काठमाडौँ, असार ३ गते । नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल गर्नेगरी आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकारलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भेट गरी परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्न आग्रह गर्नुभयो ।
भेटमा अध्यक्ष मोरले बजेटमा उल्लेखित धेरै विषय तत्काल कार्यान्वयनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजेटमा जस्तै मौद्रिक नीतिमा पनि निजी क्षेत्रका समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभएको परिसङ्घले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मार्फत प्रत्येक निर्णय ७ देखि १५ दिनमा गरिसक्ने व्यवस्था गरेको भन्दै अध्यक्ष मोरले सरकारले पनि प्रत्येक मन्त्रालयका काम यसरी सम्पन्न गर्नेगरी समय तोक्नुपर्ने बताउनुभयो । उहाँले सरकारी निकायका निर्णय प्रक्रिया छिटो र छरितो हुनुपर्ने भन्दै त्यसले सेवा प्रवाहमा सहजता ल्याउने उल्लेख गर्नुभयो ।
सङ्घका कुरा सुनेपछि अर्थमन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षाको रूपमा लिएको बताउनुभयो । उहाँले बजेटमा आएका प्रतिक्रियाले आफू उत्साही भएको र निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयन अघि बढाउने उल्लेख गर्नुभयो ।
उहाँले असारभरीमा तयारीका काम सक्ने र आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको भन्दै त्यसमा सबैको साथ आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले कोरोनाको खोप खरिदमा सरकार अघि बढेको बताउनुभयो । उहाँले अमेरिका, चीन, भारतलगायत देशबाट खोप खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको जानकारी दिनुभयो ।