चित्र मिजार
सिन्धुपाल्चोक, पुस १ गते । भूकम्पका कारण पाँच बर्ष पछि सञ्चालनमा आएको तातोपानी नाकाबाट छिटपुट रुपमा चीनियाँ सामान आयत भएपनि निर्यात भने शून्य रहेको छ ।
उक्त नाकाबाट अहिले दैनिक दर्जन हाराहारी कन्टेनरमा चीनियाँ सामान आयत भईरहे पनि नेपालबाट चीनतर्फ कुनै पनि सामान निर्यात भएको छैन् ।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले तातोपानीे नाकाबाट भूकम्पपछि अहिलेसम्म चीनतर्फ नेपालबाट सामान निर्यात नभएको जानकारी दिनुभयो । २०७२ बैशाख अघि सोही नाकाबाट नेपालमा उत्पादन भएका हस्तकलाका सामाग्री, कृषि उत्पादन लगायतका सामाग्री चीनमा निर्यात हुने गरेको थियो । चीनमा सामान निर्यात नभएपछि नेपाली निर्यातकर्ता ब्यापारी, मजदुर मारमा परेका छन् । उनीहरुले उत्पादन गरेका हस्तकला, कृषि उपज जस्ता सामाग्री खेर गईरहेको छ ।
भूकम्पपछि सो नाकाबाट कुनै पनि सामान चीनमा निर्यात भएको छैन् । आयात पनि अति न्यून रहेको प्रमुख खत्रीले बताउनुभयो । सो कारण दुई देशीय ब्यापारिक कारोबारमा अति असर पुगेको उहाँको धारणा छ । भूकम्पपछि गत बर्षको जेठ महिनामा उक्त नाका संचालनमा आएको थियो । १० महिना नपुग्दै कोरोनाका कारण सो नाका बन्द हुन पुगेको थियो ।
स्वास्थ सामाग्री ल्याउन गएको बैशाखमा नाका पुन खुलाइए पनि बाढी पहिरोको कारण असार २५ गतेबाट नाका बन्द भएको थियो । सडक मर्मत सुधारपछि कातिक १४ गतेबाट नाका संचालनमा आएको थियो ।
कोरोना महामारीका कारण फेरि नाका बन्द हुन पुग्यो । असोज १९ गते संचालनमा आएकै दिन नाकामा मजदुर र चालकमा कोभिड १९ संक्रमण पुष्टि भएपछि नाका बन्द रहेपनि दशैं पछि सो नाका संचालनमा आएको छ । अहिले दर्जनका हाराहारी कन्टेनरमा खाशा क्षेत्रबाट लत्ताकपडा, स्याउ, फलफूल, स्वास्थ सामाग्री आयात भईरहेको प्रमुख खत्रीले बताउनु भयो । तर निर्यात भने ६ बर्ष देखि शून्य रहेको उहाँले जानकारी दिनु भएको छ । सरकारले सो नाकाबाट निर्यात गराउन चीन सरकारसँग छलफल चलाउन पर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले आग्रह गर्नु भएको छ ।