logo
२०८२ भाद्र २२ आईतवार



‘अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्त्वपूर्ण’

अर्थ |


‘अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्त्वपूर्ण’



गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ८ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान धेरै महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रियामा उहाँले संसारभरकै साना तथा घरेलु उद्यमको अवस्था हेर्दा झन्डै ९९ प्रतिशत नै रहेको र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहने देखिएको बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कले पनि त्यही हिसाबले आफ्नो नीतिगत प्राथमिकता दिँदै आएको र गत सालको मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको स्मरण गर्नुभयो । त्यो नीतिगत प्रयासबाट धेरै हदसम्म उपलब्धि हासिल भएको उहाँले बताउनुभयो ।
कुल कर्जाको १५ प्रतिशत एक करोडभन्दा साना कर्जामा जानुपर्ने व्यवस्था गरी पुनर्कर्जामध्ये पनि ७० प्रतिशत १५ लाखभन्दा सानालाई दिने गरी व्यवस्था गरिएको भन्दै उहाँले त्यसअघि साना उद्योगीले पुनर्कर्जा लिएको इतिहास नै नभएको उल्लेख गर्नुभयो ।
महासङ्घका अध्यक्ष श्याम गिरीले उद्योगीले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिनुभयो । साना उद्योगीको हकमा पुनर्कर्जासम्बन्धी कार्यविधिलाई पुनर्लेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उहाँले पुनर्कर्जा कार्यविधि पुनर्लेखन कार्यमा घरेलु महासङ्घलाई पनि सहभागी गराइनुपर्ने माग गर्नुभयो ।
केही बैङ्कले पुनर्कर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दलाई केलाएर केही बैङ्कका शाखाले साना उद्योगीलाई निरुत्साहित गर्ने गरेको गुनासो गर्दै उहाँले कृषि उपज र प्रशोधनसम्बन्धी उद्योग भनेकोमा धान, चामल र चिउराजन्य उद्योगका लागि पुनर्कर्जाका लागि जाँदा तपाईंहरूको त कार्यविधिमा लेखेकै छैन भन्ने गरेको बताउनुभयो ।
महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको जानकारी अध्यक्ष गिरीले दिनुभयो ।
सो अवसरमा राष्ट्र बैङ्कका तर्फबाट पनि डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र, डा. निलम तिमिल्सिना, प्रवक्ता देवकुमार ढकाललगायत विभिन्न विभागीय प्रमुखको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?