logo
२०८१ बैशाख १५ शनिवार



मदिरा महँगियो, विद्युतीय उपकरण सस्तियो

अर्थ |


मदिरा महँगियो, विद्युतीय उपकरण सस्तियो


विश्वास रेग्मी

काठमाडौँ । मदिरा तथा सुर्तीजन्य पदार्थको भाउ बढ्ने भएको छ । सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत यी वस्तुको अन्तःशुल्क वृद्धि गरेको हो । यससँगै मदिरा, बियर, वाइन, चुरोटसहित हल्का पेय पदार्थको मूल्य बढ्नेछ ।
बजेटमा भएका केही घोषणाले निश्चित वस्तुको बजार मूल्य सस्तिने भएको छ । खासगरी रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पङ्खालगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गर्ने र भन्सार महसुल घटाउने व्यवस्था बजेटले गरेकाले यी वस्तुको मूल्य घट्ने भएको हो ।
इन्डक्सन चुल्होको मूल्य पनि बजारमा केही घटेर आउनेछ । बच्चालाई पोषणका लागि खुुवाइने दूधको मूल्य पनि सस्तिनेछ ।
विद्युतीय सवारीको प्रयोगलाई प्रवर्धन गर्ने बजेटको नीतिले यसको मूल्य अब घट्नेछ । चालू आवको बजेटले विद्युतीय सवारीमा पनि भन्सार शुल्क लगाएको थियो ।
आगामी आवको बजेटले भने अन्तःशुल्क पूरै खारेज गरी भन्सार मूल्यसमेत घटाउँदा अब विद्युतीय सवारी पनि अहिलेको तुलनामा सस्तो हुनेछ । विद्युतीय सवारीको प्रवद्र्धनका लागि सरकारले पेट्रोलियम सवारी प्रतिस्थापन गर्नेलाई पाँच वर्षसम्म नवीकरण शुल्क मिनाहा गर्ने व्यवस्था पनि गरेको छ ।
बजेटका सहुलियत
वार्षिक २० लाख रुपियाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, २० देखि ५० लाखसम्मका लागि ७५ प्रतिशत र ५० लाखदेखि एक करोड रुपियाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशत आयकर छुट दिइने भएको छ ।
कोभिडबाट अति प्रभावित व्यवसायको करयोग्य आयमा एक प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था छ । आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनीलाई आगामी असोजसम्म विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क जरिवाना मिनाहा हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?