logo
२०८१ जेष्ठ ८ मंगलवार



दशैँको माहोलले बढायो सवारी कर्जा

अर्थ |


दशैँको माहोलले बढायो सवारी कर्जा


भेषराज बेल्बासे

काठमाडौँ, असोज २९ गते । दशैँको माहोल र बैङ्क तथा अटोमोबाइल कम्पनीका अफरले सवारी कर्जामा ग्राहक तानिन थालेका छन् । तथापि कोरोना सङ्क्रमणको त्रासले विगतका वर्षमा जस्तै दशैँमय वातावरण भने बन्न सकेको छैन ।
चाडबाड आउँदै गर्दा सवारीसाधन बिक्रेतासँगै बैङ्कहरूले पनि आक्रामक र प्रतिस्पर्धी अफर लिएर आएका छन् । नयाँ सवारीसाधन खरिद गर्न चाडपर्वकै समय कुर्ने ग्राहकलाई लक्षित गर्दै बिक्रेता कम्पनीसँगै केही वर्षदेखि बैङ्कहरूले पनि सवारी कर्जामा विशेष योजना नै फर्माउन थालेका हुन् ।
नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले बैङ्कहरूले प्रवाह गर्ने सवारी कर्जा राम्रै गएको बताउनुभयो । कोरानाको कारण सुस्त रहेको कर्जाको माग पछिल्लो समय बढ्दै जानु राम्रै कुरा भएको बताउँदै उहाँले सवारी कर्जा पनि विगतका वर्षमा भन्दा धेरै नघटेको बताउनुभयो ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालको अनुभवमा पनि पछिल्लो समय सवारीसाधनको व्यवसायमा सुधार आएको छ । उहाँले भन्नुभयो, “कोरोना सन्त्रासमा पनि दशैँका बेलामा यो व्यापार स्वभाविक हो । ”
यतिबेला चार महिनाको व्यापार गर्ने समय भएको भन्दै उहाँले नाडा अटो सो नहुँदा व्यापार भनेजस्तो नभए पनि व्यवसायीलाई राहत भएको जनाउनुभयो । नाडाका उपाध्यक्ष प्रकाश कपुरीले पनि अहिलेको अवस्थालाई अघिल्लो वर्षभन्दा नराम्रो भन्न नमिल्ने बताउनुभयो । बैङ्कको प्राथमिकता र दशैँको माहोलले सवारीसाधनको बजारलाई चलायमान बनाउँदै लगेको उहाँको भनाइ छ ।
कोरोना सङ्क्रमणको असर बढ्दै गएपछि कर्जा मागमा आएको सुस्तताले लगानी बढाउन नसकेका बैङ्कहरूले अहिले घर र सवारी कर्जालाई प्राथमिकता दिँदै आएका छन् । त्यसमा पनि सवारी कर्जा बैङ्कका लागि सबैभन्दा सुरक्षित कर्जाका रूपमा रहँदै आएको छ । बैङ्कहरूले बेस रेटमा नै सवारी कर्जा उपलब्ध गराउन थालेका कारण उपभोक्ताको आकर्षण पनि बढ्दो छ ।
नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्माले बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको माग बढ्न थालेको बताउनुभयो । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जानु, दशैँको माहोल बन्दै जानुले बैङ्क तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको उहाँको भनाइ छ । बैङ्कर्स सङ्घका अनुसार लकडाउन र निषेधाज्ञाका कारण सुस्त रहेको बैङ्कहरूको कर्जा लगानी पछिल्लो समय बढ्न थालेको छ ।

स्थिर ब्याजदरले बढायो
एक महिना अगाडि राष्ट्र बैङ्कले एकीकृत निर्देशिकामार्फत घर र सवारी खरिदका लागि बैङ्कबाट लिएको कर्जाको ब्याज दरलाई बढाउन नपाइने नीति अवलम्बन गरेसँगै मध्यमवर्गीय ग्राहकसमेत यतातिर तानिएका छन् । बैङ्कहरूले हालसम्म आधार दर (बेस रेट) घटबढ हुनेबित्तिकै ऋणको ब्याज दर पनि घटाउने र बढाउने गर्दै आएका थिए ।
बैङ्कको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर निर्धारण गरिने बेस रेट बढेसँगै बैङ्कहरूले तत्कालै ब्याज दर बढाइहाल्थे । जसमा राष्ट्र बैङ्कले अङ्कुश लगाएसँगै उपभोक्ताले ढुक्कले कर्जा लिन थालेका छन् ।

असोज लागेयता कर्जामा सुधार
निषेधाज्ञा खुलेयता सुधारको क्रममा रहेको बैङ्कहरूको कर्जा प्रवाह असोज लागेपछि झनै सुधारिएको छ । असोज २ देखि १६ सम्म १४ दिनमा बैङ्कहरूको कर्जा प्रवाह माथितिर लागेको छ । नेपाल बैङ्कर्स सङ्घका अनुसार असोज २ देखि १६ सम्मको तथ्याङ्क हेर्दा वाणिज्य बैङ्कहरूबाट मात्रै दैनिक दुई अर्ब रुपियाँभन्दा बढीको कर्जा प्रवाह भएको छ ।
असोज २ सम्ममा वाणिज्य बैङ्कहरूले २९ खर्ब १३ अर्ब रुपियाँ कर्जा प्रवाह गरेकामा असोज १६ सम्ममा बैङ्कहरूले २९ खर्ब ४६ अर्ब रुपियाँ कर्जा प्रवाह गरिसकेका छन् । बैङ्कहरूको निक्षेप सङ्कलनको सूचक पनि माथि लागेको छ । सो अवधिमा वाणिज्य बैङ्कहरूले ४३ अर्ब रुपियाँ निक्षेप बढाएका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?