logo
२०८२ असार ३ मंगलवार



कोभिड–१९ उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास छरितो बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

अर्थ |
फिचर |
पढ्नै पर्ने |


कोभिड–१९ उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास छरितो बनाउन अर्थमन्त्री पौडेलको निर्देशन


गोरखपत्र अनलाइन
काठमाडौं, जेठ ३ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिनुभएको छ ।

भर्चुअल माध्यमबाट आज सोमबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैर सरकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई सहज बनाउन निर्देशन दिनुभएको उहाँको प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो ।


एकातिर कोभिड–१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको चर्चा गर्नुहुँदै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरुलाई मन्त्री पौडेलले आग्रह गर्नुभयो । उहाँले कोभिड–१९ उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिकरुपमा जानकारी गराउन पनि निर्देशन दिनुभयो ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपाससम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिनुभयो । राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरुसँग समन्वय गरी चौबीसै घण्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन विभागले ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम गरिरहेको जानकारी दिनुभएको थियो ।
लक्की चौधरी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?