logo
२०८१ जेष्ठ ८ मंगलवार



बहसमा ब्रोकर कमिसन

लगानीकर्ता र ब्रोकरका आआफ्नै तर्क

अर्थ |


बहसमा ब्रोकर कमिसन


भेषराज बेल्बासे

काठमाडौँ, मङ्सिर २८ गते । पछिल्लो समय ऐतिहासिक उचाइ, उच्च कारोबार रकम, पुँजीकरण, कारोबार सङ्ख्यालगायतका रेकर्ड कायम गरेको सेयर बजारमा ब्रोकरले लिने कमिसनको चर्चा पनि चुलिएको छ । ब्रोकरले लिने कमिसन धेरै भयो भन्ने लगानीकर्ताको गुनासो छ भने ब्रोकरको पनि लिन पाउने आफ्नै तर्क छ ।
लामो समयदेखि कमिसन घट्नुपर्ने माग राख्दै आएका लगानीकर्ताले धितोपत्र बोर्डले कात्तिक १ देखि कमिसन घटाउने निर्णय गरे पनि अझै कार्यान्वयन नगरेको गुनासो गर्दै आएका छन् । गत कात्तिक २० गते सेयरको अनलाइन कारोबार सुरु भए पनि त्यसले खासै गति लिन सकेको थिएन । चैत १२ देखि रोकिएको सेयर कारोबार असार १५ बाट मात्रै सुरु भएपछि अधिकांश लगानीकर्ताले भने नियमित रूपमा अनलाइनबाटै सेयर खरिद बिक्री गरिरहेका छन् ।
लगानीकर्ता अनलाइनबाट सेयर कारोबार भएका कारण ब्रोकरको कार्यालय सञ्चालन खर्चमा कटौती भएकाले ब्रोकर कमिसन घटाउनुपर्ने तर्क राख्छन् भने ब्रोकर अन्तर्राष्ट्रियको दाँजोमा नेपालको कम भएको बताउँछन् ।
ब्रोकर कमिसन घटाउन माग गर्दै गत साता लगानीकर्ता सङ्घका प्रतिनिधिले नेपाल धितोपत्र बोर्डसमक्ष ज्ञापन पत्र बुुझाइसकेका छन् । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता सङ्घ (नेपाल), नेपाल पुँजी बजार लगानीकर्ता सङ्घ, नेपाल पुँजी बजार सङ्घ र सेयर लगानीकर्ता दबाब समूहले संयुक्त रूपमा ब्रोकर कमिसन घटाउन मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमार्फत ब्रोकर कमिसन ०.२५ प्रतिशतमा झार्न माग गरेका उनीहरूले दैनिक धितोपत्र दोस्रो बजारमा कारोबार बढ्दै जाँदा कमिसन घटाएर लगानीकर्ताको लागत कम गर्न पनि बोर्डसमक्ष माग गरेका छन् ।

