logo
२०८० चैत्र १६ शुक्रवार



आर्थिक वृद्धिदर ४.०१ प्रतिशत पुग्ने

अर्थ |


आर्थिक वृद्धिदर ४.०१ प्रतिशत पुग्ने


विश्वास रेग्मी

काठमाडौँ, वैशाख १८ गते । चालू आर्थिक वर्षमा नेपालले ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ ।
चालू आवको नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्कअनुसार उपभोक्ताको मूल्यमा सो बराबरको वृद्धिदर रहने अनुमान विभागले गरेको हो । चालू आवको अन्तिमसम्म कोरोना सङ्क्रमणको नकारात्मक असर सामान्य रहने र आर्थिक क्रियाकलापसमेत सामान्य तरिकाले सञ्चालन हुने विश्वासका आधारमा वृद्धिदर प्रक्षेपण गरिएको विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार उक्त वृद्धिदरपछि नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपियाँ पुग्नेछ । गत आवमा नेपालको अर्थतन्त्रको संशोधित आकार चालू मूल्यमा ३९ खर्ब १४ अर्ब ७० करोड रुपियाँ रहेको विभागले उल्लेख गरेको छ । त्यस्तै विभागले गत आवको वृद्धिदरमा संशोधन गरेर २.१२ प्रतिशत ऋणात्मक रहेको उल्लेख गरेको छ । यसअघि विभागले १.९९ प्रतिशतले मात्र आर्थिक वृद्धिदर ऋणात्मक रहने अनुमान गरेको थियो अर्थात् गत आवको आर्थिक वृद्धिदर झन् खस्किएको छ ।
विभागले आशातीत वृद्धिदर प्रक्षेपण गरे पनि यसअघि अन्तर्राष्ट्रिय संस्थाहरूले भने सोभन्दा कम मात्रै वृद्धिदर हासिल हुने प्रक्षेपण गरेका थिए । विश्व बैङ्कले चालू आवमा नेपालको वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरेको थियो । एसियाली विकास बैङ्कले भने सन् २०२१ मा नेपालको वृद्धिदर ३.१ प्रतिशत पुग्ने प्रक्षेपण हालै मात्र सार्वजनिक गरेको थियो । विभागले नौ महिनासम्मको तथ्याङ्कको आधारमा प्रक्षेपण गरेकोले वृद्धिदर बढी देखिएको हो’ विभागका निर्देशक गणेशप्रसाद आचार्यले भन्नुभयो । उहाँका अनुसार बन्दाबन्दीपछि प्रायः सबै क्षेत्र त्यसअघिको तुलनामा तङ्ग्रिएकाले पनि आर्थिक वृद्धिदरमा सुधार आएको हो ।
विभागका अनुसार कुल अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २५.८३ प्रतिशत तथा कृषि क्षेत्रको योगदान ७४.१७ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । अन्य क्षेत्रगत रूपमा ०.५८ प्रतिशत योगदान रहने खानी तथा उत्खननको क्षेत्रको कुल मूल्य अभिवृद्धि दर ७.४९ प्रतिशतले वृद्धि हुने अनुमान छ । त्यस्तै ३.८५ को मूल्य अभिृवृद्धिसहित उद्योग क्षेत्रको अर्थतन्त्रमा योगदान ५.०८ प्रतिशत पुग्ने प्रक्षेपण छ । ५.२७ प्रतिशतको मूल्य अभिवृद्धिसहित विद्युत् तथा ग्यास क्षेत्रको १.२३ प्रतिशत, १.६१ प्रतिशतको मूल्य वृद्धिदरसहित पानी आपूर्ति तथा ढल व्यवस्थापन क्षेत्रको ०.५५ प्रतिशत गोगदान रहने विभागले उल्लेख गरेको छ ।
निर्माणाधीन आयोजनामा विश्व बजारबाट उपकरलगायत सामग्रीको आपूर्ति अवरोध हटेकाले निर्माण क्षेत्रको ५.५६ प्रतिशतले मूल्य अभिवृद्धि हुने देखिन्छ । यस क्षेत्रले अर्थतन्त्रमा ५.६८ प्रतिशतको योगदान दिने अनुमान छ ।
थोक तथा खुद्रा व्यापारको मूल्य अभिवृद्धि ५.२७ प्रतिशतसहित अर्थतन्त्रमा १५.६७ प्रतिशतको योगदान पुग्ने देखिन्छ । यातायात तथा भण्डार क्षेत्र ६.१२ प्रतिशतले वृद्धि भई ५.४३ प्रतिशतको योगदान दिने विभागले उल्लेख गरेको छ । कोरोना सङ्क्रमणका कारण निकै प्रभावित बनेको होटल क्षेत्रमा सुधार आउँदा समग्र आवास तथा भोजन सेवाको वृद्धिदर ११.२० प्रतिशतले वृद्धि भई योगदान १.५६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
यसबाहेक सूचना तथा सञ्चार, घरजग्गा कारोबारको सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, वित्तीय मध्यस्थतालगायत सबै आर्थिक क्षेत्रको कुल मूल्य वृद्धिदर बढ्ने विभागले अनुमान गरेको छ ।

प्रतिव्यक्ति आय बढ्ने
नेपालीको प्रतिव्यक्ति आय पनि चालू आर्थिक वर्षमा १० हजार रुपियाँले बढ्ने विभागले प्रक्षेपण गरेको छ । गत आवमा एक लाख ३० हजार ९५७ रुपियाँ प्रतिव्यक्ति आय रहेकामा चालू आवमा ७.५३ प्रतिशतले बढेर एक लाख ४० हजार ८१९ रुपियाँ पुग्ने विभागको अनुमान छ ।

बचतमा सुधार
चालू आवमा नेपालीको बचतको बानीमा पनि सामान्य सुधार देखिने विभागले जनाएको छ । विभागका अनुसार चालू आवमा नेपालीको कुल गार्हस्थ्य बचत दुई खर्ब ८२ अर्ब ३५ करोड रुपियाँ पुग्नेछ । गत आवमा यस्तो बचत दुई खर्ब ४८ अर्ब ४० करोड रुपियाँ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?