logo
२०८२ असार ८ आईतवार



लिची खेतीबाट कृषकको जीवनस्तर परिवर्तन

अर्थ |
पढ्नै पर्ने |


लिची खेतीबाट कृषकको जीवनस्तर परिवर्तन
बोटमा चढेर लिची टिप्दै देवघाटका कृषक । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, जेठ २२ गते । लिची बिक्रीबाट मनग्गे आम्दानी हुन थालेपछि तनहुँको देवघाट गाउँपालिका–५ कृषकको जीवनस्तरमा सुधार आएको छ । अन्नबाली भन्दा १० गुणा बढी लिचीबाट आम्दानी हुन थालेकाले व्यावसायिक रुपमा लिची खेती गर्ने कृषकहरु बढ्न थालेका छन् ।
आँगनीमा शीतलताको लागि आफूलाई खान र आफन्तलाई कोसेली दिन मात्रै प्रायःजसो एक घरमा एउटा मात्रै लिची लगाउने कृषकहरु अन्नबाली छाडेर लिचीको बगैंचा हुर्काउन थालेको सो वडाका वडाध्यक्ष यालबहादुर गुरुङले जानकारी दिनुभयो । घरमै आएर ठेकेदारले किन्ने र अन्नबालीभन्दा धेरै गुणाबढी आम्दानी हुन थालेपछि कृषकहरु लिचीखेतीतर्फ आकर्षित भएको वडाध्यक्ष गुरुङ बताउनुहुन्छ । ‘‘मकै लगायतको अन्य अन्नबाली लगाउँदा १० हजार मूल्य बराबरको अन्न उब्जनी हुन कठिने हुने गरेकोमा सोही ठाउँमा लिची लगाउँदा एक लाख आम्दानी लिन थालेकोले आयस्तरमा परिवर्तन आएको छ’’ वडाध्यक्ष गुरुङले भन्नुभयो ।

व्यावसायिक उन्मूख कृषकलाई गाउँपालिकाले प्रोत्साहन गर्न थालेको छ । कृषकलाई गतवर्ष एक हजार ४०० सय वटा उन्नत विरुवा अनुदानमा वितरण गरिएको र सिंचाई तथा प्लाष्टिक पोखरीको निर्माणकार्यलाई विस्तार गर्दै लगिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । वार्षिक रुपमा एक हजार २०० सयदेखि एक हजार ४०० विरुवा व्यावसायिक कृषकलाई निशुल्क दिने गरिएको गाउँपालिकाले जनाएको छ । साउने, वसन्तपुर, पीपलटार, घिनाटार र कालीमाटी लिची पकेट क्षेत्रको रुपमा रहेको करिब सात सय बोटहले फल दिन थालेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

वडाध्यक्ष गुरुङका अनुसार तिीगाउँका कृषकले वार्षिक रुपमा १० देखि ११ लाख रुपियाँको लिची विक्री गर्दै आईरहेका छन् । वडाध्यक्ष गुरुङले लिचिले व्यवसायिक खेती गर्नुभएको छ । २५ रोपनी जमिनमा लिची खेती गरेको वडाध्यक्षले गुरुङले जानकारी दिनुभयो । ‘‘वार्षिक रुपमा डेढदेखि दुई लाख रुपियाँ आम्दानी गरेको छु पूरै विरुवा हर्किएपछि तेब्बर बढी आम्दानी हुने अपेक्षा गरेको छु’’ वडाध्यक्ष गुरुङले भन्नुभयो । व्यावसायिकरुपमा लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि सो वडाका कृषक खेती विस्तार गर्न आकर्षित बनेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

कृषकलाई प्रोत्साहन दिन घरदैलोमा नै पुगेर प्राविधिक परामर्श दिने गरिएको उहाँले जानकारी दिनुभयो । तिवारीका गत अनुसार तनहुँमा गत वर्ष १६ हेक्टर जमिनमा व्यावसायिक रुपमा लिची खेती हुने गरेको र १३७ मेट्रिकटन उत्पादन भएको थियो । कृषकले फलाएको लिचीलाई प्रतिकिलो रु १०० देखि रु १२० मा बोटबाट नै बिक्री गर्दै आएको तिवारीले जानकारी दिनुभयो । देवघाट हुने उत्पादन हुने लिची नारायणगढ, मुग्लिन, आँबुखैरेनी लगायतका स्थानीय बजारमा खपत हुने केन्द्रले जनाएको छ ।

देवघाटमा उत्पादित लिची स्वादिलो कृषकको घरदैलोबाटै विक्री हुँदै आएको केन्द्रका प्रमुख तिवारी बताउनुहुन्छ । ‘‘देवघाटमा उत्पादित लिचीको भित्रको दाना सानो हुने र सेतो भाग बाक्लो, रसिलो हुने भएकाले बजार राम्रो रहेको छ’’ तिवारीले भन्नुभयो । १० हजा देखि दुई लाख ५० हजारसम्म आम्दानी गर्ने कृषकहरु रहेको र करिब १०० घरपरिवार व्यावसायिक रुपमा लिची खेतीतर्फ लागेको गाउँपालिकाले जनाएको छ ।
एकै बोटबाट २० हजार आम्दानी
देवघाट गाउँपालिका–५ का मानबहादुर गुरुङले एउटा लिचीको बोटबाट मात्रै २० हजार आम्दानी लिन सफल हुनु भएको छ । प्रति केजी १ सय ५० रुपियाँका दरले लिची बिक्री गरेर सो आम्दानी लिएको गुरुङले बताउनुभयो । घरमै आएर मानिसहरुले लिची किन्ने गरेको जानकारी उहाँले दिनुभयो ।
गत वर्ष पनि त्यही बोटबाट १६ हजारको लिची बिक्री गरेको गुरुङले जानकारी दिनुभयो । एक बोटबाट १३५ किलो लिची फलेको गुरुङ बताउनुहुन्छ । ‘‘गोठको मलखाद नजिकै भएकोले होला मल र पानीको मात्रा प्रशस्त दाना ठूलो स्वादिलो र धेरै फलेको गुरुङले भन्नुभयो । अन्य तीनवटा बोटमा पनि करिब एक सय किलो फलेको उहाँले जानकारी दिनुभयो । घरमै बसी बसी राम्रो आम्दानी गर्न थालेपछि लिचीलाई व्यवसायिक रुपमा अगाडि बढाउनुभएको छ । चार वटा लिचीको बोट बिक्री गर्दा ५० हजार रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो । ‘‘पाँच हजारको मकै पनि फल्न कठिन हुने बारीबाट लिची बेचेर ५० हजार आम्दानी भयो’’ गुरुङले भन्नुभयाे ।
११ रोपनी जमिनमा व्यवसायिक रुपमा विरुवा लगाएको उहाँले जानकारी दिनुभयो । लिचीको बोट प्रशस्त हाँगा भएको हुन्छ । फल झुप्पामा फल्छ । पाकेको फलमा कार्बोहाइड्रट, प्रोटिन, चिल्लो पदार्थ, खनिज तत्व, भिटामिन ए, बी र प्रशस्त मात्रामा भिटामिन सी पाइने चिकित्सक बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?