सुरेशकुमार यादव
काठमाडौँ, असार १४ गते । धानमा आत्मनिर्भर हुन करिब छ लाख मेट्रिक टन धान अपुग रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गत वर्ष २०७६÷७७ को तथ्याङ्कअनुसार उक्त वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो तर धानको माग भने ६२ लाख मेट्रिक टन रह्यो । यस आधारमा धानमा आत्मनिर्भरताका लागि छ लाख मेट्रिक टन धान अपुग भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेले गत वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएकामा आत्मनिर्भर हुनका लागि अझै छ लाख मेट्रिक टन धान अपुग रहेको जानकारी दिनुभयो ।
१८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ को उपलक्ष्यमा कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आइतबार संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेले उक्त जानकारी दिनुभएको हो ।
उहाँका अनुसार नेपालमा खाद्यान्नको उपलब्धता हेर्दा ५६ लाख मेट्रिक टनले पनि खान त पुग्छ तर बास्नादार तथा मसिनो धानको चामल खाने भएकाले केही अपुग भएको हो । नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ । यी सबै नेपाली उत्पादनले पुग्ने गरेको छ तर धानमा केही अपुग भइरहेकाले धानमा आत्मनिर्भर हुन नसकिएको उहाँले बताउनुभयो ।
आत्मनिर्भर हुने तयारीमा कानुन सहयोगी रहेको बताइएको छ । उहाँले भन्नुभयो, “धानमा आत्मनिर्भर हुने भनी पटकपटक घोषणा गरिए पनि ऐन, नीति, नियमका कारण सम्भव भइरहेको थिएन । अहिले भने भूउपयोग नीति बनिसकेको छ । यो नीति कार्यान्वयनमा आउनेबित्तिकै धान उत्पादनमा वृद्धि हुन्छ र चाँडै नै आत्मनिर्भर भएको घोषणा हुन्छ । ” भूउपयोग नीति नभएका कारण कुन कृषियोग्य जमिनमा के गर्ने, के नगर्नेजस्ता समस्या भएकाले सोचेजति उत्पादन नभएको उहाँले दाबी गर्नुभयो ।
कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डितले उपभोक्ताले मागअनुसार धान उत्पादनको प्रयासमा सरकार रहेको बताउनुभयो । नेपालमा बास्नादार र मसिनो धान पर्याप्त रूपमा उत्पादन नहुँदा आयातमा भर पर्नुपरेको बताउँदै उहाँले जनसङ्ख्याको उच्च वृद्धि, खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्नु, उत्पादनशील कृषि जमिनको गैरकृषि क्षेत्रमा उपयोग हुने क्रम बढ्नु, उत्पादनशील श्रम शक्तिको अभाव, सिँचाइ, भण्डारण तथा बजार पूर्वाधार पर्याप्त नहुनु, उच्च उत्पादन लागत आदि कारणले आशातीत रूपमा धान उत्पादन बढ्न नसकेको चर्चा गर्नुभयो ।
नयाँनयाँ जातको धानका लागि प्रयास भइरहेको र त्यसका लागि पहिलो चरणमा २३० वटा स्थानीय तहमा नयाँ जातको बीउ उत्पादनका लागि बीउबिजन आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै उन्नत बीउबाट १५–२० प्रतिशतले उत्पादनमा वृद्धि हुने उहाँले दाबी गर्नुभयो ।
जनसङ्ख्या वृद्धिसँगै धान उत्पादनमा पनि बढिरहेको बताउँदै उहाँले नेपालमा पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिब ५९ प्रतिशत बढेको जानकारी दिनुभयो । नेपालमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो)का रूपमा धान खेती हुने गरिन्छ ।
नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ भने अन्नबालीले ढाकेको कुल क्षेत्रफलको करिब ४३ प्रतिशतमा धान खेती हुने गरेको र अन्नबालीको कुल उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । कृषि विभागका अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २६ प्रतिशत रहेकामा कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानको हिस्सा करिब १५ प्रतिशत छ ।
‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ मूल नारासाथ असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरिने भएको छ । विभागका निमित्त महानिर्देशक पाण्डितले कोभिड–१९ लागि स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्डभित्र रहेर कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो । दुई मिटरको दूरी कायम गरी, मास्क, सेनिटाइजर प्रयोग गरी नार्कको राष्ट्रिय बाल विज्ञान अनुसन्धान केन्द्र खुमलटारको परिसरमा कार्यक्रमको आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।