मनाेजरत्न शाही
काठमाडौं, असार १५ गते । प्रत्येक वर्ष असार १५ गते नेपालभर राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । यसैगरी यो वर्ष अर्थात् असार १५ गते पनि कोरोनाको संक्रमणलाई ख्याल गर्दै धान दिवस मनाइएको छ ।
नेपालमा राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।साथै, आजको दिन दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखि नै छ ।
यसैगरी, कृषि विभाग र नार्कमा गरी ३७ वर्ष सेवा दिनुभएका वरिष्ठ धानवाली विज्ञ भोलामानसिंह बस्नेत धान मानिसको लागि जन्मदेखि मृत्युपछि सम्म आवश्यक पर्ने भएकाले यसको धेरै महत्व रहेको चर्चा गर्नुहुँदै नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढी छ । धान उत्पादन बढी भयो भने देशको आर्थिक वृद्विदर समेत बढ्ने बताउनुभयो ।
नेपालको मुख्य खाना चामल हो । पहिले वि.सं २०४८ साल अघि नेपालको धान बाहिर निर्यात हुने गरेका भए तापनि अहिले आयात गर्नुपर्ने अवस्था आएकोमा विडम्वना भएको वरिष्ठ धान विज्ञ बस्नेत बताउनुहुन्छ ।
एसियाली मुलुकमा ९० प्रतिशत धान खपत हुनेगर्छ । नेपालमा आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख ७३ हेक्टर क्षेत्रमा धान उत्पादन भएको उहाँ बताउनुहुन्छ । धान उत्पान बढाउन वीउदेखि सिचाइ आवश्यक पर्छ । यसैगरी, किसानको लागि चाहिने कृषि विज्ञको समेत सल्लाहसुझाव भएको अवस्थामा नेपाललाई धानमा आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ छ ।