logo
२०८१ जेष्ठ १ मंगलवार



बागमती प्रदेशले १२ स्थानमा शीतभण्डार निर्माण गर्दै

अर्थ |


बागमती प्रदेशले १२ स्थानमा शीतभण्डार निर्माण गर्दै


मुरारी अधिकारी

धादिङ, असोज ८ गते । बागमती प्रदेश सरकारले धादिङ सहित प्रदेशका १० जिल्लाको १२ स्थानमा आधुनिक शीतभण्डारको निर्माण कार्य सुरु गरेको छ । शीतभण्डार निर्माणले किसानहरुले उत्पादन गरेको कृषि उपज बिक्री नभएर बारीमा सड्ने, मुल्य नपाएर खेरा जाने, घाटा खाएर सस्तो मुल्यमा बेच्नु पर्ने समस्यालाई समाधान गर्ने छ ।

कृषि प्रधान देशमा कृषि कर्म गर्ने किसानहरुलाई उत्साह जगाउनको लागि शीत भण्डार निर्माणका काम सुरु गरिएको बागमती प्रदेश अन्तरगत भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कृषि मन्त्री दावा दोर्जे लामाका अनुसार देशभरिका ७ प्रदेश मध्ये हामीले कृषि क्षेत्रमा उदाहरणीय काम सुरु गरिएको छ र कृषि प्रधान देशका कृषकहरुलाई कृषि कर्ममा उत्साह बनाउने कामको रुपमा यसलाई अघि सारिएको हो ।

धादिङ र चितवन जिल्लामा निर्माणाधिन शीतभण्डारको काम अन्तिम चरणमा पुगेको छ भने अन्य जिल्लाहरुमा निर्माण कार्य आधा सकिएको छ । आगामी मंसिरसम्ममा धादिङको र चितवन जिल्लाको शीतभण्डार संचालनमा आइसक्ने कृषि मन्त्रालयका प्रवक्ता डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो । मन्त्रालय र स्थानीय तह/सहकारीको लागत साझेदारीमा शीतभण्डार निर्माण कार्य थालनी गरिएको पाण्डको भनाइ छ । मन्त्रालयको ७० प्रतिशत र स्थानीय तह तथा सहकारीको ३० प्रतिशत लागत सहभागीतामा निर्माण कार्य सुरु गरिएको पाण्डेले बताउनु भयो । शीत भण्डार निर्माण कार्य बागमती प्रदेश सरकारको एउटा ‘ड्रिम प्रोजेक्ट’ भएको र प्रदेशमा आवश्यक २५ देखि ३० हजार मेट्रिक टनको शीतभण्डारका लागि अघिल्लो आर्थिक वर्षदेखि साढे १७ हजार मेट्रिक टन क्षमताको निर्माण कार्य सुरु गरेको हो ।

व्यवस्थित शीत भण्डार नहुँदा किसानका उत्पादनले बजार नपाएको, मुल्य नपाएको, किसानको मिहनेत यसै खेर गएको जस्ता समस्या प्रत्येक जिल्लामा सुनिएकाले सबै जिल्लाको विस्तृत अध्ययन पश्चात प्रदेशभित्रका १० जिल्लाका १२ स्थानमा शीतभण्डार निर्माण कार्यको सुरु मन्त्रालयले जानकारी गराएको छ । चालु आर्थिक वर्षभित्र सबै जिल्लामा निर्माण कार्य सकिने गरि काम भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश सरकारको ४५ करोड २८ लाख र स्थानीय सहकारी तथा तहको १९ करोड ४० लाख रुपैयाको लागतमा प्रदेशका सबै जिल्लामा निर्माण सम्पन्न भए पश्चात कुल १७ हजार ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार बागमती प्रदेशमा रहने मन्त्रालयका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । संघीय सरकारका अरु परियोजना, कृषिका अरु कार्यक्रमभन्दा बागमती प्रदेशले बनाएको यो परियोजना लागत एकदमै सस्तो र संचालन प्रक्रिया किसानमैत्री रहेको दाबी पाण्डेको छ ।

स्थानीय कृषकमा खुसीयाली

धादिङको पृथ्वीराजमार्ग आसपासका चरौदी धुषा, बेनिघाट तरकारीको एकदमै राम्रो उत्पादन हुने क्षेत्र हो । राजधानी काठमाडाँै सहित पोखरा चितवन लगायतका शहरहरुमा तरकारी आपुर्ति गर्दै आएको यो क्षेत्रमा यसअघि एउटा पनि शीत भण्डार थिएन । ब्यवस्थित शीतभण्डारको अभावमा धेरै उत्पादन भएको बेला तरकारी विक्री नभएर खेतमा कतिपय किसानले ट्याक्टर लगाएर जोतेको समाचारहरु हरेक वर्ष सार्वजनिक भइरहेको थियो ।

प्रदेश सरकारको सहयोगमा अहिले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ५ विशालटारमा १ हजार ५ सय मेट्रिक टनको शीत भण्डार निर्माण कार्य सुरु भएपछि स्थानीय कृषकमा खुसीयाली छाएको छ । धुषा चरौँदीका किसान राम प्रसाद थपलियाले भन्नुभयो, ‘हरेक वर्ष तरकारीको मुल्य नपाएर खेतमा कुहिने गरेको थियो, शीत भण्डार थिएन, लगानी पनि नउठ्ने गरि मुल्य घटबढ भएपछि बरु बारीमा मल नै हुन्छ नि भनेर कुहाउन बाध्य थियौँ, अव त्यो समस्या यो शीतभण्डार निर्माण पश्चात हट्ला भन्ने आशा लागेको छ ।’ आफूले गरेको मिहनेतको लागत पनि नउठ्ने भएपछि तरकारी बारीमै कुहिने गरेकाले अवदेखि तरकारीको मुल्य नपाएको र विक्री नभएको बेला शीतभण्डारमा राख्न पाइने र पछि मुल्य आएको बेला बेच्न पाइने आशा पलाएको थपलियाले बताउनुभयो ।

बागमती प्रदेश सरकारका ७ करोड ८७ लाख र कृषक सुधार फलफुल तथा तरकारी सहकारी सस्था धादिङको ३ करोड ३७ लाख लागतमा बनिरहेको शीत भण्डारले यस क्षेत्र आसपासका करिव ५ हजार किसानलाई प्रत्यक्ष फाइदा पुग्ने बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) ले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?