logo
२०८१ बैशाख ६ बिहीवार



सिलिन्डरको अधिक माग

‘एयरलिफ्ट’मार्फत अक्सिजन सिलिन्डर ल्याउन सुझाव

अर्थ |


सिलिन्डरको अधिक माग


विश्वास रेग्मी

काठमाडौँ, वैशाख १७ गते । कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ । सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् ।
यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप सिलिन्डर ल्याउन ‘एयर लिफ्ट’ गर्नुपर्ने उत्पादकहरूको भनाइ छ । अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि त्यसलाई भर्न आवश्यक सिलिन्डर भने अब अभाव हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताउनुभयो । अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा समस्या पर्ने भएकाले यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने उहाँको भनाइ छ ।
“अहिलेकै अवस्थामा सङ्क्रमितको दर बढ्दै जाँदा भविष्यमा कति सिलिन्डर आवश्यक पर्ने हो, त्यसको पनि अनुमान गर्न सकिने स्थिति छैन,” उहाँले भन्नुभयो, “अब भने ढिलो नगरी जुनसुकै उपाय गरी ‘फास्ट ट्र्याक’बाट छिटो सिलिन्डर ल्याउनेमा सरकारको दु्रत पहल आवश्यक छ । ” सिलिन्डर प्रयोगकर्ताले घरमा सिलिन्डर राखे भन्नुभन्दा अबको माग सम्बोधन गर्न सरकारले कम्तीमा ५० हजार सिलिन्डर आयात गर्न सक्रिय हुनुपर्ने एभरेस्ट अक्सिजन ग्यासका सञ्चालक शिव घिमिरे बताउनुहुन्छ । “अबको एक मात्र विकल्प भनेको एयरलिफ्ट गरेर चीनबाट सिलिन्डर ल्याउनु मात्र हो,” उहाँले भन्नुभयो ।
यसका लागि सरकारले तत्काल उद्योगीलाई एलसी खोल्ने वातावरण बनाइदिने र एयरलिफ्टका लागि सहजीकरण गरिदिनुपर्ने उहाँको भनाइ छ । पानीजहाज अथवा सडकमार्फत सिलिन्डर ल्याउँदा प्रक्रियामै दुई महिना लाग्ने भएकाले महामारी नियन्त्रणका लागि हवाई जहाजबाटै सिलिन्डर ल्याउनु प्रभावकारी उपाय हुने उहाँले बताउनुभयो ।
अहिले नेपालभर २० वटा अक्सिजन ग्यास उत्पादन गर्ने उद्योग छन् । तीमध्ये काठमाडौँ उपत्यकामा आठवटा छन् । सबै उद्योगमा गरेर देशभर बढीमा डेढ लाख थान अक्सिजन सिलिन्डर उपलब्ध छन् । नेपालमा अहिले ४७, ४० र १० लिटरका गरेर तीन आकारका सिलिन्डर प्रचलनमा छन् ।
अक्सिजन अभाव नभई सिलिन्डरको अभाव हुन थालेकाले सरकारले जीटूजी प्रक्रियामै जोड दिएर सिलिन्डर आपूर्ति सहज बनाइदिनुपर्ने उद्योगीहरूको भनाइ छ । “हामीलाई छुटभन्दा पनि सिलिन्डर ल्याउने प्रक्रियामा सरकारको सहजीकरण चाहिएको हो,” सङ्घका महासचिव तिमिल्सिनाले भन्नुभयो, “त्यस्तै भन्सारमा आउनासाथ तत्काल नै भन्सार क्लियर हुने व्यवस्था हुनुप¥यो । ”
सरकारले गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट सिलिन्डर आयातमा भन्सार छुट दिने निर्णय गरेको थियो । भन्सार छुटको निर्णय सकारात्मक भए पनि यो ढिलो भएकाले अब भने सिलिन्डर अभावको समस्या समाधान गर्न एयरलिफ्टिङ नै गर्नुको विकल्प नरहेको उद्योगी घिमिरेको भनाइ छ ।
उद्योगीहरूले अस्पतालमा रहेका प्लान्टलाई तत्काल मर्मत गरेर प्रयोगयोग्य बनाउन पनि सुझाव दिएका छन् । त्यस्तै उपकरण आयातमा पनि सहजीकरण गरिदिएर परिस्थितिलाई नियन्त्रण गर्नेतर्फ सरकारको पहल हुनुपर्ने उनीहरूको भनाइ छ । मूल्यमा सरकारले नै नियन्त्रण गर्ने गरी जुनसुकै विधिबाट सिलिन्डर उपलब्ध गराए अक्सिजन उपलब्ध गराउन तयार रहेको उनीहरूको भनाइ छ ।

