logo
२०८१ फाल्गुन २६ सोमवार



यान्त्रीकरणसँगै धान उत्पादनमा वृद्धि   

अर्थ |


यान्त्रीकरणसँगै धान उत्पादनमा वृद्धि   
फाईल तस्विर


– राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर, मङ्सिर २२ गते ।धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । कृषिज्ञान केन्द्रका अनुसार धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ ।    
    
चालु आवमा धानको उत्पादन दुई लाख १९ हजार ६९ मेट्रिक टन छ । जुन गतवर्षको तुलनामा सात प्रतिशत अर्थात् १३ हजार २१२ मेट्रिकटनले बढी छ । जिल्लामा कुल खेती गरिएको जग्गा ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । जसको उत्पादकत्व ३.०९ प्रतिशत छ । आव ०७६-७७ मा धानको उत्पादन एक लाख ८७ हजार ७५७ मेट्रिक टन भएको थियो ।    
    
 किसानले रैथाने जातको तुलनामा बढी उत्पादन दिने उन्नत जातका सङ्ुख्खा १,२,३,४,५,६, सावा मन्सुली, राधा ४, १४ सेहराङग सब १, डिआरआर ४४, हर्दिनाथ १ र राम धानलगायतका धानखेतमा रोप्न थालेपछि उत्पादनमा वृद्धि हुँदै जान थालेको कृषिज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताउनुभयो ।    
    
“धानखेतीका लागि पावर टिलर, रोटाभेटर, रिपर, थ्रेसर, सिँचाइका लागि पम्प सेट, विद्यूतीय मोटर, सोलार पम्पलगायतको प्रयोगलाई बढावा दिन थालिएपछि उत्पादन बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “प्रति वर्ष कृषि ज्ञान केन्द्र, निर्देशनालय र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत किसानलाई आधुनिक यन्त्र ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन थालेसँगै धानको उत्पादन बढ्दो रुपमा छ ।”    
    
धानखेतीमा यान्त्रीकरणको प्रयोग बढेसँगै लागत खर्च र महिलाको कार्यबोझसमेत घटेको शुक्लाफाँटा नपाको पिपलाडीका किसान चेतराम चौधरी बताउनुहुन्छ । दिनहुँ लगाएर पहिला जस्तो हसियाको प्रयोग गरी मजदूर लगाएर धान काट्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । धान काटनका लागि पावर टिलरमा रिपरको प्रयोग हुन थालेपछि काम गर्न निकै सहज भएको उहाँको भनाइ छ ।    
    
बेलैमा रासायनिक मलको आपूर्ति हुनसके धान उत्पादन अझै बढनसक्ने धानखेतीमा संलग्न किसानको भनाइ छ । धानखेती हुने क्षेत्रमा सिँचाइको भरपर्दो व्यवस्था गरिएपछि किसानले समयमै कृषि यन्त्र र मेसिनको प्रयोग गरी धानखेती गरी बढी उत्पादन लिन थालेका हुन ।    
    
 खेतका लागि प्रयोग हुदै आएको कूल जग्गाको ७०.२ प्रतिशत(३९ हजार आठ सय हेक्टर) जग्गामा सिँचाइ सुविधा पुगेको छ । किसानले रोपाइँ गरेर र छरुवा विधिबाट धानखेती गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सात स्थानीय तहका ४२ वडालाई समेटेर धान सुपरजोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

जसअन्तर्गत छ हजार ४६२ दशमलव ४३ हेक्टरमा उन्नत धानखेती हुँदै आएको छ । धान सुपर जोनमा आबद्ध किसानलाई अनुदानमा कृषियन्त्र, मेसिन र सिँचाइका लागि पम्प सेट उपलब्ध हँुदै आएको परियोजना कार्यालयप्रमुख सञ्जु जोशीले बताउनुभयो । उहाँका अनुसार सहज रुपमा किसानले कृषियन्त्रको प्रयोगलाई बढावा दिउन भन्ने उद्देश्यले कष्टम हायर सेन्टर स्थापना गरी ट्र्याक्टर, थ्रेसर, रिपर, रोटाभेटरलगायतका सामानको व्यवस्था गरिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?