के हो धितोपत्र दलाल र कारोबार कमिसन ?
ग्राहकका तर्फबाट धितोपत्र खरिद बिक्री गरिदिने धितोपत्र व्यवसायीलाई धितोपत्र दलाल भनिन्छ । विभिन्न किसिमका धितोपत्र किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाललाई कमिसन तिर्नुपर्छ । भिन्नभिन्न धितोपत्रका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले यस्तो कमिसनको दर भिन्न किसिमले निर्धारण गर्दछ ।
लगानीकर्ताले ५० हजार रुपियाँसम्मको सेयर किनबेचमा कारोबार रकमको ०.६ प्रतिशत कमिसन तिर्नुपर्छ । ५० हजारदेखि पाँच लाख रुपियाँसम्मको किनबेचमा ०.५५ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४० प्रतिशत कमिसन तिर्नुपर्छ ।
ब्रोकर कमिसन धेरै भएका कारण सेयर कारोबारको लागत बढी भएको भन्दै सेयर लगानीकर्ता सङ्घ नेपालका उपाध्यक्ष तारा फुल्लेल लगानीकर्ताले पटकपटक कमिसन घटाउन माग गर्दै आएको र नेपाल धितोपत्र बोर्डलाई यसभन्दा अगाडि पनि लिखित तथा मौखिक रूपमा पनि ब्रोकर कमिसन घट्नुपर्छ भनेर अनुरोध गरेको बताउनुहुन्छ । धेरैपटक आग्रह तथा अनुरोध गर्दागर्दै पनि ढिला भइरहेको भन्दै उहाँ भन्नुहुन्छ, “धितोपत्र बोर्डले हामी लगानीकर्ताका पीरमर्का र समस्या बुझ्नु आवश्यक छ । लगानीकर्ताको हित संरक्षण र उनीहरूको लगानीको लागत कम गरी पुँजी बजारमा लागेका लगानीकर्ताको सुरक्षा तथा प्रतिफलको सम्भावना देखाइदिनुपर्ने बोर्डको काम हो । ”
लगानीकर्ताले आफ्नो लगानीको लागत कम गरी बढीभन्दा बढी प्रतिफलको चाहना राख्नु नैसर्गिक अधिकार भएको भन्दै उहाँले देशको पुँजी बजारको विकास र विस्तारका लागि गरिएका विगतका विभिन्न भेटघाट तथा छलफलमध्ये सरकार र लगानीकर्ता सङ्घसङ्गठनबीच भएको ५८ बुँदे सम्झौतामा उल्लेख भएको ब्रोकर कमिसन पुनरवलोकन गर्ने भन्ने बुँदा नम्बर ३४ को बुँदालाई कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालयबाट धितोपत्र बोेर्डमा प्रेषित भई सो बोर्डबाट कमिसन पुनरवलोकनका लागि अध्ययन समितिसमेत गठन भई समितिबाट प्रतिवेदनसमेत बोर्डमा पेस भइसकेको बताउनुभयो ।

कार्यान्वयन भएन प्रतिवेदन
ब्रोकर कमिसनसम्बन्धी अध्ययन समितिले प्रतिवेदन तयार गरेर धितोपत्र बोर्डमा पठाइसकेको भए पनि आजसम्म त्यसको कार्यान्वयन नभएको उहाँको भनाइ छ । पहिला दैनिक १०–२० करोडको कारोबार हुने सेयर बजारमा अहिले नौ–१० अर्बको कारोबार हुने स्थिति आइसकेको भन्दै अझै पनि पुरानै दरको कमिसन हुनु विडम्बना भएको उहाँले बताउनुभयो ।
अहिलेको ०.६ प्रतिशत कमिसन धेरै भएको भन्दै सङ्घका उपाध्यक्ष फुल्लेलले भन्नुभयो, “वास्तवमा हाल ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन दिइन्छ तर अब बजार विस्तार हुँदा समयानुकूल बनाउन ०.२५ प्रतिशत बनाउन आवश्यक छ । ब्रोकर कमिसन घटाउँदा लगानीकर्ताले राहत प्राप्त गर्न सक्छन् । किनकि हाल एक लाखको सेयर कारोबारमा पाँच सय रुपियाँ कमिसन लाग्छ । ”
लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा प्राप्त हुने प्रतिफलमा तेहेरो कर लाग्ने गरेको र सो सम्बन्धमा लगानीकर्ताको अनुरोधलाई मनन गर्दै ५ प्रतिशत लाभकरलाई अन्तिम करको विषयमा स्वीकार गर्ने विषयलाई कार्यान्वयनमा ल्याउन, पुँजी बजारलाई पुनरुत्थान गर्न सेयर कर्जाको मार्जिन ७० प्रतिशतसम्म दिन पाउने व्यवस्था गर्न पनि माग गर्दै आएको उहाँको भनाइ छ ।