‘होल्ड’ नगराउन सिफारिस
अक्सिजन सिलिन्डरको अधिक माग हुन थालेपछि कतिपयले सिलिन्डर भरेर राख्न थालेपछि बजारमा अभाव हुन थालेको चर्चा यतिबेला छ । त्यसैले कतिपय उद्योगले सिलिन्डर लैजाने प्रयोगकर्ताका लागि त्यो आवश्यक हो वा होइन, त्यसको स्वयं जाँच गर्न थालेका छन् । अस्पतालको सिफारिसका आधारमा मात्रै सिलिन्डर उपलब्ध गराउने गरी सङ्घमार्फत पहल थालिएको महासचिव तिमिल्सिनाले जानकारी दिनुभयो ।
यसले अनावश्यक सिलिन्डर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उहाँको बुझाइ छ तर आवश्यक परेकाले मात्र सिलिन्डर राख्ने र त्यो मागको बढीमा पाँच प्रतिशत मात्र हुने भएकाले पहिले सिलिन्डर आपूर्तिलाई नै बढाउनुपर्ने घिमिरेको भनाइ छ ।

बजारका सिलिन्डर अस्पताललाई दिने तयारी
नेपालगञ्ज समाचारदाता सिराजउद्दिन खानका अनुसार बाँकेको नेपालगञ्जमा सञ्चालनमा रहेको एचओ अक्सिजन इन्डस्ट्रिजले हाल दैनिक आठ सय सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ । दैनिक ११ सय सिलिन्डरसम्म उत्पादन क्षमता रहेको सो उद्योगले सिलिन्डरको अभावले हाल दैनिक आठ सय सिलिन्डर मात्र अक्सिजन उत्पादन गरिरहेको उद्योगका सञ्चालक अजय पाठकले बताउनुभयो ।
उहाँले हाल बजारमा रहेका सबै दुई हजार सिलिन्डर तानेर अस्पतालहरूलाई दिने निर्णय गरिएको बताउनुभयो । यससँगै उत्पादन विस्तार गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो । उद्योगका दुई हजारमध्ये १२ सय सिलिन्डर बाँके, बर्दिया, सुर्खेत, धनगढी र दाङको बजारमा व्यावसायिक प्रयोजनका लागि दिइएकाले सिलिन्डरको अभाव देखिएको र ती सबै झिकाउने काम सुरु गरिसकेको उहाँले बताउनुभयो । यसैबीच सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश सबै ठूला अस्पतालमा अक्सिजन सिलिन्डरको माग दिनदिनै बढ्दै गएकाले थप सिलिन्डर नआएसम्म माग पूरा गर्ने अवस्था नरहेको उद्योगले जनाएको छ ।

सिलिन्डरको विकल्प पाइपलाइन
बुटवल समाचारदाता छवि पाण्डेका अनुसार सम्भावित जोखिमलाई ध्यान दिँदै उपभोक्ताले समेत अक्सिजन भरिएका सिलिन्डर खरिद गरेकाले पनि अहिले बजारमा अभाव भएको छ ।
अहिलेको अवस्थामा अर्को विकल्प नभएकाले बजारमा रहेका सिलिन्डरलाई नै अधिकतम प्रयोगमा ल्याउन व्यवसायीले आग्रह गरेका छन् । रुपन्देहीको कोटिहवामा रहेको लुम्बिनी अक्सिजन उद्योगका सञ्चालक हसन्तमान सिमाङगैँडाले अक्सिजन सिलिन्डरको अभाव पूर्ति गर्न तत्काल प्रत्येक अस्पतालले अक्सिजन पाइप लाइन बनाएर एउटै सिलिन्डरबाटै अस्पतालका थुपैै्र बेडमा पुग्ने गरी व्यवस्थापन गर्न सुझाव दिनुभयो । बजारमा सिलिन्डर नै छैन, भएका सिलिन्डर खाली छैनन् । त्यसैले प्रत्येक अस्पतालले अक्सिजन पाइप लाइन बनाउन सक्ने हो भने सिलिन्डर कम प्रयोग हुने र अक्सिजन चाहिएजति आफूहरूले दिने उपाय उहाँले सुझाउनुभयो । उता शङ्कर ग्यास उद्योगका बजार प्रमुख अविनाश रेग्मीले आफ्नो उद्योगसँग सात हजार सिलिन्डर रहे पनि अहिले ती सबै बजारमा गइसकेकाले तत्कालको अभाव पूर्ति गर्न समस्या रहेको बताउनुभयो । एउटा सिलिन्डरको मूल्य २० हजारसम्म पर्ने र विगतमा सरदर खपत भएअनुसारकै सिलिन्डर उद्योगसँग राख्ने गरिएकाले थप सिलिन्डर ल्याउन उद्योगले तत्काल पहल नगरेको उद्योगीको भनाइ छ ।
रुपन्देहीका उद्योगहरू एक घण्टामा २५ वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको तर सिलिन्डर अभावले समस्या परेको जनाएका छन् । रुपन्देहीबाट बुटवल, भैरहवालगायत छिमेकी जिल्ला नवलपरासी, पाल्पा र कपिलवस्तुसम्म अक्सिजन सिलिन्डर जाने गरेको छ ।

