logo
२०८१ बैशाख ३० आईतवार

  सुनकोशी-मरिण डाइभर्सन बहुउद्देशीय आयोजना  



प्रारम्भिक प्राविधिक काम सकियो, जग्गाको मूल्य निर्धारण सुरु

अर्थ |


प्रारम्भिक प्राविधिक काम सकियो, जग्गाको मूल्य निर्धारण सुरु
बाँध निर्माण स्थल सिन्धुलीको सुनकोसी गाँउपालिका–७ खाल्टेस्थित सुनकोसी नदी ।


बाबुराम देवकोटा
सिन्धुलीमाढी, असोज १३ गते । राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजनाको बाँध निर्माण गरिने सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकामा जग्गाको मूल्य निर्धारण प्रक्रिया सुरु भएको छ ।
सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गर्दा प्रभावित हुने डुवान क्षेत्र खाल्टे र सित्तलपाटीको जग्गाको मुआब्जा दिन मूल्य निर्धारण प्रक्रियामा रहेको उक्त आयोजनाले जनाएको छ । आयोजनाको फिल्ड सम्पर्क कार्यालय सिन्धुलीका अनुसार बाँध निर्माण गरिदा सुनकोशी गाँउपालिकाको वडा नं. ६ र ७ मा गरी १७० कित्ता जमिन डुवानमा पर्दछ ।
बाँध निर्माण गर्दा डुबान क्षेत्रमा पर्ने १० हेक्टर जमिन अधिग्रहण गर्न अहिले मूल्य निर्धारणको प्रक्रियामा रहेको उक्त कार्यालयका बरिष्ठ भुगर्व जल बिज्ञ (सिनियर डिभिजनल हाइड्रोजियोलोजिस्ट) विश्वबन्धु केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनको बीचमा पनि आयोजनाको काम चैतदेखि नै भईरहेको थियो ।’
उक्त जग्गाको मुआब्जा निर्धारण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समिति गठन भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उक्त समितिले चाँडै नै जग्गाको मुआब्ज निधारण गर्न उहाँको भनाई छ ।
उक्त आयोजना अन्तर्गत विद्युत उत्पादनका लागि पावरहाउस निर्माण गर्न कमलामाई नगरपालिका–२ कुसुमटारमा गत बर्ष नै ७५ जना स्थानीय व्यक्तिको आठ हेक्टर जग्गा अधिग्रहण गरी मुआब्जा बितरण गरि केको आयोजनाले जनाएको छ । कुसुमटारमा जग्गा अधिग्रहणको क्रममा १७ घर परिवार पूर्ण रुपमा बिस्थापित हुने आयोजनाको फिल्ड सम्पर्क कार्यालयले जनाएको छ ।
कुल १३ दशमलब एक किलोमिटर लामो सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक सुनकोशीको पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहाँ ६६ मिटर हेटडबाट पानी झारेर साँढे २८ दशमलब ६२ मेगावाट विद्युत उत्पादन गरिने छ । उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत ढल्केबरमा सबस्टेशनमा जोडिने आयोजनाले जनाएको छ ।
आयोजनाको मुख्य संरचनाले सिन्धुलीको सुनकोसी गाँउपालिका–६, रामेछापको खाँडादेवी गाँउपालिका–४ र मन्थली नगरपालिका–६ क्षेत्रभित्र समुन्द्री सतहदेखि ४७६ मिटर समतल र ३१२ हेक्टर ओगट्ने जलासय रहने आयोजनाले जनाएको छ । आयोजना निर्माणका क्रममा बीपी राजमार्ग नौ सय मिटर, खुर्कोट मन्थली सडक एक हजार १४ मिटर, एक हजार ५८८ मिटर ग्रामीण सडक, एक दशमलब २७ किलोमिटर विद्युत प्रशारण लाईन र दुई वटा झोलुङगेपुल डुबानमा पर्ने जनाईएको छ ।
सरकारले सुनकोशी–मरिण डाइभर्सन आयोजना निर्माण गर्न चालु आर्थिक बर्ष ०७७÷०७८ सरकारले दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ । सरकारले गत आर्थिक वर्षमा सो आयोजनाका लागि दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो । आयोजनाको गत आवदेखि नै प्रारम्भिक काम शुरु भइसकेको छ । यो बर्षका लागि विनियोजित उक्त रकम सुरुङ मार्ग निर्माण लगायतका काममा खर्च गरिने जनाइएको छ ।
बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आयोजनाका प्रमुख सुशील आचार्यका अनुसार आयोजना निर्माण गर्न गर्नु पर्ने प्रारम्भिक चरणका सबै प्राविधिक काम सकिएका छन् ।
आयोजना निर्माण गर्न कूल ४६ अर्ब १९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्नका लागि झण्डै ३० अर्ब रुपियाँ लाग्ने बताइएको छ । बाँधबाट निर्माण हुने जलाशयमा माछापालन गर्ने योजना समेत रहेको छ । डुबान क्षेत्रमा ९० प्रतिशत माझी जाति र ५३२ घरधुरी प्रभावित हुने देखिएको आयोजनाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?