छलफलमा धितोपत्र बोर्ड
नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि ब्रोकर कमिसनका विषयमा सरोकारवाला पक्षसँग आवश्यक छलफल गरिरहेको छ । बोर्डले एउटै दर कायम गर्ने कि फरकफरक दर राख्ने भन्ने विषयमा पनि छलफल गरिरहेको जनाएको छ ।
अहिलेको कमिसन दर बढी भएको लगानीकर्ताबाट गुनासो आएपछि बोर्डले त्यसका लागि गृहकार्य गरिरहेको भन्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बाहिरबाट आउनेबित्तिकै ब्रोकर कमिसनको विषयमा सम्बोधन हुने बताउनुभयो । बोर्डका तर्फबाट सम्पूर्ण काम पूरा भइसकेको भन्दै उहाँले नयाँ दर कति हुन्छ भन्ने विषयमा निष्कर्षमा नपुगेको बताउनुभयो ।

लगानीकर्ताले कति तिर्छन् कमिसन
सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क ४० प्रतिशतले घटेको थियो । अधिकतम कमिसन १ प्रतिशत भएकामा ४० प्रतिशत घटेर ०.६० प्रतिशत भएको थियो । धितोपत्र बोर्डले गरेको प्रस्तावमा केही थपेर अर्थ मन्त्रालयले कमिसन कटौती गर्ने निर्णय गरेको थियो । जुन आठ वर्षअघि २०६४ सालमा ब्रोकर कमिसन ५० प्रतिशतले कटौती गरिएको थियो ।
अहिले लगानीकर्ताले प्रत्येक सेयर कारोबारबापत कारोबार रकमको ०.२५ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म रकम ब्रोकर कमिसनबापत तिर्दै आएका छन् । जसमा सेयर कारोबार गर्दा लगानीकर्ताले ५० हजार रुपियाँसम्मको कारोबारका लागि ०.६० प्रतिशत, ५० हजारभन्दा माथि पाँच लाख रुपियाँसम्मको कारोबारमा ०.५५ प्रतिशत र पाँच लाखदेखि २० लाख रुपियाँसम्मको कारोबारमा ०.५० प्रतिशतसम्म कमिसन तिर्दै आएका छन् । लगानीकर्ताले २० लाखदेखि एक करोड रुपियाँसम्मको कारोबारमा ०.४५ प्रतिशत रकम कमिसनबापत तिर्दै आएका छन् । यसमध्ये नेप्सेले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लैजान्छ ।

ब्रोकरले सबै कमिसन पाउँदैन
ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली अहिले बजारमा हल्ला भएजसरी ब्रोकरले सबै कमिसन नपाउने बताउनुहुन्छ । ब्रोकरले पाउने ०.६ प्रतिशतमा नेप्से र धितोपत्र बोर्डलगायतको कमिसन पनि गनिने हुँदा धेरै देखिएको भन्दै उहाँले ब्रोकरलाई मात्रै तिर्ने कमिसन कति प्रतिशत हो भन्ने थाहा नपाउँदा समस्या भएको बताउनुहुन्छ । अध्यक्ष मैनालीका अनुसार सेबोन र नेप्सेको कमिसन छुट्याएर ब्रोकरले ०.६ प्रतिशतको ०.३३ प्रतिशत मात्रै कमिसन पाउँछन् ।
ब्रोकर कमिसन विगतमा दुईपटक घटिसकेको भन्दै उहाँले ब्रोकरले पाउने वास्तविक कमिसन कति हो भनेर बजारलाई जानकारी दिन नसक्दा समस्या आएको बताउनुभयो । अन्तर्राष्ट्रिय अभ्यासमा हेर्ने हो भने यो कमिसन धेरै नभएको भन्दै उहाँले भन्नुभयो, “यसमा अझै छलफल हुन आवश्यक छ । केही समय कारोबार बढ्यो भन्दैमा कमिसन घटाउनुभन्दा पनि बजारको साइकलको अवस्था हेरेर त्यो अवधिमा ब्रोकरले कति कमाएका छन्, त्यो हेरेर औसतमा निकाल्नुपर्छ । ”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?