logo
२०८१ मंसिर १० सोमवार



सुकेपोखरी-कुहिभिर पदमार्गमा ‘गोठ स्टे’को मजा

अर्थ |
पर्यटन |


सुकेपोखरी-कुहिभिर पदमार्गमा ‘गोठ स्टे’को मजा


टीकाराम उप्रेती
सुकेपोखरी (पाँचथर), असोज २० गते । झण्डै छ महिनाभन्दा बढीको बन्दाबन्दीका कारण सुनसान रहेका पर्यटकीय स्थलमा चहलपहल बढ्न थालेको छ ।
पूर्वका पाहाडी जिल्लाका पर्यटकीय स्थलमा बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटकको उपस्थिति देखिन थालेको हो । विश्वव्यापी फैलिएको माहामारी कोरोना भाइरस (कोभिड १९) का कारण घरमा थुनिएर बसेका सर्वसाधारण रमणीय स्थलमा पुगेर रमाउन थालेका छन् । बन्दाबन्दीपछि पहिलो पटक औपचारिक रुपमा पर्यटकीय क्षेत्रमा कार्यक्रम गर्ने नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा प्रचारप्रसार गर्न थालिएको छ ।
यसैबीच इलाम र पाँचथरका पर्यटकीय क्षेत्रमा पूर्वका झापा, इलाम र पाँचथर जिल्लाका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा स्थानीय बासिन्दाको संयुक्त पहलमा यस्ता क्षेत्रको अध्ययन अवलोकन गरिएको छ ।
इलाम र पाँचथरको सीमाक्षेत्रमा पर्ने सुकेपोखरीदेखि एक दिनको पैदलमार्गमा पूरा गर्न सकिने रमणीय क्षेत्र गुराँसको लेक, चौँरी तथा भेडीगोठ भरिएको फाँटिलो खर्क बाटो हुँदै पैदल यात्रा गर्न सकिन्छ । यो पदमार्गमा जडीबुटीले भरिएको लेकाली वनस्पति घना जंगलभित्र चिसो मौसममा पैदल यात्रा गर्न रुचाउने अन्तरिक पर्यटकका लागि एकदिने छोटो नयाँ पदमार्ग स्थल पहिचान गरिएको सुकेपोखरी लोहाकिल पर्यटन विकास मञ्चका सचिव सुरेश बान्तवाले बताउनुभयो ।
पदमार्गको बीचबीचमा पर्ने गोठ स्टे र होम स्टेमा बस्ने सुत्ने नयाँ अनुभवको मौका मिल्ने गर्दछ । फरक स्वादको खानपान, जीवनशैली मौका होमस्टेमा मिल्ने गर्छ । यो मार्गमा पर्ने खर्कमा रहेका चौरी तथा भेडीगोठ अनि स्थानीय गाईभैँसीका गोठलाई नै गोठ स्टेको रुपमा विकास गरिएको छ ।
यहाँ बस्दा स्थानीय चौँरी गाईको छुर्पी, दूध, घिउकाे स्वाद चाख्ने मौका मिल्छ । होम स्टे त धेरै सुनियो तर गोठ स्टे कस्तो हुँदो रहेछ भनेर जिज्ञासाले यहाँ गोठ स्टेमा बस्न आएको होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दङ्गालले बताउनुभयो ।
यसबाहेक मौलिक खाना राई समुदायको परम्परागत खाना वाचिपा, लोकल कुखुुरा, खसी, बोकाको मासुदेखि सेलरोटी, कोदाको ढिँडो, आलु, मुला, गाजर, मकै भटमास, केराउलगायतका स्थानीय उत्पादनबाट बनेका खानाका परिकार यहाँको मुख्य विषेशता रहेको छ । ग्रामीण भेगको जनजीवनलाई नजिकबाट अध्ययन गर्न सकिने पर्यटनको अवधारणा मौलिक परम्परा, रहनसहन पर्यटकीय स्थलहरूको भ्रमण गर्न सकिनेछ ।
पाँचथरको फिदिम नगरपालिका १४ मा पर्ने सुकेपोखरी पर्यटकको रोजाइ बन्न थालेको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको पौवाभञ्याङबाट दुई घण्टा उत्तरमा पैदल हिँडेपछि पुगिने सुकेपोखरी स्थानीयको पहलमा संरक्षण गरिएको छ । यसका साथै यो क्षेत्रमा रहेको पाँच वटा घरमा व्यावसायिक रुपमा नै होम स्टे सञ्चालन गरिएको छ । यस्तै यहाँ पाँच वटा गोठ स्टे समेत निर्माण गरिएको छ ।
सुकेपोखरीमा बेलुका बास बसेर त्यहाँबाट चार घण्टाको खर्क कुहिभिर हुँदै दिदीबहिनी झरनासम्म पुगेर मेची राजमार्गको बाघखोरमा चौकमा पुगेर पैदल मार्ग सकिने गर्दछ । यो मार्गमा जडिबुटी, विभिन्न खालका वनस्पतिको अवलोकन गर्न सकिन्छ । यस्तै इलाम नगरपालिका ३ पुवामझुवामा रहेको पाटेनाँगी, इलाम र देउमाई नगरपालिकाको सिमानामा रहेको कुहिभिर यो मार्गका मुख्य आकर्षण हुन् । यो क्षेत्रमा न्यूनतम विकास सडक, बत्ती, खानेपानीको राम्रो प्रबन्ध गर्न सकेमा अझ पर्यटक तान्न सकिने स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?