logo
२०८२ भाद्र २४ मंगलवार



चुल्होचौको छाडेर गाईपालन, वार्षिक आठ लाख कमाइ

अर्थ |
प्रदेश |


चुल्होचौको छाडेर गाईपालन, वार्षिक  आठ लाख कमाइ


अमरराज नहर्की

तनहुँ, असार ३ गते । टीका र चुरा किन्न समेत पतिमा आश्रित हुने सिर्जना तिवारी हाल आफै वार्षिक आठ लाख कमाउन सफल हुनुभएको छ । महिला चुलाचौकामा मात्रै सीमित नभई उद्यमशील बनेर आय आर्जन गर्नुपर्छ भन्ने सोचेर शुरु गरेको गाईपालन व्यवसायले उहाँलाई लखपति बनाएको हो ।
उहाँले दूध बेचेर वार्षिक करिव आठ लाख रुपियाँ बचत हुने गरेको जानकारी दिनुभयो । गाईबाट मनग्गे आम्दानी भएपछि छोराछोरीको उच्च तहको पढाइ खर्चको लागि समेत श्रीमान्सँग पैसा माग्नुपरेको छैन । ‘‘टीका चुरा किन्न, माइत जान श्रीमान्सँग पैसा माग्नुपर्थ्याे । व्यवसाय गरेपछि छोराछोरीको पढाइ खर्च पनि माग्नुपरेको छैन’’ उहाँले गोरखापत्रसँग भन्नुभयो । व्यास नगरपालिका–१३, बेलबास निवासी सिर्जनाले होलस्टेन र जर्सी जातका १० वटा माउ गाई पाल्नुभएको छ ।
२१ वर्ष अघिदेखि व्यवसाय गर्दै आएको र मासिक एक लाख रुपियाँको दूध बिक्री गर्दा ६५ देखि ७० हजार बचत हुने गरेको सिर्जनाले बताउनुभयो । ‘‘बच्चा हुर्किदै जाँदा फुर्सदिलो भएँ, दूधभात खानको लागि एक गाई मात्रै पाल्दै आएकोमा व्यवसायिक रुपमा बढाएर १० वटा पु¥याएँ’’ सिर्जनाले भन्नुभयो । उहाँले आफ्नो २५ रोपनी जमिनमा गाईपालन व्यवसाय सञ्चालन गर्नु भएको छ १३ रोपनीमा घाँस खेती गरेको र १२ रोपनीमा परालको लागि धान लगाएको सिर्जनाले जानकारी दिनुभयो । ‘‘प्रशस्त जमिन भएर पनि युवाहरु विदेशिने गदर्छन्, नेपालमै भूगोल अनुसारको बाख्रा, कुखुरा, गाइभैंसी जे पाल्न सकिन्छ त्यही व्यावसायिक रुपमा गर्ने तथा तरकारी लगाएर यही माटोमा मनग्गे कमाउन सकिन्छ’’ सृजनाले भन्नुभयो । स्थानीय सरकारले थोरै जमिनको भन्दा धेरै जमिनमा व्यवसायिक खेती गर्नेलाई ध्यान दिनु पर्ने उहाँको सुझाव छ । व्यास नगरपालिकाले कौशी खेतीलाई प्राथमिकता दिएको छ, जग्गा जमिन धेरै भएको ठाउँमा ध्यान कम गएको उहाँले बताउनुभयो । कौशी खेती भनेको सामान्य गर्जो टार्न मात्रै हो, त्यो बजेट गाउँमा लगेर विपन्न वर्गका कृषकका लागि सहयोग गर्ने हो भने फलदायक हुने सिर्जनाले बताउनुभयो ।
भाडामा जमिन लिएर, पराल, घाँस किनेर दूध विक्री गर्दा फाइदा कम हुने सिर्जना बताउनुहुन्छ । ‘‘आफ्नै खेतबारीमा पराल, घाँस भएकाले मेरो कमाई राम्रो भएको हो’’ उहाँले भन्नुभयो । तिवारी गाई फार्म दर्ता गरी व्यवसायिक रुपमा दूध विक्री गर्दै आउनुभएको छ । कोराना भाईरसको प्रभावले गरिएको बन्दाबन्दीले गर्दा दुध बिक्री गर्न समस्या पर्न सक्ने जोखिम भएकोले व्यवसायमा लगानी वृद्धि नगरेको उहाँले बताउनुभयो । सहज वातावरण भएपछि पाँच वटा गाई थप गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । सिर्जनालेे एक जना महिलालाई रोजगारी दिनु भएको छ । सरकारले किसानको लागि गरेको लगानी सही सदुपयोग हुन नसकेकोले वास्तविक कृषक मर्कामा परिरहेको उहाँ बताउनुहुन्छ ।
अनुदान लिनको लागि व्यवसाय दर्ता गर्ने र पछि व्यवसाय छाड्ने प्रवृतिको अन्त्य हुनुपर्ने र सरकारी सहयोगको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्नुपर्ने उहाँ सुझाव दिनुहुन्छ । त्यस्तै २० वर्षसम्म व्यवसायिक कृषि पेशा गर्नेलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गर्ने हो भने कृषि पेशाप्रति आर्कषण बढ्नुको साथै देश कृषिमा आत्मनिर्भर हुने सिर्जनाले बताउनुभयो । पेन्सन पाउने कृषकलाई सामजिक सुरक्षा भत्ता समेत दिन नपर्ने हुँदा सरकारको खर्च कटौतीमा समेत योगदान पुग्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?