logo
२०८१ बैशाख २२ शनिवार



रोकिएन विषाक्त ‘सेनिटाइजर’ उत्पादन

अर्थ |


रोकिएन विषाक्त ‘सेनिटाइजर’ उत्पादन


 

 

सीता शर्मा

काठमाडौँ, जेठ १२ गते । गुणस्तरहीन ‘सेनिटाइजर’ बनाएर बिक्री गर्दै आएका एक युवा सोमबार पक्राउ परे । औषधि व्यवस्था विभाग र नेपाल प्रहरी अपराध महाशाखाको अनुगमन टोलीले अनुगमनका क्रममा गुणस्तरहीन ‘सेनिटाइजर’सहित २३ वर्षीय दुर्गा भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।
इन्टरनेटमा हेरेर गुणस्तरहीन ‘सेनिटाइजर’ बनाएर बिक्री गर्ने गरेका ती युवाको उत्पादन स्थलमा रहेको तीन हजार ८१ लिटर मिथानोल नामक विषाक्त रसायन मिसावट गरेको ‘सेनिटाइजर’ जफत गरी नष्ट गरिएको छ । भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्रान्डको लोगो नक्कल गरी हानिकारक मिथानोल नामक रसायन प्रयोग गरिएको ‘सेनिटाइजर’ उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाएको अनुसन्धानमा खुलेको बताइएको छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले उपभोक्ताको गुनासो र उजुरीका आधारमा अनुगमनका क्रममा तीनवटा ‘ह्यान्ड सेनिटाइजर’ उत्पादक उद्योग कारबाहीको प्रक्रियामा रहेको जानकारी दिनुभयो । ती उद्योगले विभागमा बिनादर्ता मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर ‘ह्यान्ड सेनिटाइजर’ उत्पादन गरेको पाइएको उहाँको भनाइ छ । विभागले मापदण्डविपरीत उत्पादन गरिएका त्यस्ता ‘सेनिटाइजर’ प्रयोग नगर्न सर्वसाधारणलाई सूचनामार्फत आग्रह गर्दै आएको छ ।
विभागका अनुसार गत वर्ष असारदेखि अहिलेसम्म मापदण्डविपरीत ‘ह्यान्ड सेनिटाइजर’ उत्पादन गर्ने २३ वटा उत्पादन बन्द गराइएका छन् । विभागले उत्पादक उद्योगबाट नमुना सङ्कलन गरी मानव स्वास्थ्यका लागि घातक रसायन मिसावट गर्ने उत्पादक उद्योग बन्द गरेको विभागका सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।
विभागका अनुसार अहिलेसम्म ४० वटा ‘ह्यान्ड सेनिटाइजर’ उत्पादन कम्पनी विभागमा दर्ता भएर सञ्चालन भएका छन् । अहिलेसम्म विभागले बन्द गरेको ‘सेनिटाइजर’ उद्योग बिनादर्ता सामान्य मापदण्ड पनि पू्रा नगरी सञ्चालन भएका उत्पादक उद्योग रहेको विभागले जनाएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का विज्ञ गणबहादुर वज्रचार्यले मिथानोलयुक्त ‘ह्यान्ड सेनिटाइजर’ जनस्वास्थ्यका लागि घातक भएकाले यसको उत्पादन बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले यस प्रकारको ‘सेनिटाइजर’ लामो समयसम्म हातमा प्रयोग गर्दा क्यान्सर हुने र यो पिएको खण्डमा मानिसको मृत्युसमेत हुने भएकाले ‘सेनिटाइजर’ प्रयोगमा सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले सिफारिस गरेको अन्तर्राष्ट्रिय मापदण्डको अल्कोहलयुक्त (मात्रा ७० देखि ८० प्रतिशत) ‘सेनिटाइजर’ मात्रै प्रयोग गर्न उपयुक्त हुन्छ । विज्ञ वज्रचार्यले ‘सेनिटाइजर’को गुणस्तर हेरेर र सँुघेर थाहा पाउन नसकिने भएकाले यसको गुणस्तर थाहा पाउन परीक्षणको आवश्यकता आँैल्याउनुभयो ।
उपभोक्ता अधिकारकर्मी विमला खनालले बजारमा विभिन्न ब्रान्ड दिएर नक्कली ‘सेनिटाइजर’ उत्पादन भइरहेकाले यस्ता जनस्वास्थ्य घातक उत्पादक उद्योगलाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो । उपभोक्ता संरक्षण ऐनअनुसार गुणस्तरहीन वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई पाँच लाखसम्म जरिवाना, पाँच वर्ष जेल वा दुवै सजाय हुने व्यवस्था छ ।
औषधि व्यवस्था विभागले औषधि उत्पादन गर्नेबाहेक अरूलाई पनि ‘सेनिटाइजर’ उत्पादन गर्ने अनुमति दिँदा गुणस्तरहीन ‘सेनिटाइजर’ उत्पादन भइरहेको नेपाल औषधि उत्पादक सङ्घले बताउँदै आएको छ । प्रयोगशाला नै नभएका साबुन उद्योगहरूले पनि ‘सेनिटाइजर’ उत्पादन गर्दा गुणस्तरहीन भइरहेका छन् । उनीहरूसँग इथानोल र मिथानोल छुट्याउने प्रयोगशाला नै छैनन् ।
विदेशबाट करोडौँ रुपियाँका ‘सेनिटाइजर’ आइरहेको भए पनि उनीहरू नियामक निकायमा दर्ता भएका छैनन् । विदेशबाट आएका त्यस्ता ‘सेनिटाइजर’ कुन स्तरका छन् भनेर थाहासमेत नहुने औषधि उत्पादक उद्योगी बताउँछन् । केही समयअघि भारत, चीनबाट आएका ‘सेनिटाइजर’ र स्वदेशी उत्पादनमा पनि स्वास्थ्यलाई हानिकारक मानिने मिथानोल मिसिएको भेटिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?