logo
२०८१ बैशाख ८ शनिवार



लगानी कम्पनी सञ्चालन गर्दै एनआरएन

प्रारम्भिक लगानी रू. ५० करोड

अर्थ |


लगानी कम्पनी सञ्चालन गर्दै एनआरएन


विश्वास रेग्मी

काठमाडौँ, फागुन २९ गते । गैरआवासीय नेपालीको पहलमा छुट्टै लगानी कम्पनी सञ्चालनमा आउने भएको छ । नेपालमा मात्रै लगानी गर्ने उद्देश्यसहित गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का अगुवाहरूको नेतृत्वमा कम्पनी गठन हुन लागेको हो ।
सुरुमा करिब ५० करोड रुपियाँ पुँजीसहित उक्त कम्पनी सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त कम्पनीका लगानीकर्तासमेत रहनुभएका सङ्घका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कम्पनी सञ्चालनका लागि आधारभूत कानुनी प्रक्रिया अघि बढाइएको छ । “१०÷१५ जनाको एनआरएन मिलेर यस्तो कम्पनी सञ्चालन गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।
कम्पनीमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी हुने पन्तले जानकारी दिनुभयो । “चुरोट र रक्सीबाहेक नाफामूलक मुख्य क्षेत्रहरूमा कम्पनीले लगानी गर्नेछ”, उहाँले भन्नुभयो । कोरोना सङ्क्रमणका कारण लगानी बढाउनुपर्ने अवस्थामा रहेको नेपालका लागि विदेशी लगानी भिœयाउने आधारका रूपमा कम्पनीले काम गर्ने उहाँको भनाइ छ ।
कोरोना सङ्क्रमणकै कारण युरोपेली देशसमेत गहिरो आर्थिक समस्यामा परेको अवस्थामा नेपालमा भने मुनाफा सुरक्षित रहेकाले लगानीको पहल थालिएको उहाँले बताउनुभयो । विदेशमा बसे पनि नेपालकै समृद्धि र विकासका लागि पहल गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरेर लगानी कम्पनी सञ्चालनको सोच बनेको समेत बताउनुभयो ।
भविष्यमा विदेशी लगानीकर्तालाई समेत समेटेर लगानी विस्तार गर्ने उद्देश्य कम्पनीले राखेको छ । नेपालमा लगानी गर्न इच्छुक त्यस्ता लगानीकर्तालाई कम्पनीमार्फत नेपालमा लगानीका लागि पनि सहजीकरण गरिने पन्तले जानकारी दिनुभयो । यसबाहेक सङ्घकै अगुवाइमा कम्तीमा दस अर्ब रुपियाँ लगानीमा कोष स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रबन्धपत्र तयार गरेर यतिबेला कम्पनी दर्ताको क्रममा रहेको उक्त कोषमार्फत खासगरी पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने सङ्घको उद्देश्य रहेको छ ।
सरकारको समेत पाँच प्रतिशत लगानी रहने उक्त कोषमा जीआईजेड, यूएसएआईडी जस्ता संस्थाले प्राविधिक सहायताको प्रत्याभूति गरेका छन् । कोषमा गैरआवासीय नेपालीले समेत लगानी गरेका छन् ।
त्यसका लागि एनआरएनलाई प्राथमिक सेयर (आईपीओ) जारी गरिने अध्यक्ष पन्तले जानकारी दिनुभयो । अधिक सेयर परेको अवस्थामा त्यसलाई पनि स्वीकार गरेर लगानी गर्न पाउने गरी अहिले नेपाल धितोपत्र बोर्डसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
मुनाफायुक्त क्षेत्रको छनोट गरेर लगानी निश्चित गरिने उहाँले स्पष्ट पार्नुभयो । “लगानीकर्तालाई एनआरएनको लगानी रहने परियोजनामा मुनाफा हुन्छ भन्ने विश्वस्त बनाउनेछौँ”, उहाँले भन्नुभयो । उक्त कोषमार्फत विदेशी लगानीकर्तालाई समेत नेपालमा लगानीका लागि अभिपे्ररित गरिने उहाँले बताउनुभयो ।
त्यस्तै प्रतिफललाई लाभांशका रूपमा भन्दा पनि यहीँ नै लगानी गर्न सक्ने वातावरण बनाउने दिशामा छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?