उत्पादन समय दोब्बर गर्न सकिने
रङ्गेली समाचारदाता नवराज कट्टेलका अनुसार सुनसरी–मोरङ करिडोरका अक्सिजन उद्योगले उत्पादन समय दोब्बर गर्न सक्ने जनाएका छन् । अहिले दैनिक पाँच सय सिलिन्डर अक्सिजन रिफिल गरिरहेका उद्योगहरूले आवश्यकता परेको खण्डमा एक हजार पाँच सय सिलिन्डर रिफिल गर्ने क्षमता राख्दछन् ।
दैनिक १२ घण्टा मात्रै उद्योग सञ्चालनमा रहेका कारण जरुरी परेको खण्डमा त्यसलाई बढाउन सक्ने क्षमता रहेको विनायक अक्सिजन उद्योगका सञ्चालक अमित सारडा बताउनुहुन्छ । विनायक अक्सिजन उद्योगका चार हजार, मारुती अक्सिजन उद्योगका एक हजार पाँच सय सिलिन्डर छन् । त्यसबाहेक दुर्गा अक्सिजन, हिमाल अक्सिजन र पाथीभरा अक्सिजन उद्योग करिडोरमा रहेका छन् । बाँकी तीनवटा उद्योगको समेत औसत सङ्ख्यामा मात्रै सिलिन्डर रहेको उद्योगीहरू बताउँछन् ।
भरिएका सिलिन्डरमध्ये ७५ प्रतिशत अस्पतालमा र २५ प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुँदै आएका छन् । सरकारले औद्योगिक प्रयोजनका लागि खपत भइरहेका सिलिन्डर अस्पताल प्रयोजनका लागि प्रयोगमा ल्याउने निर्णय गरे पनि अहिलेसम्म होल्ड भएका सिलिन्डर फर्कने क्रम सुस्त रहेको उद्योगी बताउँछन् ।
घरमा वा अस्पतालमा सिलिन्डर होल्ड गर्नु भएन, मारुती अक्सिजन उद्योगका सञ्चालक शङ्करलाल अग्रवालले सरकारी संयन्त्र आफैँ क्रियाशील हुनुपर्ने बताउनुभयो ।
सिलिन्डर सप्लाई गर्दै आएका विराटनगरका व्यवसायी सोम पाण्डेले अहिले मुख्य समस्या सिलिन्डरको होल्डमा रहेको बताउनुभयो । प्रदेश १ मा मोरङ, सुनसरी र झापाका ठूला अस्पतालले छुट्टै अक्सिजन प्लान्ट सञ्चालन गर्दै आएका छन् । अस्पतालकै अक्सिजन प्लान्ट भएका कारण धेरै अस्पतालले आवश्यक अक्सिजन बाहिरबाट ल्याउनु नपर्ने अवस्था छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूलाई पुग्ने अक्सिजन आफैँले उत्पादन गरिरहेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणिले बताउनुभयो । झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालले चार महिनादेखि नै सञ्चालनमा ल्याइसके निर्देशक रोमणी भट्टराईले जानकारी दिनुभयो ।
झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको काम गरिरहेका छन् तर तत्काल महामारीका लागि त्यसले भरथेग गर्न नसक्ने देखिन्छ । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं. १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि ७५ शøयाको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको हो । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिन्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको छ ।
विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बी एन्ड सी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् । बी एन्ड सी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ । यसैगरी पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दै आएको बी एन्ड सी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिन्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?