दीपकप्रसाद गौतम
वीरगञ्ज, असार ९ गते । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपालका मुख्य नाकामध्ये केहीमा कन्टेनर एक्सरे मेसिन राखेर आयात निर्यात कार्यलाई आधुनिक एवं सहज बनाइने व्यवस्था गरेको छ तर वीरगञ्जको सिर्सियामा रहेको नेपालकै पहिलो सुक्खा बन्दरगाहमा एक दशकभन्दा पहिलेदेखि कन्टेनर एक्सरे मेसिन सञ्चालनमा आउन नसकी भन्सार यार्डमा नै थन्किएर थोत्रिँदै गएको छ ।
२०६१ साल साउन १ देखि सञ्चालनमा आएको सुक्खा बन्दरगाहमा एक दशकभन्दा पहिलेदेखि कन्टेनर एक्सरे मेसिन थन्किएर बसेको हो । सिर्सियास्थित सुक्खा बन्दरगाह विश्व बैङ्कको ऋण सहयोगमा करिब ८२ करोड रुपियाँको लागतमा सन् २००० मा निर्माण सम्पन्न भएको थियो ।
त्यसैबेलादेखि जेनरल इक्युपमेन्ट कर्पोरेसन युएसएबाट निर्मित मोबाइल कन्टेनर इन्सपेक्टन सिस्टम टीएचएससीएएन एम १२१३ एलटी मोडलको कन्टेनर एक्सरे मेसिन ल्याइएको थियो ।
सुरुमा दक्ष प्राविधिक नभएकाले सञ्चालनमा आउन नसकेको बताइए पनि करिब १० वर्ष पहिले चीनका प्राविधिक ल्याएर चलाउन खोज्दा सञ्चालन गर्न नसकेको सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताउनुभयो ।
“स्क्यानर मेसिन प्रयोग गर्ने भिजन भनेको लङ्गटर्म भिजन हो विस्तारै प्रयोगमा आउला” प्रमुख भन्सार अधिकृत खत्रीले भन्नुभयो ।
मान्छेले गर्ने गरेका काममा मेसिन प्रयोग गर्दा मान्छेबाट हुने बदमासी, अनियमितता रोक्न सकिने उहाँ बताउनुहुन्छ । स्क्यानर मेसिन प्रयोग गरेर भन्सार चेकजाँच गर्दा काम छिटो हुने, काम गर्ने क्रममा हुने त्रुटि पनि घट्ने र व्यवस्थित पनि प्रमुख भन्सार अधिकृत खत्रीले दाबी गर्नुभयो ।
सिर्सिया सुक्खा बन्दगाहबाट दैनिक करिब सवा सयदेखि १५० कन्टेनर मुलुकका विभिन्न स्थानमा जाने गरेका छन् भने भारतको कोलकाता र विशाखापत्तनम बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगञ्जको सिर्सिया सुक्खा बन्दगाहको यार्डमा कन्टेनर आउने गरेका छन् ।
भारतलगायत तेस्रो मुलुकबाट कन्टेनरमा राखी वीरगञ्जको सिर्सिया सुक्खा बन्दगाह नाका हँुदै हलुका सवारीसाधन, खाद्यान्न, लत्ताकपडा, मेसिनरी, इलेक्ट्रिकल सामानका साथै धेरै किसिमका औद्योगिक कच्चा पदार्थ भित्रिने गरेको छ ।