logo
२०८१ फाल्गुन १६ शुक्रवार



वर्षा नहुँदा हिउँदेबाली उत्पादन प्रभावित  

अर्थ |


वर्षा नहुँदा हिउँदेबाली उत्पादन प्रभावित  
फाईल तस्विर


देउखुरी, माघ २० गते । लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमि बाँझै छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ । दाङका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकासे पानीको भरमा हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएका छन् । गत असोजको अन्तिम सातादेखि वर्षात् हुनसकेको छैन । पानी नपरेपछि खेतबारी बाँझै रहेको घोराही उपमहानगरपालिका–९ का किसान जगमती चौधरी बताउनुहुन्छ ।    
    
 तोरीबाली भित्र्याएपछि खेतबारीमा छरेका कुनै पनि बाली सप्रन सकेको छैन । अघिल्ला वर्षमा मुसुरो, केराउ, चना, गहुँ जौँ फल्ने खेतबारी यसपालि पानी नपरेका कारण उब्जनी नहुने चौधरी बताउनुहुन्छ । घोराही–११ का किसान रेशम बस्नेत आकासे पानीको भरमा हिउँदेखेती गरिंदै आएकामा यस वर्ष समयमा वर्षात् नहुँदा लगाएको बाली पनि विस्तारै सुक्न थालेको बताउनुहुन्छ । ‘‘जमिन बाँझै छ । गहुँ, मसुरो, केराउ र जौको बीउ पनि नआउने अवस्था भएको छ । यसपालि बाली लगाएको सबै खेर जाने अवस्था छ’’, उहाँले भन्नुभयो ।    
    
दाङमा खेतीयोग्य जमीनमा सिँचाइको सुविधा नुहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपालि हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । दाङ जिल्लाको कूल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमिनमध्ये खेतीयोग्य जमीन ६९ हजार ९५० हेक्टर रहेको छ । दाङमा कुल खेती गरिएको जमिन ६५ हजार ९८० हेक्टरमा खेती गरिएको छ ।    
    
जिल्लामा बाह्रै महिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर छ । हिउँदको समयमा पानी नपरेको हुँदा बाली उब्जनी नहुने र बाँझै रहने सङ्केत देखिएको छ ।    
    
पर्याप्त सिँचाइ नहुँदा र हिउँदे वर्षा नहुदा यसपटक हिउँदेबाली गहुँ, जौ र मसुरोको उत्पादनमा कमी आउने प्रमुख धिताल बताउनुहुन्छ । हिँउदे वर्षा बालीनालीका लागि अमृत समान हुन्छ । उहाँका अनुसार हिउँदमा वर्षात् नभएका कारण अन्नबालीलाई क्षति पु¥याउने देखिन्छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?