गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ३ गते । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीलाई प्रतीक चिह्न (लोगो) प्रदान गरेको छ ।
बोर्डले बुधबार दुग्ध विकास संस्थानका १५ वटा र निजी क्षेत्रका पाँचवटा गाडीका लागि प्रतीक चिह्न प्रदान गरेको छ । बन्द, हड्ताल तथा बन्दीबन्दीमा निर्बाध रूपमा दूध तथा दुग्धजन्य पदार्थ बोकेका गाडी चलाउन प्रतीक चिह्न प्रदान गरिएको हो । बन्दाबन्दी तथा बन्द हड्तालमा गाडीमा रोकटोक भएको गुनासो आएपछि बोर्डले प्रतीक चिह्नको प्रावधान ल्याएको हो । गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पु-याउन र प्रशोधन गरी बिक्री केन्द्र हुँदै उपभोक्तासम्म पु-याउन ढुवानीमा कुनै रोकावट नहोस् भनी प्रतीक चिह्नको व्यवस्था गरेको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो ।
प्रतीक चिह्न अङ्कित सवारी साधन अत्यावश्यकीय सवारी साधनका रूपमा बिनाअवरोध सञ्चालन हुने विश्वास लिएको कृषि मन्त्रालय पशुतर्फका निमित्त सचिव निर्मलले बताउनुभयो । उहाँले प्रतीक चिह्नको दुरुपयोग नहोस् भन्नेमा सचेत रहनुपर्ने र त्यसको अनुगमनसमेत हुने उहाँले बताउनुभयो ।