logo
२०८१ मंसिर १४ शुक्रवार



व्यावसायिक बन्दै परम्परागत ज्ञान, बदिया भालेको व्यवसाय विस्तार

अर्थ |


व्यावसायिक बन्दै परम्परागत ज्ञान,  बदिया भालेको व्यवसाय विस्तार


टीकाबहादुर बस्नेत र प्रकाशचन्द्र भट्टराई

दाङ/दमौली, भदौ २८ गते । परम्परागत ज्ञानलाई सामान्य मूल्य अभिवृद्धि गरी बजारीकरण गर्नसके त्यो आम्दानीको राम्रो र भरपर्दो स्रोत बन्न सक्छ भन्ने उदाहरण दाङमा कुखुराको भालेको बन्ध्याकरण बनेको छ ।
दाङका थारू समुदायमा भालेलाई बदिया बनाउने रैथाने ज्ञान र सीप पुस्तान्तरण हुँदै आएको छ । त्यसलाई केही थारूले व्यावसायिकता प्रदान गर्दा देशभरकै मुख्य सहरमा बजारीकरण भएको छ । त्यति मात्र नभई उक्त व्यवसाय अन्यत्र पनि विस्तार हुन थालेको छ ।
दाङको घोराही–१३ का हर्कबहादुर चौधरीले बास्न सुरु गरेको स्थानीय कुखुराको भालेलाई बन्ध्याकरण गरेर (खसी पारेर) नै राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
उहाँका अनुसार त्यो कार्य सरल छ । सामान्य चिरफारबाट भालेको अण्डकोष निकालेर फ्याली बदिया बनाइन्छ । थारू भाषामा खसी पार्ने भनेको बदिया हो ।
उहाँले भन्नुभयो, “चिरेको घाउ नपाकोस् भनेर बेसार लगाउनुपर्छ । १५ दिनपछि घाउ पुरिन्छ । त्यसरी तयार भएको बदिया भाले चारदेखि छ महिनासम्म बेच्नका लागि ठीक हुन्छ । ”
बदियाको मासु स्वादिष्ट हुने भएकाले यसको माग राजधानी काठमाडौँलगायत देशैभरका ठूला सहरमा हुने गरेको उहाँले बताउनुभयो । काठमाडौँ, पोखरा, धनगढी, वीरगञ्जलगायतका सहरमा बदिया भाले पठाउँदै आउनुभएका व्यवसायी चौधरीले मागअनुसारको उत्पादन गर्न नसकेको बताउनुभयो ।

मासिक ७० हजार आम्दानी
१० वर्षदेखि बदिया भालेपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका चौधरीले सबै खर्च कटाएर मासिक ७० हजार रुपियाँ आम्दानी हुने गरेको बताउनुभयो । उत्पादन भए जति सबै भाले सजिलै बिक्री हुने गरेका छन् । बरु माग धान्नै गाह्रो छ, व्यवसायी चौधरीले भन्नुभयो, “मासिक ७० हजारसम्म आम्दानी हुन्छ । यही व्यवसायले पारिवारिक लालनपालन गर्न सजिलो भएको छ । ”
दङाली पोल्ट्री फार्मको नामबाट व्यवसाय सञ्चालन गर्दै आउनुभएका चौधरीले वार्षिक पाँच सयभन्दा धेरै बदिया भाले बेच्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बदिया बनाएर भाले छ महिना पालेपछि तीन हजार रुपियाँभन्दा बढीमा सजिलै बिक्री हुन्छ । ग्राहक घरमै आएर पनि किनेर लैजान्छन् । सामान्यतः प्रतिकिलो छ सयदेखि सात सय रुपियाँ पर्ने स्थानीय भाले बदिया बनाएपछि भने सजिलै प्रतिगोटा तीन हजार रुपियाँभन्दा धेरैमा बिक्री हुन्छ ।
नौ लाख रुपियाँको लागतमा व्यवसाय सुरु गरेका चौधरीले फार्ममा हाल १५ लाख लगानी भइसकेको जानकारी दिनुभयो । हाम्रा पुर्खाको पालादेखि चल्दै आएको रैथाने बदिया भाले बनाउने सीपको महŒव बुझेपछि त्यसलाई व्यावसायिक रूप दिएको हुँ, व्यवसायी चौधरीले भन्नुभयो ।

