भेषराज बेल्बासे
काठमाडौँ, माघ ३ गते । बैङ्किङ क्षेत्रका ठूला कारोबारलाई तत्कालै भुक्तानी लिन र दिन सकिने सेवा रियल टाइम ग्रस सेटलमेन्ट
(आरटीजीएस) प्रणालीले व्यवस्थित भुक्तानी प्रणालीको आवश्यकता परिपूर्ति गर्न थालेको छ ।
नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेल चेकको प्रयोग नगरी गर्न सकिने कारोबारले समयको बचतलगायत खर्च कटौतीसमेत हुने भएकाले भुक्तानी प्रणालीलाई पनि छिटो सरल र छरितो बनाउन यो प्रणालीले सहयोग पु¥याएको बताउनुहुन्छ ।
चेकको प्रयोग नभई गर्न सकिने कारोबारले झन्झटरहित सेवा उपलब्ध गराउनुका साथै समयको बचत र खर्च कटौती समेत भएको छ । भुक्तानी प्रणालीलाई पनि छिटो सरल र छरितो बनाउन यो प्रणालीबाट सहयोग पुग्ने केन्द्रीय बैङ्कको विश्वास छ ।
बैङ्क खातावालाले एउटा निवेदन दिएपछि एक खाताबाट अर्काे बैङ्कको खातामा तुरुन्तै पैसा पठाइदिने आरटीजीएस प्रणाली २०७६ भदौ २५ गतेदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो । केन्द्रीय बैङ्कले आरटीजीएस प्रणालीबाट भुक्तानी कारोबार फस्र्योट गर्ने सम्बन्धमा भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन दिएको थियो ।
कस्तो काम हुन्छ ?
पूर्ण विद्युतीय संयन्त्र आरटीजीएस प्रणालीले ठूलो तथा सानो मूल्यको भुक्तानी ट्रान्सफर एवं हिसाब मिलान गर्दछ । संस्था तथा संयन्त्रमा भुक्तानी दिनेको भुक्तानी खाता खर्च डेबिट गरी भुक्तानी पाउनेको खातामा जम्मा चेकको प्रयोगबिना जोखिमरहित कारोबारबाट तुरुन्त फस्र्योट गरिन्छ ।
यो प्रणाली लागू भएपछि चेकको झन्झट कम हुने, समयको बचत हुने तथा पछिल्ला दिनमा बैङ्किङ प्रणालीमा देखिएका साइबर अपराधसम्बन्धी समस्याबाट पनि यो प्रणाली सुरक्षित मानिएको छ ।
सुरुमा केही नयाँ र नौलो मानिएको यो प्रणालीबाट प्रायः उद्योग व्यवसायी तथा व्यस्तताका बाबजुद चेक क्लियरिङका लागि बैङ्कमा पुगिरहनु पर्नेले लाभ लिन सक्छन् । अहिलेको प्रक्रियामा एकाउन्ट पेयी चेकको रकम भुक्तानी भई खातावालाको खातामा जम्मा हुन एकदेखि तीन दिन लाग्ने गरेकोमा छिटो चाहिनेले अतिरिक्त शुल्क तिरेर दू्रत सेवामार्फत सुविधा लिँदै आएका थिए । आरटीजीएस प्रणाली कार्यान्वयनसँगै दुई लाखभन्दा सानो रकमका लागि चेक काट्नुपर्ने भए पनि सोभन्दा बढीको भुक्तानीका लागि एकाउन्टपेयी चेकको जरुरी पर्दैन ।
आरटीजीएस प्रणाली सहभागी भएका बैङ्क तथा वित्तीय संस्थाहरूले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी)मार्फत कारोबार गर्नुपर्ने हुन्छ । जसमा राष्ट्र बैङ्कको निर्देशनअनुसार फाराम भरेर बैङ्कमा प्रस्तुत गरेपछि भुक्तानीकर्ताले आफ्नो खातामा तत्कालै रकम प्राप्त गर्नेछ । यो प्रणालीमा दुई लाखभन्दा माथिको कारोबार हुन्छ ।
यसले भुक्तानी प्रणालीमा कारोबारको टर्नओभर बढाउने हुँदा मुद्राको वेगसमेत बढ्न गई तरलता व्यवस्थापनमा समेत सहज हुने अपेक्षा राष्ट्र बैङ्कको छ । रकमको भुक्तानी मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, एनसीएचएलको कनेक्ट आईपीएस, ईसीसीमार्फत समेत हुँदै आएकोमा यस्ता भुक्तानीको सीमा सीमित भएकाले लाखौँदेखि अर्बौंको कारोबार प्रविधिमार्फत गर्दा आरटीजीएस सहज देखिएको छ । ठूला रकमको भुक्तानी तथा ट्रान्सफर गर्ने लक्ष्यले ल्याइएको आरटीजीएस प्रणालीको प्रयोग बढ्दै गएपछि बिस्तारै चेकको कारोबार कम भएर विद्युतीय कारोबारमा परिणत हुने राष्ट्र बैङ्कको भनाइ छ ।
तीन दिनबाट ३० सेकेन्डमै क्लियरेन्स
