सुरेशकुमार यादव
काठमाडौँ, असार १० गते । निर्बाध रूपमा चल्न दिने भनी सरकारले प्रदान गरेको प्रतीक चिह्न (लोगो) अङ्कित दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई प्रहरीले रोकेको छ । दूध तथा दुग्धजन्य पदार्थ बोक्ने गाडीलाई बन्द, हडताल, निषेधाज्ञालगायत आपत्कालीन समयमा पनि निर्बाध चल्न दिने भनी सरकारले केही दिनदेखि सो लोगो वितरण गर्दै आएको छ ।
अहिले गाडीका लागि जोर बिजोर प्रणाली लागू छ तर लोगो अङ्कित दूध ढुवानी गाडीलाई पनि रोकेको डेरी एसोसिएसन नेपालका महासचिव प्रह्लाद दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले प्रदान गरेको लोगो लगाएर गाडी चलाउँदा कहीँ रोकटोक हुँदैन भन्यो तर जोर बिजोर प्रणाली लागू भएपछि ठाउँठाउँमा लोगो लगाइएका गाडीलाई पनि रोकिएको छ । ”
यो लोगो लगाइएका गाडीलाई नरोक्नु भन्ने निर्देशन ट्राफिक प्रहरीलाई नआएको सडकमा खटिएका ट्राफिक प्रहरीले बताउने गरेको उहाँले जानकारी दिनुभयो । दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सबै गाडीले अहिले लोगो लिएका छैनन्, लिने क्रममा छन् तर जतिवटाले लिएका छन्, तिनलाई पनि बाटोमा रोकिएको उहाँले बताउनुभयो ।
जोर बिजोर प्रणाली अति आवश्यक वस्तुको ढुवानीमा लागू नहुनु पर्ने भए पनि ट्राफिक प्रहरीले जताततै रोकटोक गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले तल्लो तहका प्रहरीले नबुझेर गाडी रोकिएको जानकारी आएको बताउनुभयो । यो लोगोबारे सम्बन्धित निकायमा जानकारी गराइसकेको तर तल्लो तहसम्म त्यसको सर्कुलर नभएर त्यस्तो समस्या भएको हुनसक्ने भन्दै त्यसको पनि चाँडै समाधान हुने उहाँले बताउनुभयो ।