logo
२०८१ बैशाख १२ बुधवार



परीक्षणमा लापरबाहीले ध्वजावाहककै बदनामी

हङकङमा उडान रोक

अर्थ |


परीक्षणमा लापरबाहीले ध्वजावाहककै बदनामी


विश्वास रेग्मी

काठमाडौँ, कात्तिक २८ गते । कोरोना सङ्क्रमण जाँचको लागि गरिने पीसीआर परीक्षणको नतिजा नमिल्दा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई हङकङले उडानमा रोक लगाएको छ ।
यही कात्तिक २५ गते काठमाडौँबाट हङकङका लागि उडेको निगमको जहाजमा रहेका यात्रुको त्यहाँ पुनः पीसीआर परीक्षण गर्दा १६ जना पोजेटिभ देखिएपछि हङकङले केही दिनका लागि उडानमा रोक लगाएको हो । निगमका अनुसार हङकङको उड्डयन विभागले बिहीबारदेखि नै लागू हुने गरी आगामी मङ्सिर १० गतेसम्म निगमको उडानमा रोक लगाएको हो ।
उडानमा रोक लागेपछि निगमले आगामी मङ्सिर १ र २ तथा ८ र ९ गतेका लागि हङकङ उडानका लागि टिकट लिइसकेका यात्रुलाई सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
हङकङले यसअघि पनि त्यहाँ पुगेका यात्रुको पुनः परीक्षण गर्दा सङ्क्रमण देखिएपछि निगमलाई चेतावनी दिएको थियो । दोस्रोपटक पनि सोही क्रम नरोकिएपछि हङकङले उडानमा रोक लगाउने निर्णय गरेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार हङकङमा कोरोना पुनः परीक्षणमा पोजेटिभ देखिएका केही यात्रुले बुझाएको रिपोर्टका आधारमा सम्बन्धित ल्याबसँग छलफल भइसकेको छ । ‘१६ मध्ये १० जनाले स्टार हस्पिटलबाट कोरोना नेगेटिभ रिपोर्ट ल्याएको पाइयो’ उहाँले भन्नुभयो ‘त्यसपछि उहाँहरूलाई बोलाएर छलफल गरेर ल्याबको गुणस्तरको बारेमा बुझ्ने काम भयो । ’
हङकङबाहेक निगमको दुबई र जापानको नारिता उडानमा पनि यस्तै समस्या देखिएको थियो । सरकारबाट मान्यताप्राप्त ल्याबबाट ७२ घण्टा भित्रको रिपोर्टलाई मान्यता दिएर नेपालबाट उडान गराएको भए पनि ती गन्तव्यमा पनि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि निगमलाई सचेत गराएको महाप्रबन्धक पौडेलले बताउनुभयो । बारम्बार एउटै समस्या दोहोरिन थालेपछि निगमले स्वास्थ्य मन्त्रालयसँग औपचारिक छलफल गर्ने तयारीसमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?