logo
२०८१ असोज ४ शुक्रवार



कोरोनामा फर्केका पुनः विदेशतिर

अर्थ |


कोरोनामा फर्केका पुनः विदेशतिर


सीता शर्मा

काठमाडौँ, फागुन १४ गते । कोरोना महामारीकै बीचमा स्वदेशमा रोजगारीको अवसर नपाएपछि नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएका खाडीका मुलुकमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोप लगाउन सुरु भएसँगै रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको हो ।
विशेषगरी नेपालीहरूको रोजाइमा खाडी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेटस् (यूएई) कुबेत, बहराइन र मलेसिया लगायतका देश पर्ने गरेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार गत माघमा मात्रै १७ हजार ८८७ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ४५१ महिला रोजगारीका लागि विभिन्न देश गएका छन् भने १६ हजार ४३६ पुरुषले श्रम स्वीकृति लिएका छन् ।
कोरोनाका कारण रोजगारी विदेशमा रोजगारी गुमाएर झण्डै तीन लाख नेपाली स्वदेश आएका छन् । सरकारले कोरोनाको विपद् सुरु हुँदा विदेशबाट फर्केका श्रमिकलाई नेपालमा नै रोजगारी दिने घोषणा गरेको थियो तर त्यसअनुसार रोजगारी सिर्जना हुन नसक्दा कोरोना त्रासकै बीचमा हजारौँ सङ्ख्याका नेपाली युवा वैदेशिक रोजगारीमा गएको माथिको तथ्याङ्कले देखाएको छ । महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) साउदी अरब, कतार, ओमान, जापान, बहराइन, कुवेत, मलेसियालगायतका देश बढी रहेका छन् । सो महिनामा सबैभन्दा बढी श्रमिक संयुक्त अरब इमिरेट्स यूएई गएको विभागले जनाएको छ ।
विभागका अनुसार सो अवधिमा चार हजार ५४९ पुरुष र ६५९ महिला गरी जम्मा पाँच हजार २०८ जना नेपाली यूएई गएका छन् । यस्तै साउदी अर्ब चार हजार ९७८ जना श्रमिक रोजगारीका लागि विदेशिएका छन् । त्यसपछि कतारमा चार हजार ९६६ जना नेपाली रोजगारिका लागि माघ महिनामा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।
यस्तै ओमानमा ३४४ जना रोजगारीका लागि गएका छन् भने मलेसियामा जम्मा १६ जना मात्रै गएका छन् । मलेसिया नेपालीका प्रमुख श्रमगन्तव्य मुलुक भए पनि त्यहाँ अझै कोरोना सामान्य अवस्था नभएकाले बन्दाबन्दीकै अवस्था रहेकाले मलेसियाबाट माग नआएको विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले पछिल्लो समय विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाका कारणले स्वदेशमा रोजगारी नपाएपछि र कोरोनाकै कारण विदेशबाट रोजगारी गुमाएर आएकाहरू पनि कोरोना खोप प्रयोगमा आएसँगै विदेशिने क्रम बढेको बताउनु भयो ।
हाल नेपाल सरकारबाट संस्थागत रूपमा वैदेशिक रोजगारका लागि खुला गरिएका ११० वटा देशहरू रहेका छन् । तीमध्ये इराक र लिबिया हाल वैदेशिक रोजगारका लागि रोक्का गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?