कुनै बेला चेकबुक बैङ्कमा लगेर क्लियरिङका लागि दिँदा तीन दिनसम्म लाग्थ्यो । आरटीजीएस प्रणाली कार्यान्वयनमा आएसँगै त्यो समय छोटिएर ३० सेकेन्डमा आएको दाबी गरिएको छ । भुक्तानी प्रणाली विभागका प्रमुख कँडेल भन्नुहुन्छ, यसको फस्र्योटमा समयको कुरै आउँदैन नामै वास्तविक समयको भुक्तानी प्रणाली भएका कारण यसबाट भुक्तानी तत्काल नै हुन्छ ।
पैसा ट्रान्सफरका लागि निवेदन दिएपछि बैङ्कले बिनाझन्झट एक खाताबाट अर्काे बैङ्कको खातामा तुरुन्तै पैसा पठाइदिन्छ । यसरी एक बैङ्कले रकम पठाउनेबित्तिकै अर्काे बैङ्कले तुरुन्तै सो रकम सम्बन्धित खातावालालाई भुक्तानी गर्ने भएकाले बैङ्कको काउन्टरमा रहँदा नै पठाउन खोजिएको पैसा पुग्छ ।
आरटीजीएस प्रणाली लागू भएपछि चेक लगेर बैङ्कमा क्लियरिङ गर्नुपर्दैन । झण्डै दुईदेखि तीन दिन लाग्ने क्लियरिङको प्रक्रिया छोटिएर तीस सेकेन्डमा आएको हो ।
विकास बैङ्क र फाइनान्स कम्पनी आबद्ध
आरटीजीएस प्रणालीमा आठ विकास बैङ्क र दुई फाइनान्स कम्पनी पनि आबद्ध भएका छन् ।
यसअघि २७ वाणिज्य बैङ्कले आरटीजीएस सेवा दिँदै आएकोमा आठ विकास बैङ्क र दुई फाइनान्स कम्पनीले पनि यो सेवा उपलब्ध गराउने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैङ्कका लागि मात्र लागू हुनेगरी यस्तो प्रणालीको सुरुवात गरेको हो । अहिले ‘ख’ र ‘ग’ वर्गका कम्पनी पनि जोडिएका हुन् ।
थपिएका विकास बैङ्कहरूमा ज्योति विकास बैङ्क, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क, महालक्ष्मी विकास बैङ्क, गरिमा विकास बैङ्क, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, लुम्बिनी विकास बैङ्क र कामना सेवा विकास बैङ्क छन् । यसैगरी आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्सले पनि आरटीजीएस प्रणालीमा आबद्ध भई कारोबार सुरु गरेका छन् ।
मासिक १३ खर्ब कारोबार
आरटीजीएस सिस्टम तथा मोड्युलर डाटा सेन्टर औपचारिक रूपमा हस्तान्तरण भएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय डीएफआईडीको सहयोगमा एक्सेस टु फाइनान्सअन्तर्गत यूके एड सक्षमसँगको सहकार्यमा राष्ट्र बैङ्कले सञ्चालनमा ल्याएको उक्त सेवा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
शुक्रबार राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटीजीएसमार्फत हुने कारोबार हाल मासिक औसत १३ खर्ब रुपियाँ बराबर रहेको बताउनुभयो ।
यस सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूको सङ्ख्या ३७ रहेको र यो सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिँदै उहाँले नेपालको भुक्तानी प्रणालीमा विशेष महìव राख्ने आरटीजीएस सिस्टम कार्यान्वयनमा ल्याउन सहयोग गर्ने यूके एड सक्षमलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा आरटीजीएस हस्तान्तरण गरी लिनका लागि यूके एड सक्षमका टिम लिडर निर्मल दाहाल र राष्ट्र बैङ्कका कार्यकारी निर्देशक कँडेलबीच आरटीजीएस हस्तान्तरण प्रमाणपत्र आदानप्रदान भएको छ । त्यस्तै मोड्युलर डाटा सेन्टर हस्तान्तरणका लागि यूके एड सक्षमका टिम लिडर निर्मल दाहाल र राष्ट्र बैङ्कका निर्देशक शिवराम दवाडीबीच मोड्युलर डाटा सेन्टर प्रमाणपत्र हस्तान्तरण भएको थियो ।
सो अवसरमा नेपालस्थित बेलायती राजदूतावासका प्रतिनिधि रब क्लार्कले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि यूके एडले गरेको सहयोगबारे चर्चा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित बेलायती राजदूतावासका प्रतिनिधि रब क्लार्क, यूके एड सक्षमका प्रतिनिधि तथा नेपाल राष्ट्र बैङ्कका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।