गैरथारू पनि व्यवसायमा
यो सीप थारू समुदायमा मात्र सीमित रहेको छैन । घोराही–१४ का अर्जुन कुँवरको आम्दानीको आकर्षक माध्यम पनि बदिया भालेपालन व्यवसाय नै बन्दै आएको छ । दुई वर्षदेखि बदिया पाल्दै आउनुभएका कुँवरले वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो । नेपालका विभिन्न स्थानमा बदिया पठाउने गरेको उहाँले पनि मागअनुसार उत्पादन गर्न नसकेको बताउनुभयो । बदियासँगै लौकाट, कडकनाथ, कोलिस र फाइटर जातका कुखुरा, बट्टाई र लुइँचे चरा बिक्री गर्दै आएका कुँवरले व्यवसायमा २० लाख लगानी भइसकेको जानकारी दिनुभयो ।
दाङका २४ भन्दा बढी व्यवसायीले बदियापालन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । व्यवसायीले बदिया बनाउने रैथाने सीपलाई व्यावसायिक रूपमा परिणत गरिरहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङका प्रमुख डा. वेदबहादुर केसीले बताउनुभयो ।

बन्दीपुरमा परीक्षण
तनहुँमा बदिया भालेको व्यावसायिक पालन गर्नका लागि यहाँ परीक्षण गरिएको छ । बन्दीपुर गाउँपालिका–५ का युवा कृषक काशीनाथ भट्टराईले आफूले पालेको भालेमा त्यसको परीक्षण गर्नुभएको छ । बन्दीपुर गाउँपालिकाका दुई जना पशुपक्षी प्राविधिकले कृषक भट्टराईको घरमै गएर दुईवटा भालेको बन्ध्याकरण गर्नुभएको हो ।
सुरुमा यसबारे सुन्दा आफूलाई पनि अचम्म लागेको भन्दै कृषक भट्टराईले दाङका केही कृषकसँग टेलिफोनमा कुरा गरेपछि आफूले पालेका भालेमा त्यो प्रविधिको प्रयोग गर्नुभएको हो । खोरमा धेरै नै कुखुरा भए पनि पहिलोपटक दुईवटा कुखुरामा बन्ध्याकरण गराइएको कृषक भट्टराईले बताउनुभयो ।
बन्दीपुर गाउँपालकाका पशु शाखाका प्रमुख पशु प्राविधिक मधुविलास न्यौपानेले तनहँुमा यो प्रयोग पहिलोपटक आफूहरूले सुरु गरेको बताउनुभयो । कृषकको घरमा बन्ध्याकरणको सेवा दिनुअघि न्यौपानेले पनि केही दिनअघि आफ्नै घरमा पालेको दुईवटा भालेमा त्यो प्रयोग गरेको बताउनुभयो । उक्त प्रयोग सफल भएपछि कृषकको घरमा उक्त सेवा दिएको उहाँले बताउनुभयो ।
पशु प्राविधिक न्यौपानेका अनुसार भालेको बन्ध्याकरणपछि अन्य भालेभन्दा छिटो बढ्ने, तौल धेरै हुने, मासु मीठो हुने तथा पोथीको खोजीमा अन्यत्र डुल्ने चरुवा भाले हराउने डर पनि हुँदैन ।
भाले बासेको एक÷डेढ महिनामा बन्ध्याकरण गर्न सकिने अर्का पशु प्राविधिक सन्तोषसिंह ठकुरीले बताउनुभयो । व्यावसायिक रूपमा लोकल कुखुरा पाल्ने कृषकले भालेको बन्ध्याकरण गरेमा त्यसले राम्रो आम्दानी दिनसक्ने ठकुरीले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?