logo
२०८१ बैशाख १३ बिहीवार



रोकिएन बजारको अनियमितता

चार हजार २०४ फर्मको अनुगमन गर्दा आधाभन्दा बढी कारबाहीमा तीन करोड जरिवाना र चार करोडका सामान नष्ट

अर्थ |


रोकिएन बजारको अनियमितता


सीता शर्मा

काठमाडौँ, जेठ ११ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरको अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेकोभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको अनुगमन टोलीले अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा साढे चार रुपियाँ खरिद मूल्य परेको सर्जिकल मास्क नौ रुपियाँमा बिक्री गरेको पाइएपछि जरिवाना गरेको हो ।
निषेधाज्ञापछि विभागले ४६ वटा स्वास्थ्य सामान आपूर्तिकर्ता तथा फार्मेसीको अनुगमन गरेकामा ३७ वटालाई जरिवाना वा कारबाही गरेको विभागले जनाएको छ । विभागका अनुसार निषेधाज्ञा (गत वैशाख १६ देखि जेठ ७ सम्म)को अवधिमा १०५ वटा व्यवसायी फर्मको अनुगमन गरिएकामा ६५ वटालाई कारबाही वा जरिवाना गरेको छ ।
विभागका अनुसार यस अवधिमा खाद्यान्नतर्फका ५३ वटा र स्वास्थ्यतर्फका ४६ वटा र अन्य आठवटा व्यवसायी फर्मको अनुगमन गरिएकोे छ । विभागले यस अवधिमा जरिवानामा परेका व्यवसायी फर्मबाट १० लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको जनाएको छ । यो तथ्यले पनि महामारीमा समेत कालोबजारी नरोकिएको स्पष्ट हुन्छ ।
त्यसो त विभागले चालू आर्थिक वर्ष २०७७÷७८ को १० महिनामा उपत्यका र उपत्यकाबाहिर गरी चार हजार २०४ व्यावसायिक फर्मको अनुगमन गरेकामा दुई हजार ६१८ वटा व्यवसायी फर्मलाई जरिवाना र कारबाही गरेको छ । जसमध्ये एक हजार ६१८ फर्म कारबाही परेका छन् भने एक हजार १८२ वटा फर्मलाई न्यूनतम पाँच हजारदेखि बढीमा चार लाख रुपियाँसम्म जरिवाना गरेको विभागले जनाएको छ । सो अवधिमा उपत्यकामा मात्रै दुई हजार ७५४ वटाको अनुगमन गरी एक हजार ८९३ वटालाई जरिवाना तथा कारबाही गरिएको छ । जसमध्ये ९२९ वटालाई जरिवाना र ९६४ वटालाई कारबाही गरिएको छ । उपत्यकाबाहिर एक हजार ४५० वटा व्यवसायी फर्मको अनुगमन गरिएकामा ८२३ वटा कारबाही तथा जरिवानामा परेका छन् । जसमा कारबाहीमा पर्ने ५६४ वटा फर्म छन् भने २५९ वटालाई जरिवाना गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार यस अवधिमा बजारमा उपभोक्तासँग चर्को मूल्य लिने, अखाद्य वस्तु बिक्री वितरणलगायत अमर्यादित व्यावसायिक क्रियाकलाप गर्ने व्यवसायी फर्मलाई गरिएको जरिवानाबाट तीन करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
यस्तै चार करोड रुपियाँभन्दा बढी मूल्यका म्याद नाघेका, गुणस्तरहीन सामान नष्ट गरिनुका साथै ती उत्पादक तथा व्यवसायी फर्मलाई कारबाही गरिएको विभागका निर्देशक शिवराज सेढाईंले बताउनुभयो ।
सो अवधिमा दुई हजार १५२ व्यवसायी फर्मलाई कारबाही गरिएको छ । विभागले एक्लै वा विभागको नेतृत्वमा संयुक्त रूपमा गरिएका अनुगमनका क्रममा गलत क्रियाकलाप गर्ने ती फर्मलाई कारबाही गरिएको हो ।
“विभाग र यस मातहतमा रहेका निकायबाट बजार अनुगमन गरिएको छ,” निर्देशक सेढार्इंले भन्नुभयो, “मूल्य बढी लिनेलाई जरिवाना गरिएको छ भने अखाद्य वा गुणस्तरहीन वस्तु जफत गरी, त्यस्ता सामान नष्ट गरी कारबाहीसमेत
गरेका छौँ । ”
उहाँका अनुसार अनुगमनका क्रममा कतिपय व्यवसायी फर्मले साइनबोर्ड नराख्ने, व्यवसाय दर्ता प्रमाणपत्र नराख्ने, नापतौल प्रमाणपत्र नलिने, नापतौल उपकरण नराख्ने, खाद्य अनुज्ञापत्र नलिने गरेको पनि भेटिएको छ । विभागले यसबाहेक व्यवसायी फर्मलाई सरसफाइ सुधार गर्न, भ्याट वा पान प्रमाणपत्र लिन निर्देशन दिने, स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिँदै आएको छ ।
विभागले दैनिक उपयोग्य वस्तुअन्तर्गत औषधि, मासु, तेल, खाद्यान्न, पेट्रोलियम पदार्थ, तरकारी, फलफूललगायतमा अनुगमन गर्दै आएको छ । ती वस्तुको अनुगमनका क्रममा चर्को मूल्य लिने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गरेका, व्यवसाय दर्ता नगरेका र बिलबिजकबिना कारोबार गर्ने गरेको भेटिएको विभागले जनाएको छ ।
महामारीका बेलामा कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिएर कालोबजारी गर्ने, मूल्य वृद्धिजस्ता अवाञ्छित गतिविधि गर्ने व्यवसायीलाई विभाग, जिल्ला प्रशासन कार्यालयलगायत निकायले संयुक्त बजार अनुमगन गरेर कारबाही वा जरिवाना हुँदै आएको छ ।
विभागका निर्देशक सेढाईंले कालोबजारी गर्नेलाई जिल्ला प्रशासन, खाद्यसम्बन्धी कसुर गर्नेलाई खाद्य प्रविधि, कम तौल दिनेलाई गुणस्तर तथा नापतौल, गुणस्तरहीन मासु बेच्नेलाई पशु विभागलगायत निकायको समन्वयमा कारबाही भएको जानकारी दिनुभयो । विभागले स्वतःस्फूर्त तथा बजारबाट आएका सूचनाका आधारमा अनुगमन गर्दै आएको भन्दै निर्देशक सेढाईंले निषेधाज्ञाको मौका पारेर कोही व्यवसायीले अनावश्यक गतिविधि गरेको पाइए विभागमा सूचना गर्न पनि आमसचेत उपभोक्तालाई आग्रह गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?