logo
२०८१ बैशाख १४ शुक्रवार



पाम तेलकै लयमा भटमास तेल

अर्थ |


पाम तेलकै लयमा भटमास तेल



विश्वास रेग्मी

काठमाडौँ, मङ्सिर ९ गते । नेपालमा उत्पादन नै नहुने पाम तेल विगत दुई आर्थिक वर्षमा नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा रह्यो । साबुनसहित कस्मेटिक वस्तु उत्पादनका लागि उपयोगी मानिने पाम तेलको मुख्य निर्यात बजार भारत थियो ।
मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम ल्याउने र त्यसलाई नेपालमा प्रशोधन गरेर तयारी तेल भारत पठाउने व्यापार चक्रका बीच नेपालको निर्यातमा यसको निकै ठूलो योगदान देखियो । खुम्चिएको निर्यात व्यापारलाई केही भए पनि विस्तार गर्न पाम तेलको उल्लेख्य भूमिका रह्यो । नेपाल र भारतबीचको व्यापार सम्झौतामा भएको केही सुविधाजनक व्यवस्थाले पाम तेलको नेपालबाट निर्यात सम्भव बन्यो ।
पाम तेलजस्तै पछिल्लोपटक भटमास तेलको निर्यात पनि चम्केको छ । पाम तेल आयातमा भारतले लगाएको प्रतिबन्धका कारण चालू आर्थिक वर्ष २०७७÷७८ मा यसको उल्लेख्य निर्यात नभए पनि भटमास तेलको व्यापार चक्र भने यस्तै देखिएको छ ।
भन्सार विभागका अनुसार चालू आव २०७७÷७८ को कात्तिकसम्म नेपालले १० अर्ब २६ करोड रुपियाँको भटमास तेल निर्यात गरेको छ । यो चार महिनासम्म सबैभन्दा धेरै निर्यात भएको वस्तु पनि हो । कच्चाबाहेक सात करोड २३ लाख लिटर भटमास तेल भारत निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।
भारतबाहेक अन्य देशमा यसको निर्यात देखिँदैन । आयातसम्बन्धी विभागकै तथ्याङ्कअनुसार यसबीचमा १० अर्ब आठ करोडको कच्चा भटमास नेपाल आयात भएको छ । १० करोड ६९ लाख लिटर आयात भएको कच्चा भटमासबाट नेपालले करिब एक अर्ब रुपियाँ भन्सार राजस्व पनि आम्दानी गरेको छ । कात्तिकसम्म आयात भएका प्रमुख वस्तुमध्ये कच्चा भटमास शीर्ष चारमा छ ।
भटमास तेलको आयात र निर्यातको यो चम्किलो अङ्क पनि भारतकै व्यापार नीतिका कारण भएको सम्बद्ध उद्योगी बताउँछन् । पाम तेलमा जस्तै तेस्रो देशबाट भटमास आयातमा भारतले लगाउने भन्सार महसुल बढी हुँदा नेपालले भारतसँगको व्यापार सम्झौताको लाभ लिएको उनीहरूको भनाइ छ । यो पनि क्षणिक नै हुन्छजस्तो लाग्छ, नाम उल्लेख नगर्ने सर्तमा भटमास तेल भारत निर्यात गर्दै आउनुभएका एक उद्योगीले भन्नुभयो, “जसरी भारतको नीतिले पाम तेल निर्यात अहिले रोकिएको छ । एक÷दुई वर्षमै भटमास तेलमा त्यस्तो नहोला भन्न सकिन्न । ”
उद्योगीका अनुसार नेपालमा खपत हुने भटमास तेलबाहेक बाँकी सबै भारत नै निर्यात भइरहेको छ । भन्सार विभागका अनुसार नेपालले मुख्य गरी अर्जेन्टिना र ब्राजिलबाट भटमास ल्याउने गर्छ । यसबाहेक चीन, इन्डोनेसिया, पाराग्वे र टर्कीबाट पनि कच्चा भटमास आयात भएको देखिन्छ ।
यी देशबाट कच्चा भटमास ल्याउने, नेपालमा प्रशोधन गर्ने र भारत निर्यात गर्ने प्रवृत्ति अहिले बढिरहेको छ । चीन र भारतबाट थोरै मात्रामा भए पनि तयारी भटमास तेल आयात भएको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?