कृष्ण तिवारी
रौतहट, माघ ३० गते । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण रौतहटमा विभिन्न किसिमका घरेलु प्रविधि लोप हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु मेसिन तथा फलामका औजार हराउँदै गएका हुन् ।
करिब दुई दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि यहाँ यी घरेलु मेसिन विस्थापनमा परेका छन् । परापूर्वकालका मेसिन तथा औजारहरू एउटा मात्रै नभएर प्रायः सबै विस्थापित भइसकेका छन् । नेपाली समुदायमा यसका उदारहण प्रशस्तै छन् ।
तुलो ः विशेषतः जिल्लाको ग्रामीण भेगमा मासु जोख्नका लागि प्रयोग गरिने सामग्री हो । यो तुलो आजभोलि हराउँदै गएको छ । मासु तथा जोख्नयोग्य सामग्री तुलोबाट जोख्दा धार्नी, बिसौली, आठपोल आदिमा जोखेर हिसाब निकाल्ने गरिन्थ्यो । तर, आजभोलि आधुनिक सामग्रीका कारण यसको प्रयोग हुन छाडेको छ । तुलो प्रयोग त हुँदैन नै तर देख्न समेत पाइँदैन । तुलोजस्तै अर्को सामग्री झुलो चकमक पनि हो । यसको प्रयोग पहिला पहिला धेरै हुने गरेको थियो तर, आजभोलि देख्न समेत छाडेको छ ।
यो आगो निकाल्न (बाल्न) का लागि प्रयोग गरिने सामग्री हो । जसमा, दर्सिङ ढुंगा, फलामको टुक्रा, र केराको झुस प्रयोग गरिन्छ ।
दर्सिङ ढुंगा र फलामको टुक्रालाई घर्षण गराएर केराको झुस तथा नेपाली कागजमा आगो बालिन्छ । अहिले यो पनि हराउँदै गएको छ ।
आधुनिक सामग्रीहरू सलाई, लाइटर, ग्यास लगायतका सामग्रीले गर्दा यसको प्रयोग हुन छाडेको हो । डेली ः डेलीलाई गोठको दराज भन्दा पनि फरक पर्दैन । डेली भन्नाले बाँसका चोया, बेत आदिद्वारा बनेको पेटारो भन्ने बुझिन्छ । डेली बाँसबाट बनेको हुन्छ । पशु चौपायालाई खुवाउनको लागि खेतबारीबाट घास लान डेलीको प्रयोग गरिन्थ्यो । डेलीमा नै घाँस राखेर टाउकोमाथि बोकेर घरसम्म ल्याउने गरिन्थ्यो । तर, आधुनिकतासँगै डेली पनि आजभोलि लोप भएको छ ।
धिरी एक प्रकारको पानी बोक्ने बाँसको भाँडो हो । परापूर्वकालमा पानी बोक्नका लागि यसलाई प्रयोग गरिन्थ्यो । कुनै एउटा ठूलो बाँसका आँखा खोलेर खिपेर बनाएपछि पानी बोक्ने काममा प्रयोग गरिने धिरी वर्तमान पुस्ताले प्रयोग गर्नु त परै जाओस् नाम सुन्दै अनौठो मान्छन् ।
खलाती ः यो आरनमा आगो फुक्न हावा दिने छालाको थैलो हो । खलाती विशेष गरी विश्वकर्मा समुदायले फलामका सामग्री पगाल्न तथा काँचो फलामबाट विभिन्न आकृति निर्माण गर्नका लागि आगो फुक्न यसको प्रयोग गर्ने गरेको पाइन्छ ।
आधुनिक प्रकारका मेसिनको प्रयोगका कारण आजकल यो इतिहास मात्रै बन्न पुगेको छ । यसको संरक्षणमा न त सम्बन्धित समुदायले चासो दिएका छन् न त अन्य सरोकारवाला निकायले नै । आजकल खलातीको सट्टा अन्य आधुनिक मेसिन प्रयोग गर्न थालिएको छ ।
कोल, ढिकी, जाँतो
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्ता सम्ममा उखु, अमिलो र तोरी पेल्न गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर रौतहटको शहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रबाट समेत विस्थापित भइसकेको छ ।
त्यसैगरी धान कुट्न प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् ।
आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुँदै गइरहेका छन् । पहिला पहिला महिलाहरु ढिकी र जाँतोमा नै लगेर अन्नहरु कुटने र पिस्ने गर्दथे तर अहिले मिल भएको हुनाले मिलमा नै कुटानी पिसानी भइरहेकोले ढिकी र जाँतो लोप हुन थालेको छ ।
माधोपुरका ९० वर्षिय असर्फि रायका अनुसार आधा रातदेखि ढिकीच्याउँ ढिकीच्याउँ र घुइँघुइँ गर्ने ढिकीजाँता लोप हुँदै गएका छन् । बुढापाकाहरूले प्रयोग गर्दै आएका मौलिक हाते औजार ढिकी, जाँतो र कोलसमेत नयाँ पुस्ताका लागि इतिहास मात्र रहने भएको उहाँको भनाइ छ ।
अहिले आधुनिक बाजागाजाले स्थान पाएपछि मौलिक संस्कृति लोकबाजाहरू पनि हराउँदै गएका छन् । यस जिल्लाका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हुँदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको स्थानीयहरु बताउँछन् ।
घरेलु मेसिन लगायतका परम्परागत साधन पनि लोप हुँदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै संकटमा परेको मर्यादपुरका राम प्रवेश यादवले बताउनुभएको छ ।
हाम्रो सभ्यता के हो भन्ने कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि संकटमा परेको छ ।
स्थानीय स्रोतसाधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ ।
लोप हुँदै गइरहेका यी मेसिनको संरक्षण र प्रवर्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्नेमा स्थानीयहरुको जोड छ । प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु उपकरणको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ ।
सामूहिक प्रयोगका माध्यमबाट घरेलु उपकरण आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवं सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको भनाइ छ । परम्परागत ज्ञानको उपयोगकै आधारशिलामा वर्तमान विश्वले यो छलाङ मारेको हो । सोही कारण पनि यो ज्ञान तथा सीपलाई संरक्षण गर्नुपर्ने आवश्यकता छ ।
परम्परागत ज्ञानको अभिलेखीकरण हुनु अहिलेको समयमा अति महत्व भइसकेको छ । समुदायमा रहेको परम्परागत ज्ञानको संरक्षणको महत्व दिनानुदिन बढिरहेको अवस्थामा राज्यले उचित नीति निर्माण गर्दै कार्यान्वयनतर्फ जानुपर्ने देखिन्छ । राज्यले परम्परागत ज्ञान संरक्षणको वातावरण तयार पारी सम्पूर्ण समुदायहरूले साथ दिनुपर्दछ ।