logo
२०८१ बैशाख ७ शुक्रवार



चलायमान हुँदै अर्थतन्त्र

राजस्व सङ्कलन लयमा

अर्थ |


चलायमान हुँदै अर्थतन्त्र


विश्वास रेग्मी

काठमाडौँ, असोज १७ गते । कोभिड सङ्क्रमणका कारण निकै कमजोर बनेको राजस्व सङ्कलन र परिचालनको अवस्थामा पछिल्लो समय सुधार आएको छ । कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो हुँदै गएपछि बढेको आर्थिक गतिविधिका कारण राजस्व सङ्कलन सामान्य लयमा फर्किएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असोजयता दैनिक दुई अर्ब नजिक राजस्व सङ्कलन हुँदै आएको छ । बिहीबार मात्रै एक अर्ब ९५ करोड ५७ लाख राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ । चालू आर्थिक वर्ष २०७७÷७८ को साढे दुई महिना बितिसक्दा कुल राजस्व सङ्कलन भने एक खर्ब २९ अर्ब २७ करोड रुपियाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा यो केवल २३ अर्ब रुपियाँले मात्र कम हो । गत असोज १५ सम्म एक खर्ब ५३ अर्ब ६३ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
चालू आवको समीक्षा अवधिसम्म सङ्कलित कुल राजस्वमध्ये कर राजस्व एक अर्ब २४ करोड ७४ लाख रुपियाँ रहेको छ । गैरकर भने चार अर्ब ५२ करोड ८० लाख रुपियाँ सङ्कलन भएको छ । सङ्कलित राजस्व चालू आवको कुल लक्ष्यको तुलनामा १२.७८ प्रतिशत हो ।
सरकारले चालू आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । त्यसमध्ये कर राजस्वतर्फ नौ खर्ब १२ अर्ब ९४ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको छ । अहिलेसम्म सङ्कलित कर राजस्व कुल लक्ष्यको १३.६६ प्रतिशत हुन आउँछ । गैरकर राजस्व भने ९८ अर्ब ८० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकामा समिक्षा अवधिसम्म ४.५८ प्रतिशत मात्र सङ्कलन भएको देखिन्छ ।
राजस्व सङ्कलन र खर्च सन्तुलित नै देखिएको छ । अहिलेसम्म सरकारले एक खर्ब १७ अर्ब ४१ करोड रुपियाँ खर्च गरेको छ । चालू आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँ खर्च गर्ने लक्ष्यमा हालसम्मको खर्च केवल ७.९६ प्रतिशत मात्र हुन आउँछ । खर्चको ठूलो हिस्सा चालू खर्चमै छ । असोज १५ सम्म एक खर्ब पाँच अर्ब ३० करोड रुपियाँ चालू खर्च भएको छ । विकास खर्च केवल नौ अर्ब ५४ करोड रुपियाँ मात्र खर्च भएको छ । जब कि चालू आवमा तीन खर्ब ५२ अर्ब रुपियाँ विकास खर्च गर्ने लक्ष्य छ । वित्तीय खर्च दुई अर्ब ५६ करोड २२ लाख रुपियाँ खर्च भएको कार्यालयको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?