गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २५ गते । राष्ट्रिय किसान आयोगले आत्मनिर्भर हुन लागेका वस्तुको आयातमा रोक लगाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । आयोगले केही दिनदेखि कृषि क्षेत्रका विभिन्न सरोकारावालासँग गरेको अन्तक्र्रियापछि सरकारलाई दिएको २६ बुँदे सुझावमा सो कुरा उल्लेख गरिएको छ । आत्मभनिर्भर भएका कृषि वस्तुमा आयात रोकिनुपर्ने र वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाइनुपर्ने उल्लेख छ ।
अन्तक्र्रियापछि आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा मल, बीउ, सिँचाइ, भण्डारणलगायतका कृषि कार्यमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशत अनुदानको व्यवस्था गरिनुपर्ने, कृषि क्षेत्रमा लगानी वृद्धि गर्न २ प्रतिशत ब्याजमा ऋण प्रदान गरिनुपर्ने सुझाव छ । कृषि औजार र साधनमा पूर्ण रूपमा भन्सार छुटको व्यवस्था गरिनुपर्ने, गरिब तथा श्रमजीवी किसानलाई रासन कार्डको व्यवस्था गरी दैनिक उपभोग्य वस्तुको उपलब्धता गराइनुपर्ने र कृषिको योगदानअनुसार बजेट विनियोजन गरिनुपर्ने पनि आयोगले सुझाएको छ । दुग्ध उत्पादन किसान, व्यवसायी र दुग्ध उद्योगहरूलाई सहुलियत कर्जा उपलब्ध गराउन सरकारसँग आयोगले अपिल गरेको छ ।
कोरोनाका कारण जारी बन्दाबन्दीले कृषि तथा पशुजन्य उत्पादन, उत्पादनमा प्रयोग हुने कृषिजन्य सामग्रीको उपलब्धता तथा ढुवानीमा भएको अवरोधका कारणले कृषकको उत्पादनमा ठूलो परिणाममा क्षति भएको निष्कर्ष निकाल्दै आयोगले किसानलाई समयमा मल तथा बीउबिजन उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । जीटुजीमार्फत समयमा मल खरिद गर्न सुझाव दिँदै आयोगले केही जिल्लामा मल अभाव हुँदा त्यहाँ आपूर्ति सहज बनाउन पनि सुझाव दिएको छ । आयोगले डेरी उद्योगबाट पाउनुपर्ने रकम किसानले चार महिनादेखि नपाएको हुनाले समयमा उपलब्ध गराउनसमेत माग गरेको छ ।
यस्तै खालका महामारी तथा अनेक प्राकृतिक प्रकोप पर्दा दुग्ध किसान र दुग्ध उद्योगीहरूलाई राहत दिने उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्डअन्तर्गत रहने गरी एउटा छुट्टै कोष स्थापना गर्न पनि आयोगले सुझाव दिएको छ । कृषि तथा पशुपालन क्षेत्रमा कृषि बीमाको विस्तार गर्नुपर्ने र विगतका वर्षहरूमा प्रदान गरिँदै आएको बीमाङ्क रकमको ७५ प्रतिशत अनुदानलाई कायम गरिनुपर्ने, आत्मनिर्भर भएका कृषि वस्तुमा आयात रोकिनुपर्ने र वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाइनुपर्ने, चैते धान भित्र्याउने समय हुन लागेकाले सो धानको न्यूनतम समर्थन मूल्य तत्काल तोकिनुपर्नेजस्ता सुझाव आयोगलाई दिएको छ ।
कुखुराको मासु, अण्डा तथा दाना ओसारपसार गर्न रात्रि समयमा मात्र सवारी साधन गुड्न अनुमति भएकाले यस्ता ढुवानी गर्न गन्तव्यतर्फ जाँदा सहज भए पनि फर्कंदा अवरोध सिर्जना भएको भन्ने गुनासो आएकाले त्यसलाई निर्बाध सञ्चालन हुन दिन आयोगले सुझाव दिएको छ ।
कुखुरापालक कृषकका लागि सरल र सहुलियत दरको कर्जा, प्रभावकारी बीमा, राहत कार्यक्रम घोषणा गरिपर्ने, दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयातमा लगाइएको भन्सार तथा कर महसुलमा पुनरवलोकन गरी दाना उद्योग तथा मकै र भटमास उत्पादन गर्ने किसानको हितमा हुनेगरी महसुल निर्धारण गरिनुपर्ने उल्लेख छ ।