logo
२०८२ भाद्र २१ शनिवार



ड्रागन फलको व्यावसायिक उत्पादन

अर्थ |


ड्रागन फलको व्यावसायिक उत्पादन


शिवकुमार काशी

हेटौँडा, असार १८ गते । आजभोलि अगुवा किसान हरिशरण अर्याललाई ड्रागन फल टिप्न भ्याइनभ्याइ छ । ड्रागन फलबारे बुझ्न, चाख्न र हेर्न आउनेलाई सम्झाइबुझाइ गर्दैमा उहाँको दिन जान्छ ।
व्यावसायिक कृषि फार्म प्रालि र जागरुक कृषक समूहले १८ महिनाअघि मकवानपुरको मनहरी गाउँपालिका–७, रमौलीमा ड्रागन फलको व्यावसायिक खेती सुरु गरेको थियो । बिरुवा रोपेको तीन वर्षमा फल्ने लक्ष्यसाथ सुरु भएको ड्रागन फलले सात महिनामै फल दिन थालेपछि उत्साहित हुनुभएका व्यावसायिक कृषि फार्म प्रालिका सञ्चालक एवं अगुवा कृषक अर्याल भन्नुहुन्छ, “अहिले १८ महिने बिरुवाले दैनिक १५/२० किलो उत्पादनदिइरहेको छ । ”
अर्यालले दुई स्थानमा दुई बिघा क्षेत्रमा ड्रागन फलको खेती गर्नुभएको छ । अहिले दैनिकजसो ड्रागन फल उत्पादन भइरहेको छ । रातो रङको ड्रागन फल प्रतिकिलो छ सय रुपियाँमा फार्मबाटै बिक्री भइरहेको अर्याल बताउनुहुन्छ ।
चितवन, हेटौँडा, बुटवललगायतका सहरबाट ड्रागन फलको माग भइरहेको उहाँले बताउनुभयो । “गत वर्षको उत्पादन हारालुछ नै भएको थियो,” अर्यालले भन्नुभयो, “अर्काे वर्षदेखि उत्पादन परिमाण बढ्दै जानेछ । ” अहिले ड्रागन फल हेर्न फार्ममा आउनेरूले नै फार्मबाट फल किनेर लगिरहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारबाट मनहरी गाउँपालिकामार्फत कम्पाउन्ड निर्माणका अनुदान सहयोग प्राप्त भएको र व्यावसायिक रूपमा स्रोत केन्द्र निर्माण गरी अघि बढ्नका लागि सरकारका प्रतिनिधिहरूले सुझाव दिएको अर्याल बताउनुहुन्छ । अहिलेसम्म ड्रागन खेतीमा ६० लाखभन्दा बढी लगानी भइसकेकोे छ । फार्ममै नर्सरी स्थापना गरी ड्रागन फलको बिरुवासमेत बिक्री सुरु गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?