logo
२०८१ फाल्गुन २० मंगलवार



सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती   

अर्थ |
प्रदेश |


सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती   
फाईल तस्विर


महेन्द्रनगर, पुस २१ गते ।  कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका चौधरीले अन्नखेती गर्न गाउँमा थप जग्गा भाडामा लिएका छन् ।    
    
“धानगहुँ भन्दा तरकारीमा मुनाफा बढी हुने देखिएपछि हामी चारै जना भाइ तरकारी खेतीमै लाग्यो”, उहाँले भन्नुभयो, “अहिले हाम्रो परिवारको खर्च चलेकै तरकारीबाट भएको आम्दानीले नै हो ।” यसअघि गाउँमा थोरै सङ्ख्यामा कृषक तरकारी खेतीमा लागेको भए पनि केही समयअघि गाउँमा दातृ निकायले सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा तरकारी खेतीमा आकर्षण बढेको उहाँको भनाइ छ ।    
    
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले गाउँमा आयमूलक काममा लाग्न प्रेरित गर्न सोलार सिँचाइ जडान गरिदिएपछि गाउँमा १५ जना कृषक तरकारी खेतीमा आबद्ध भएका छन् । १७ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका चौधरीले कुनै पनि सरकारी निकायबाट गाउँमा कसैले पनि कृषि अनुदान नपाएको गुनासो गर्नुभयो ।    
    
“कृषिबाट अनुदान मिल्न भन्ने त सुन्छांै तर पाएका छैनौं”, उहाँले भन्नुभयो, “तरकारीको कमाइ समूह बनाएर बचत गर्ने बानीको पनि विकास यहाँ भएको छ ।” उहाँले एनएनएसडब्लुएले सिँचाइका लागि सोलार सेट, जडानका लागि लगानी र बोरिङ उपलब्ध गराएको बताउनुभयो । यहाँ उत्पादित तरकारी स्थानीय बेलौरी बजार, धनगढी र महेन्द्रनगरसम्म खपत हुने गरेको कृषकको भनाइ छ ।    
    
बेलौरी नगरपालिका–३ का वडासदस्य जगन्नाथ चौधरीले तरकारीका लागि बजारको समस्या नरहेको बताउनुभयो । उहाँले स्थानीयवासी तरकारी खेतीलाई आयआर्जनको मुख्य पेशा बनाउँदै गइरहेको बताउनुभयो । “तरकारी उत्पादन भएको बेला यहाँ टोकरीमा राखेर गाउँघर डुलाउँदै पनि बिक्री वितरण गरिन्छ ।” पाँच कठ्ठा जग्गामा तरकारी खेती समेत गर्दै आउनुभएका वडा सदस्य चौधरीले भन्नुभयो, “तरकारीको कमाइले घरखर्च चलिरहेको हुन्छ ।”    
    
स्थानीय जनजागृति कृषि सहकारीमा आबद्ध भएर गाउँमा कृषक तरकारी खेती, कुखुरापालन, माछापालनलगायत काममा सक्रिय भएर लागेको चौधरीको भनाइ छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि हाटबजार बन्द हुँदा बिक्री वितरणमा केही समस्या आएको उहाँको भनाइ छ ।    
    
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सफल परियोजनाअन्तर्गत सोलार सिँचाइ उपलब्ध गराइएको हो । सफल परियोजनाका संयोजक राजकुमार सुनारले रु तीन लाख ८० हजारको लागतमा उक्त सिँचाइ सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले बेमौसमी तथा मौसमी तरकारी उत्पादनमा सहजता होस् भनेर सिँचाइ जडान गरिएको जानकारी दिनुभयो । “अहिले २५ जना कृषकले समूह बनाएर सिँचाइ उपयोग गरिरहेका छन् ।” उहाँले भन्नुभयो, “उक्त परियोजनाअन्तर्गत ग्रामीण क्षेत्रका धेरै कृषक लाभान्वित भएका छन् ।”    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?