शालिग्राम नेपाल
चितवन, असार ९ गते । कोरोना महामारीका कारण बन्द भएर निरन्तर घाटा लागेपछि चितवनको सौराहाका होटल सञ्चालकले होटल बिक्री गर्न थालेका छन् । बैङ्कको ब्याज, व्यवस्थापन खर्च धान्न नसकेपछि सौराहाका ठूला दुई होटल बिक्री भएका छन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना सङ्क्रमण र त्यसपछि भएको निषेधाज्ञाका कारण पर्यटन क्षेत्र धरासयी भएको जानकारी दिनुभयो । पहिलो कोरोना सङ्क्रमणले थलिएको पर्यटन क्षेत्र दोस्रो लहरले झनै गालेको उहाँको भनाइ छ ।
वाइल्ड लाइफ जङ्गल सफारीका लागि उपयुक्त मानिएको चितवनको सौराहा क्षेत्र अहिले सुनसान रहेको छ । पर्यटक नै नआएपछि करोडौँ लगानी गरेका होटलहरू सञ्चालनमा कठिन भएको छ । बैङ्कको ब्याज, किस्ता तिर्न नसकेपछि भित्रभित्रै होटल बिक्री गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
कृष्ण भट्टराई सञ्चालक रहेको हेलिडे रिसोर्ट बिक्री भई स्वामित्व हस्तान्तरणको सबै प्रक्रिया पुरा भइसकेको छ । कृष्ण भट्टराईले आफन्तलाई नै होटल बेचेको बताउनुभयो ।
केही होटल बिक्रीका लागि तयारी अवस्थामा रहेको, बैना लिइसकेका छन् । हरेक वर्ष नयाँ होटल थपिने सौराहामा एक वर्षयता नयाँ होटल खोल्न व्यवसायी आएका छैनन् भएका होटल सञ्चालनमा कठिन भएको छ ।
बजारका पसल, अन्य क्षेत्रमा केही व्यापार भए पनि पर्यटन क्षेत्र शतप्रतिशत शून्य व्यापार भएको बताउँदै अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, होटल मात्र होइन पर्यटकलाई केन्द्रित गरी पालेको हात्तीसमेत पाल्न नसकेर बिक्री भएका छन् । निजी क्षेत्रका ५८ वटा हात्ती पालेकोमा अहिले ४० वटा मात्र बाँकी रहेको जानकारी दिनुभयो । यही निषेधाज्ञाका बीचमा १८ वटा हात्ती बिक्री गरिसकेको उहाँको भनाइ छ ।
सङ्घका अनुसार पर्यटन वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा आएका होटल र पुराना होटलमा गरी सौराहाको पर्यटन क्षेत्रमा कार्यरत पाँच हजार कर्मचारीले रोजगारी गुमाएका छन् । भट्टराईका अनुसार यहाँका होटलसहित समग्र पर्यटन क्षेत्रमा पाँच हजार पाँच सय जना कर्मचारी कार्यरत रहेकामा अहिले होटलको सरसफाइ र रेखदेखका लागिमात्र केही कर्मचारीमात्र कार्यरत छन् ।
सौराहमा सङ्घमा दर्ता भएका १२० सहित जम्मा १६० वटा पर्यटक लक्षित होटल रहेका छन् । यहाँका होटलमा ३५ अर्बको हाराहारीमा लगानी रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
पर्यटन क्षेत्र अब उकासिन धेरै समय लाग्ने सेभेन स्टार होटलका सञ्चालक माधव दवाडीले बताउनुभयो । ठूलो लगानी गरेर विदेशी पर्यटक केन्द्रित भएका होटलको व्यवसाय थला परेको छ उहाँले भन्नुभयो अब बैङ्कले ब्याजका लागि ताकेता गरेको छ तिर्ने पैसा छैन कसरी चलाउने ।
आगामी आर्थिक वर्षबाट सरकारले होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगको सरह मान्यता दिने भनेकोमा पर्यटन व्यवसायी उत्साही भए पनि कार्यान्वयनमा शङ्का व्यक्त गरेका छन् । सरकारको निर्णयको कार्यान्वयन भएमा उद्योगले पाउने सुविधा होटल तथा पर्यटन क्षेत्रले पनि पाउने हुँदा होटल तथा पर्यटन व्यवसायीलाई धेरै राहत महसुस हुने व्यवसायीको भनाइ छ ।
बजेटमा पुनःकर्जालाई निरन्तरता दिइएको भए पनि यसमा धेरै अन्योलता रहेको र सबैले कर्जा पाउन नसकेको अध्यक्ष भट्टराईको भनाइ छ । यस्तै कृषि र पर्यटन क्षेत्रलाई सरकारलेसँगै जोडेर हेर्ने गरे पनि कृषि सरह सुविधा पर्यटन क्षेत्रले पाउन नसकेको भट्टराईले गुनासो गर्नुभयो ।