logo
२०८१ बैशाख १४ शुक्रवार



थपिन छाडे थ्रीजी प्रयोगकर्ता, फोरजीमा भने बढेको बढ्यै

अर्थ |


थपिन छाडे थ्रीजी प्रयोगकर्ता, फोरजीमा भने बढेको बढ्यै


विश्वास रेग्मी

काठमाडौँ, जेठ २६ गते । तेस्रो पुस्ताको मोबाइल प्रविधि थ्रीजी कुनै समय प्रयोगकर्ताका लागि डेटा प्रयोगको निर्विकल्प आधार थियो । एक हिसाबले डेटा प्रयोग गर्ने बानी नै थ्रीजीबाट विकसित भयो । देशैभर थ्रीजी सेवा विस्तारमा दूरसञ्चार सेवा प्रदायकबीचको प्रतिस्पर्धाले पनि थ्रीजी प्रयोगकर्ता
फैलिन पाए ।
तर समय विगतजस्तो रहेन । मासिक औसत चार÷पाँच लाखले बढिरहेको थ्रीजी प्रयोगकर्ताको सङ्ख्या विगत एक वर्षयता ठप्पजस्तै छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०७६ चैतसम्म देशैभर एक करोड १५ लाख ६२ हजारले थ्रीजी प्रयोग गर्थे ।
त्यसको एक वर्षपछि अर्थात् २०७७ फागुनसम्म आइपुग्दा थ्रीजी प्रयोगकर्ताका एक करोड १५ लाख ६५ हजार पुगेको छ । प्राधिकरणको सबैभन्दा पछिल्लो उक्त तथ्याङ्कअनुसार एक वर्षमा थ्रीजी प्रयोगकर्ता केबल तीन हजारले मात्र बढेको देखिन्छ अर्थात् उक्त एक वर्षको अवधिमा मासिक औसत २५० जना मात्र थ्रीजी प्रयोगकर्ता थपिएको पाइन्छ ।
पछिल्लो तथ्याङ्कअनुसार नेपाल टेलिकमका ९० लाख ९५ हजार थ्रीजी प्रयोगकर्ता छन् । एनसेलका भने २४ लाख ७० हजार । २०७६ चैतमा टेलिकमका ८५ लाख ५० हजार एनसेलका ३० लाख १२ हजार । एक वर्षको अवधिमा टेलिकमका पाँच लाख थ्रीजी प्रयोगकर्ता थपिएका छन् तर एनसेलका ग्राहक भने पाँच लाख बढीले घटेका छन् । एनसेलका थ्रीजी प्रयोगकर्ता घट्दा समग्र थ्रीजी प्रयोगकर्ताकै सङ्ख्या नबढेको पाइएको हो ।
थ्रीजी प्रयोगकर्ता नबढ्नुमा फोरजीप्रतिको आकर्षण नै मुख्य रहेको सरोकारवाला बताउँछन् । त्यसो त फोरजी सेवा विस्तारमा मुख्य गरी एनसेल र नेपाल टेलिकम पछिल्लो समय आएर आक्रामक देखिन्छन् । भिडियो सुविधाका लागि उत्कृष्ट मानिने फोरजी नेटवर्क देशैभर पु¥याएको दुवै कम्पनीको दाबी छ । टेलिकमले यसैका लागि मात्र २० अर्ब रुपियाँभन्दा बढी लगानी गरेको छ ।
नयाँ प्रयोगकर्ताले सुरुमै फोरजी सक्रिय गराउने भएकाले थ्रीजी प्रयोगकर्ताको सङ्ख्या खासै नबढेको हो । फागुनसम्मको तथ्याङ्कअनुसार नेपालभर फोरजी प्रयोग गर्नेको सङ्ख्या ७७ लाख नजिक पुगेको छ ।
जब कि त्यसको एक वर्षअघि चैतमा फोरजी प्रयोग गर्नेको सङ्ख्या ४८ लाखभन्दा केही मात्र बढी थियो । एक वर्षकै अवधिमा फोरजी प्रयोगकर्ताको सङ्ख्या करिब २९ लाखले बढेको तथ्याङ्कले पुष्टि गर्छ अर्थात् मासिक औसत दुई लाख ४० हजारभन्दा बढी फोरजी प्रयोगकर्ता थपिएका छन् ।
फोरजी प्रयोगकर्ता सङ्ख्याको हिसाबले एनसेल अगाडि छ, जसका ४८ लाख ५६ हजार प्रयोगकर्ता छन् । त्यस्तै २५ लाख ८९ हजारले टेलिकमको फोरजी प्रयोग गर्छन् । स्मार्ट टेलिकमका भने केबल दुई लाख २३ हजार मात्र प्रयोगकर्ता छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?