logo
२०८० चैत्र १५ बिहीवार



नेपाली आकाशमै इन्टरनेटको सुविधा

अर्थ |


नेपाली आकाशमै इन्टरनेटको सुविधा


विश्वास रेग्मी

काठमाडौँ, फागुन २१ गते । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी गरेकोे हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमति प्राप्त विदेशी एयरलाइन्सले आफ्ना यात्रुलाई यस्तो सुविधा उपलब्ध गराउन सक्नेछन् । “उड्ययन प्राधिकरणबाट सहमति ल्याउने विदेशी एयरलाइन्सलाई हामी ‘नो अब्जेक्सन’ दिन्छौँ”, उहाँले भन्नुभयो ।
विदेशी जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सेवासम्बन्धी प्रस्ताव यति बेला प्राधिकरणको बोर्डमा प्रस्तावित छ । बोर्डबाट उक्त प्रस्ताव पारित हुनासाथ जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सुविधा खुला हुनेछ । “अब छिटै यस्तो सुविधा दिने गरी तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । यो प्रक्रियामा प्राधिकरणको भूमिका ‘नो अब्जेक्सन’ दिनेमा हुनेछ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन(आइकाओ)ले जहाजभित्र मोबाइल प्रयोगलाई अत्यावश्यकीय अवस्थाका रूपमा व्याख्या गर्दै डेढ दशकअघि नै यसलाई खुला गर्न सकिने गरी निर्णय गरेको थियो । आइकाओको उक्त व्यवस्थाअनुसार विश्वका कतिपय देशले उडानभित्रै इन्टरनेट तथा फोन गर्न सक्ने सुविधा उपलब्ध गराइरहेका छन् ।
छिमेकी देश भारतले पनि सन् २०१८ डिसेम्बरमा भारतीय आकाशमा विदेशी तथा भारतीय जहाजहरूले इन्टरनेट तथा फोन कल गर्न सक्ने सुविधा खुला गरेको थियो । त्यस्तै कतार एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, इत्तिहादलगायत नेपालमा उडान सेवा उपलब्ध गराइरहेका ठूला जहाज कम्पनीहरूले पनि यस्तो सुविधा उपलब्ध गराइरहेका छन् । यद्यपि नेपाली आकाशमा इन्टरनेट प्रयोग गर्न पाउने व्यवस्था नभएकाले अहिलेसम्म त्यस्ता एयरलाइन्सले यो सुविधा उपलब्ध गराउन पाएका छैनन् ।
एयरलाइन्स कम्पनीले जहाजमै इन्टरनेट सुविधा उपलब्ध गराउन इन्टरनेट सेवा प्रदायकसँग यस्तो सुविधा लिनुपर्ने हुन्छ । अहिले विश्वभर आधा दर्जन यस्ता सेवा प्रदायकले जहाजमा इन्टरनेट सुविधा उपलब्ध गराइरहेका छन् । रो ४४, भायास्याट, गोगो इन्टरनेट, अनएयरलगायत कम्पनीले जहाजमै वाइफाई तथा एसएमएस सुविधा उपलब्ध गराएका छन् ।
नेपाली आकाशमा इन्टरनेट उपलब्ध गराउने भए पनि यो नेपालका इन्टरनेट सेवा प्रदायकसँग भने सम्बन्धित छैन । विदेशी एयरलाइन्सका लागि यो सुविधा उपयोगी भए पनि नेपालका आन्तरिक वायुसेवा प्रदायकलाई भने त्यति उपयोगी नहुने नेपाल वायुसेवा निगमका क्याप्टेन श्रवण रिजाल बताउनुहुन्छ । आन्तरिक वायुसेवाहरूको हवाई दूरी नै छोटो हुँदा १० हजार फिटमाथि उडान गर्ने समय कम हुने भएकाले यो त्यति उपयोगी नदेखिने उहाँले बताउनुभयो । लामो दूरीका हवाई उडान तय गर्ने एयरलाइन्सले आफ्ना यात्रुलाई सुविधा दिन भने यो निकै उपयोगी हुने उहाँले बताउनुभयो ।
दूरसञ्चार प्राधिकरणका अनुसार नेपाली आकाशमा प्रवेश गर्ने र नेपाली आकाश हुँदै बाहिरिने अवस्थामा नेपालको सीमाभित्र एयरलाइन्सहरूले इन्टरनेट उपयोग गर्न सक्नेछन् । १० हजार फिटभन्दा कम उचाइमा जहाज उडान र अवतरणको तयारी चरणमा रहने र उक्त उचाइभन्दा कम अवस्थामा इन्टरनेट उपलब्ध गराउँदा स्थानीय दूरसञ्चार सेवा प्रदायकहरूको सेवामा असर पार्न सक्ने भएकाले यो उचाइ कायम गरिएको प्राधिकरणले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?