logo
२०८१ बैशाख ७ शुक्रवार



निषेधाज्ञाले बढायो इन्टरनेट खपत

अर्थ |


निषेधाज्ञाले बढायो इन्टरनेट खपत


विश्वास रेग्मी

काठमाडौँ, वैशाख २५ गते । गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आईस्पान)का अध्यक्ष सुधिर पराजुलीले जानकारी दिनुभयो ।
घरमै बस्दा पनि अन्य समयको तुलनामा इन्टरनेटको प्रयोग बढ्ने हुनाले ब्यान्डविथ खपत बढिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दिनमै पनि अन्य दिनको पिक आवरजस्तै ब्यान्डविथ खपत भइरहेको छ ।
निषेधाज्ञाअघि पिक आवरभन्दा अन्य समयमा औसतमा छ सय जीबीपीएससम्म ब्यान्डविथ खपत हुने गरेकामा अहिले त्यस्तो खपत दिउँसो नै नौ सय जीबीपीएससम्म पुगेको पराजुलीले जानकारी दिनुभयो ।
पिक आवरमै भने एक टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको छ । सामान्यतः साँझ ७ः०० बजेदेखि राति १०ः०० बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले पिक आवर मानिन्छ । सामान्य दिनमा यो समयमा इन्टरनेटको प्रयोग दिउँसोभन्दा अत्यधिक बढी हुन्छ ।
सरकारले वैशाख १६ गतेयता काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबाहेक देशका विभिन्न जिल्लामा पनि निषेधाज्ञा जारी भइरहेको छ । कोरोना सङ्क्रमणको गति बढिरहँदा निषेधाज्ञा बढ्न सक्ने सम्भावनाका आधारमा इन्टरनेटको खपत पनि त्यहीअनुसार बढ्ने देखिन्छ । अनलाइनबाटै पढाइ तथा कार्यालयका काम, गेमिङ तथा भिडियो कन्टेन्टको प्रयोग बढ्दा ब्यान्डविथ खपत पनि त्यसैअनुसार बढेको हो ।
गत वर्ष कोरोना सङ्क्रमणका कारण जारी बन्दाबन्दीमा पनि नेपालमा इन्टरनेटको प्रयोग अत्यधिक बढेको थियो । त्यतिबेला अर्थात् बन्दाबन्दी जारी भएकै दिन २०७६ चैत ११ गते इन्टरनेटको प्रयोग दोब्बर बढेको थियो । ब्यान्डविथ अत्यधिक प्रयोग हुँदा सेवा प्रदायकहरूले मनोरञ्जनात्मक गतिविधिका लागि इन्टरनेटको प्रयोग घटाउन आग्रह नै गर्नुपरेको थियो ।
इन्टरनेटका लागि आवश्यक ब्यान्डविथ नेपालले भारतबाट आयात गर्छ । भारतका टाटा, एयरटेलजस्ता क्यारियरमार्फत ब्यान्डविथ खरिद गर्दै आएको छ । यस्तो ब्यान्डविथ केही सेवा प्रदायकले नेपाल भित्राएर अन्य सेवा प्रदायकलाई बिक्री गर्दै आएका छन् । नेपाल टेलिकम र वल्र्डलिङ्क नेपालमा इन्टरनेट ब्यान्डविथ भित्र्याउने ठूला सेवा प्रदायक हुन् । नेपालले वार्षिक करिब दुई अर्बको ब्यान्डविथ आयात गर्छ ।
नेपालका नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये करिब ८० प्रतिशत ब्यान्डविथ गुगल र फेसबुक प्रयोगमै हुन्छ । गुगलको प्रयोगमा करिब ५० प्रतिशत र फेसबुकमा ३० प्रतिशत ब्यान्डविथ खपत भइरहेको छ ।
यसबाहेक समाचारजन्य अनलाइन सामग्रीमा ८ प्रतिशत, टिकटक, अकामाई र इन्टरनेट सेवा प्रदायकको कन्टेन्टमा २÷२ प्रतिशत ब्यान्डविथ खपत हुने पाइएको छ । अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा पनि गुगल र फेसबुक प्रयोगमै बढी ब्यान्डविथ खपत भएको समूहको तथ्याङ्क छ । कुल ब्यान्डविथमध्ये गुगलमा ३२ प्रतिशत, फेसबकुमा २४ प्रतिशत खपत हुने पाइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको मङ्सिरसम्मको तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्यामध्ये दुई करोड ५४ लाख व्यक्ति इन्टरेटको पहुँचमा छन् । त्यसमध्ये एक करोड ८५ लाखले मोबाइलबाट इन्टरनेटको प्रयोग गर्छन् । त्यस्तै ६० लाखले फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्छन् । फोरजी प्रयोग गर्नेको सङ्ख्या ७० लाख नाघेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?