logo
२०८२ भाद्र २२ आईतवार



बजेटको सुविधा लिन अर्थमन्त्रीको आग्रह

अर्थ |


बजेटको सुविधा लिन अर्थमन्त्रीको आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ९ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा व्यवस्था भएअनुसारको सुविधा लिन आग्रह गर्नुभएको छ । मङ्गलबार होटल सङ्घ नेपाल (हान)को सुझावपत्र बुझ्दै उहाँले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको हो ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले होटल र पर्यटन क्षेत्रका धेरै माग सम्बोधन गरेकाले त्यसबाट लाभान्वित हुन उहाँको आग्रह थियो । बजेटमार्फत पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको सुविधा उल्लेख गरिएकोले अहिलेको परिस्थितिमा योभन्दा राम्रो बजेट आउन सम्भव नभएको उहाँको धारणा थियो । त्यस्तै उहाँले बजेट कार्यान्वयन हुनेमा ढुक्क हुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
आगामी आवको बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट, प्रभावित होटल, टे«किङलगायतका पर्यटन व्यवसायले तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ । कोभिड–१९ का कारण सञ्चालनमा आउन नसकेको होटललाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गरेका सरकारले निर्धारण गरेको मापदन्ड अनुसार रकम उपलब्ध गराउने व्यवस्था पनि बजेटले गरेको छ ।
कार्यक्रममा हानका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामूलक उद्योगमा राख्नु ठूलो कुरा भएकोले बजेटमा हानका सुझाव समेटिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
हानले सो अवसरमा आगामी आवको मौद्रिक नीतिमार्फत बैङ्क तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको पुनर्कर्जा भए नभएको अनुगमन गर्नुपर्ने, हाल कायम पुनर्कर्जाको रकम थपिनुपर्ने र त्यसको अवधि एक वर्षसम्म कायम गरिनुपर्ने सुझाव दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?