logo
२०८२ भाद्र २१ शनिवार



कोरोना कहरले सिकायो जीविकोपार्जनमा सहज हुने व्यवसाय

अर्थ |


कोरोना कहरले सिकायो जीविकोपार्जनमा सहज हुने व्यवसाय
फाइल तस्बिर


शेरबहादुर सार्की

बाजुरा, असार १४ गते । बाजुराका अधिकांश युवा पछिल्लो समयमा व्यावसायिक खेतीमा लागेका छन् । कोरोना महामारीका कारण छिमेकी मुलुक भारतको रोजगारीबाट गाउँघर फर्केका युवा कृषिमा जुट्न थालेका हुन् ।
उनीहरू परम्परागत खेतीभन्दा पनि प्याज, लसुन, आलु, काउली, बन्दा, मूला, रायो, खुर्सानी, टमाटरलगायतका नगदे बाली उत्पादनमा लागेका हुन् । कोरोनाका कारण रोजगारी गुमाएर फर्की व्यावसायिक कृषिमा लागिरहेको खप्तड छेडेदह गाउँपालिका–४ का अगुवा कृषक तुलबहादुरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोनाका कारण गाउँका युवा भारतबाट यतिबेला गाउँमै फर्केका छन् । यसरी फर्केर आएका युवाले व्यावसायिक कृषिमा लाग्न चाहेमा स्थानीय सरकारले पनि हौसला र उत्प्रेरणा दिन जरुरी छ । ’’
पछिल्लो समय युवा कृषि क्षेत्रमा लाग्दा गाउँघरमा बाँझो रहेको खेतबारी उर्वर बन्दै गएका छन् । जिल्लाको तल्लो क्षेत्रमा पर्ने खप्तड छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका दिलबहादुर बुढा पनि भारतबाट फर्किएर व्यावसायिक आलु खेतीमा लाग्नुभएको छ ।
चार वर्ष भारतमा बसे पनि कमाइबाट सन्तुष्ट हुन नसकेपछि आफ्नै गाउँघरमा केही गर्ने सोचले स्वदेश फर्किएर टमाटर खेतीमा लागेको उहाँ बताउनुहुन्छ । यही खेतीबाट मासिक ३५ देखि ४० हजार रुपियाँसम्म कमाइ हुँदा निकै सन्तुष्टि मिलेको उहाँको भनाइ छ ।
गाउँपालिकाले सबै वडाका गाउँमा सडक निर्माण गरिदिएपछि गाउँका सबैजसो उत्पादन भएका तरकारीले सजिलै बजार पाउने गरेपछि युवा कृषिप्रति धेरै आकर्षित भएका हुन् । कोरोना सुरु हुनुअघि भारतमा चौकीदारी गर्दै आउनुभएका बुढा अहिले फर्किएर करिब सात रोपनी क्षेत्रफलमा आलु खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “रोजगारीका लागि भौँतारिनुभन्दा आफ्नो ठाउँमा बसेर नयाँ तरिकाले खेती गर्नु धेरै राम्रो रहेछ । ”
त्यस्तै भारतमा लामो समयसम्म रोजगारीमा गर्दै आउनुभएका बडीमालिका नगरपालिका–६, बूढाकोर्धका दल बडुवाल पनि गाउँ फर्केर आलु खेतीमा लाग्नुभएको छ ।
१६ वर्ष छिमेकी देश भारतको विभिन्न ठाउँमा बिताउनुभएका बडुवालले अहिले गाउँमै कृषि क्षेत्रमा केही गर्ने लक्ष्यका साथ नेपाल आएर आलु खेतीमा लागेको बताउनुभयो । बाख्रा तथा कुखुरापालन गर्ने सोचमा रहनुभएका बडुवाल भन्नुहुन्छ, “स्थानीय सरकारले कृषि क्षेत्रका बीमालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्छ । सरल र सुलभ रूपमा ऋण दिने व्यवस्था गरिदिनुपर्छ । ”
कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका अधिकांश बेरोजगार युवालाई कृषिमा लाग्न उत्प्रेरित गर्न आर्थिक सहयोग गर्दै आएको छ । बाजुरामा कृषि उत्पादनका लागि राम्रो जमिन भएकाले यहाँका अगुवा कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द बडुवाल सिजापतीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?