logo
२०८१ बैशाख १४ शुक्रवार



सामाजिक सुरक्षा कोषमा सहभागी नभएको बैङ्क कारबाहीमा

उजुरी र कारबाही दुवै पहिलो, अरूलाई सहभागी हुन दबाब सिर्जना

अर्थ |


सामाजिक सुरक्षा कोषमा सहभागी नभएको बैङ्क कारबाहीमा


सीता शर्मा

काठमाडौँ, जेठ ८ गते । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गर्ने सनराइज बैङ्कलाई कारबाही गरेको छ । कोषको योगदानमा सहभागी नभएको सनराइज बैङ्कका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त बैङ्कलाई कोषले कारबाहीमा गरेको हो ।
उक्त बैङ्कमा कार्यरत सनाज खतिवडाको मृत्युपछि उहाँले मासिक लिँदै आएको ४२ हजार रुपियाँ पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजनाअन्तर्गतको पेन्सन रकम दाबीसहित परिवारले गएको वैशाख २० गते कोषमा उजुरी गरेका थिए ।
मृतक खतिवडाका पिता धु्रवकुमार खतिवडा र आमा गीता घिमिरे खतिवडाको बैङ्कमा कार्यरत रहँदै छोरीको मृत्यु भएकाले आश्रित परिवारले सुविधा पाउनुपर्ने माग थियो । मृतकका बुवाको जन्म २०१६ वैशाख ३१ र आमाको २०२५ जेठ ५ गते भएकाले त्यसलाई आधार मानेर नेपालको औसत आयु ७१ वर्षको आधारमा मृतक सनाज खतिवडाको आधारभूत तलब ४२ हजारको ६० प्रतिशतले एकमुष्ट हुन आउने ४३ लाख नौ हजार दुई सय र अन्तिम संस्कारबापत २५ हजार गरी कुल ४३ लाख ३४ हजार दुई सय रुपियाँ तीन महिनाभित्र उपलब्ध गराउन उक्त बैङ्कलाई निर्देशन दिएको छ ।
सामाजिक सुरक्षा ऐनमा गरिएको व्यवस्थाअनुसार मृतकलाई कोषले तोकेको अवधिभित्र सूचीकरण नगराएको हुँदा यो रकम स्वयं रोजगारदाताले नै बेहोर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम कोषले उक्त बैङ्कलाई निर्देशन दिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन निर्देशनसम्बन्धी कार्यविधिको दफा १७ मा व्यवस्था भएबमोजिम मृतकको एकाघरका आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत पाउने व्यवस्था छ । कार्यविधिको दफा १८ मा मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपियाँसमेत पाउने व्यवस्था गरिएको छ ।
कोषका सहप्रवक्ता रोहित रेग्मीले कानुनमा भएको व्यवस्थाअनुसार ७१ वर्षलाई औसत आयु मानेर मृतकका बुवा र आमाको आयुको हिसाब गरेर त्यो बराबरको क्षतिपूर्ति रकम तय गरेको जानकारी दिनुभयो । कोषमा यस्तो प्रकारको उजुरी र कारबाही दुवै पहिलो भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा ऐन, नियमावली, कार्यविधिअनुसार सेवासुविधा दाबी गरेर आएको उजुरी पहिलो हो र कारबाही पनि पहिलो हो, सुरुवात भयो । ”
“रोजगारदाता बैङ्क कोषमा आबद्ध भएर मृतक कर्मचारीलाई पनि कोषमा आबद्ध गरेको भए यसको सबै रकम कोषले आफ्नो खाताबाट भुक्तानी गर्ने थियो तर बैङ्क कोषमा आबद्ध नभएपछि त मृतक कर्मचारीले पाउने सुविधा त कानुनअनुसार भुक्तानी गर्नुप¥यो,” सहप्रवक्ता रेग्मीले भन्नुभयो, “पटकपटक आह्वान गरेका छौँ । अटेर गर्दाको परिणाम हो, यो नजिरले अब उजुरी पनि धेरै आउँछन् । ”
“खतिवडा त अविवाहित हुनुहुन्थ्यो र बाबुआमाको उमेर धेरै भइसकेकाले दाबी गर्ने रकम पनि थोरै भयो तर उहाँ विवाहित र बालबच्चा भएको भए करोडभन्दा बढी भुक्तानी गर्नुपथ्र्यो,” उहाँले थप्नुभयो । सामाजिक सुरक्षा ऐन २०७५ को नियम १२ बमोजिम रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध समाप्त भइसकेको तर ऐन र नियमावलीबमोजिम जम्मा गर्नुपर्ने योजना रकम जम्मा नगरेका कारण श्रमिकले पाउनुपर्ने सुविधा नपाएको रहेछ भने पाउनुपर्ने सुविधा तीन महिनाभित्र भुक्तानी दिई योगदान रकम जम्मा गर्न कोषले सम्बन्धित रोजगारदातालाई आदेश दिनसक्ने व्यवस्था छ ।
कोषका अनुसार कानुनी व्यवस्थाबमोजिम मृत्यु भई रोजगार सम्बन्ध अन्त्य भएकी मृतकका बुवा र आमालाई अबको तीन महिनाभित्र उक्त रकम भुक्तानी दिई कोषलाई जानकारी गराउन आदेशसहितको पत्र सो बैङ्कलाई पठाइसकिएको छ ।
कोषले ऐन २०७४ अनुसार कोषमा सूचीकरणका लागि नेपाल राजपत्रमा २०७५ कात्तिक २६ गते सूचना प्रकाशन गरेको थियो । त्यसपछि कोषले पटकपटक सूचना गर्दै आएको छ र अहिले पनि कोषमा सूचीकरण हुने कार्य जारी छ तर पनि सनराइज बैङ्कले श्रमिक र कर्मचारीको योगदान सुरु गरेको छैन । बैङ्कले कोषले दिएको निर्देशनअनुसार तीन महिनाभित्र सो रकम उपलब्ध गराएन भने कोषलाई जानकारी गराउनु पर्नेछ । निर्देशन नमानेमा बैङ्कको खाता रोक्का गर्दै बैङ्कको सम्पत्तिबाटै सो क्षतिपूर्ति भराउन सक्ने अधिकार कोषसँग छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?