेवा प्रदायकलाई छ । छोटो भिडियो अपलोड गर्ने माध्यमका रूपमा विश्वभर छोटै समयमा स्थापित टिकटक यतिबेला अमेरिका र भारतको निशानामा छ । अमेरिकाले टिकटकको सुरक्षा कारण बताउँदै अमेरिकी लगानीकर्तालाई सेयर बिक्री नगरे बन्द गर्ने चेतावनी दिइसकेको छ ।
भारतले पनि चिनियाँ एपले महत्त्वपूर्ण डेटा चोरी गर्नसक्ने आरोप लगाउँदै टिकटकसहित अहिलेसम्म करिब दुई सय एप्सलाई प्रतिबन्ध लगाइसकेको छ । टिकटकका लागि दुई महत्त्वपूर्ण बजारले नै सुरक्षा चेतावनी दिएपछि कम्पनीले एक महिनाअघि आफ्नो सुरक्षा प्रोटोकल परिवर्तन गरेको हो ।

त्यसैको मारमा यतिबेला नेपाली इन्टरनेट बजार छ । सेवा प्रदायकले भारतीय इन्टरनेट सेवा प्रदायकमार्फत नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात गरिरहेका छन् । जसको मूल्य प्रतिएमबी १० देखि २० डलरसम्म रहेको छ ।

टिकटकसँग सहकार्य गर्दै सेवा प्रदायक
टिकटकले अत्यधिक ब्यान्डविथ खपत गरेपछि सेवा प्रदायकले टिककटसँगै सहकार्यको बाटो खोजेका छन् । सुबिसु, वल्र्डलिङ्कले सार्वजनिक सूचना जारी गर्दै टिकटकका कारण बढेको इन्टरनेट समस्या सुल्झाउन कम्पनीसँगै सहकार्य सुरु गरेको जनाएका छन् ।

यससँगै टिकटकको स्थानीय कन्टेन्ट उपलब्ध गराउने अकामाईसँग पनि सहकार्य गरिने कम्पनीहरूले जनाएका छन् । यो सहकार्यपछि इन्टरनेटमा अहिले देखिएको समस्या समाधान हुने कम्पनीहरूको दाबी छ । यतिबेला भने राति ८ः०० देखि १०ः०० बजेसम्म टिकटकको भिडियोको गुणस्तर सेवा प्रदायकले घटाएका छन् । अर्को सेवा प्रदायक क्लासिकटेकले भने टिकटकका कारण आफ्नो सेवामा कुनै समस्या नरहेको जनाएको छ ।

विश्वभर नै घट्यो इन्टरनेट स्पिड
लकडाउनका कारण अनलाइन प्रयोजनमा इन्टरनेटको प्रयोग बढ्दा विश्वभर नै इन्टरनेटको स्पिड घटेको छ । एमल्याबले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको अध्ययनले यस्तो पुष्टि गरेको हो ।

उक्त अध्ययनअनुसार लकडाउनअघि विश्वको औसत इन्टरनेट स्पिड २९.३६ एमबीपीएस रहेकामा लकडाउनमा ६.३१ प्रतिशतले घटेर २७.५१ एमबीपीएस पुगेको छ । नेपालको औसत इन्टरनेट स्पिड लकडाउनअघि ५.५३ एमबीपीएस रहेकामा लकडाउनमा घटेर ४.५२ एमबीपीएस पुगेको छ । यसबीचमा चीनको इन्टरनेट स्पिड सबैभन्दा धेरै खस्किएको पाइएको छ । लकडाउनअघि चीनको १२.५८ एमबीपीएस औसत इन्टरनेट स्पिड रहेकामा लकडाउनमा घटेर ६.१७ एमबीपीएस रहेको अध्ययनले देखाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?