logo
२०८२ भाद्र २२ आईतवार



पेट्रोलियम पदार्थको तस्करी रोक्न एकीकृत योजना बनाइने

अर्थ |


पेट्रोलियम पदार्थको तस्करी रोक्न एकीकृत योजना बनाइने


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १० गते । नेपालबाट भारतमा हुने पेट्रोलियम पदार्थको तस्करी रोक्न नेपाल आयल निगमले एकीकृत योजना बनाउने भएको छ । नेपाल भारत सीमा क्षेत्रमा हाल कायम रहेको पेट्रोल, डिजेलको मूल्यमा नेपालतर्फ सस्तो भएकाले भारततर्फ भइरहेको तस्करी रोक्न एकीकृत योजना तर्जुमा गरिने निगमले जनाएको छ । हाल भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३७ रुपियाँ र डिजेल प्रतिलिटर ४३ रुपियाँ सस्तो रहेको निगमले जनाएको छ ।
खुला सीमा र सीमा क्षेत्रका बासिन्दाको पारिवारिक सम्बन्ध भएकाले पनि तस्करी नियन्त्रण गर्न कठिनाइ भइरहेको स्थानीय प्रशासनको दाबी रहेको पनि निगमले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उद्धृत गर्दै नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिअनुसार प्रजिअ तिमिल्सनाले ‘खुला सीमा र पेट्रोल डिजलको मूल्यमा ठूलो अन्तर भएकाले समस्या हुने गरेको’ निगमलाई बताउनुुभयो ।
स्थानीय प्रशासनले भारततर्फको तस्करी रोक्न एकीकृत योजना बनाउन सुझाएपछि नै निगमले योजना निर्माण प्राथमिकतामा राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । झापामा आइतबार आयोजित अन्तक्र्रियामा पनि सरोकारवालाले सीमामा हुने तस्करी रोक्न जोड दिएपछि निगमले योजना निर्माण गर्ने भएको हो ।
पेट्रोलियम पदार्थ बिक्री वितरणमा गर्नुपर्ने आवश्यक सुधारका कामहरूलाई निगमले प्राथमिकता दिएको उपाध्यायले जनाउनुभएको छ । उहाँका अनुसार तत्काल सुधारका लागि निगमले अन्तरदेशीय सीमाको नजिक निगमको आधिकारिक पेट्रोलियम बिक्रेता नियुक्तिको नयाँ मापदण्ड तय गर्नुपर्ने, पेट्रोलियम पदार्थको बिक्री वितरणलाई अझ प्रविधिमैत्री र पारदर्शी बनाउनुपर्नेछ ।
प्रवक्ता उपाध्यायका अनुसार तराईमा पेट्रोल पम्पको सङ्ख्या बढी भएको गुनासो स्थानीय तहहरूको छ । ती पम्पहरू मर्जर गर्ने, आधुनिकीकरण गर्ने र पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सूचना प्रणालीसँग जोड्ने नीतिको आवश्यकता रहेको सुझाव आएका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?