logo
२०८२ भाद्र २१ शनिवार

   नेपाल–भारत–चीन जोड्ने सुरूङ मार्ग   



निजी क्षेत्रबाट सुटुक्क शिलान्यास !

अर्थ |


निजी क्षेत्रबाट सुटुक्क शिलान्यास !


कैलाश लामा

चरीकोट (दोलखा), असार २० गते । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा योजना पारेर बजेट विनियोजन गरेको दुई दिनपछि उक्त आयोजनामा निजी क्षेत्रले शिलान्यास गरेको छ ।
भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजनसहित सङ्घीय सरकारले गत जेठ १५ गते ल्याएकामा जेठ १७ गते नै एमभी दुगड ग्रुपले सुरुङ निर्माण गर्ने भन्दै सुरुङ मार्गको शिलान्यास गरेको छ ।
लामाबगर फलाक नाका नेपाल–भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो । नौ सय मिटर सुरुङसहितको सडक बनाउन पछिल्लो १० वर्षदेखि यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरूले पहल गरिरहेका छन् ।
त्यसैअनुरूप सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा लामाबगर सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धतासहित बहुवर्षीय ठेक्का आह्वान गर्न २५ करोड रुपियाँ विनियोजन गरेको छ ।
बजेट सार्वजनिक भएको दुई दिनपछि बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्कामार्फत गाउँपालिकाको वडा नं. १ लामाबगरमा शिलान्यास गरेपछि सुरुङ मार्ग निर्माण कार्य अन्योलमा परेको छ ।
तर अध्यक्ष खड्काले भने आफूलाई दुगड समूहका जिम्मेवार व्यक्तिले नै फोन गरेर सुरुङ निर्माण गर्ने र शिलान्यास गर्नुप¥यो भनेपछि कार्यक्रममा सहभागी भएको बताउनुभयो । उहाँले कुनै पनि जालझेलभन्दा पनि बिगु गाउँपालिका र जिल्लावासीको समृद्धिका निम्ति सुरुङ मार्ग निर्माण महŒवपूर्ण रहेकाले सो काममा सहभागी भएको बताउनुभयो ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुङ मार्ग निर्माणको काम सरकारबाटै सुरु गर्न थालेको अवस्थामा दुगड ग्रुपको नाटकीय गतिविधिले सुरुङ मार्ग निर्माणमा अवरोध पुग्ने बताउनुभयो ।
लप्चेस्थित १६० मेगावाट जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको एमभी दुगड ग्रुपले सुरुङ मार्ग निर्माण हुने स्थानसम्म सडक मार्गसमेत खुलाउन नसकिरहेको भन्दै उहाँले सुरुङ मार्ग नै बनाउँछु भन्ने कुरा सुन्दा आश्चर्यचकित भएको बताउनुभयो ।
लप्चेलगायतका क्षेत्रमा निर्माण हुन लागेको जलविद्युत् आयोजनाले विगतदेखि नै सुरुङ मार्ग निर्माणका लागि सरकारसँग प्रस्ताव गरिरहेका थिए । सरकारकै लगानीमा सुरुङ मार्ग बन्ने भनेपछि दुगड ग्रुपले अवरोध गर्न खोजेको उहाँको बुझाइ छ ।
उहाँले थप्नुभयो, “दुगड समूहले कि सुरुङ मार्गको काम सरकारमार्फत आफैँले हत्याउन खोजिरहेको छ कि सरकारको सुरुङ मार्ग बनाउने काम विफल बनाई वर्षौंसम्म हाइड्रोपावर नबनाई लाइसेन्स होल्ड गर्ने काम गर्न खोजिरहेको छ । ”
सडक विभागले अन्तर्राष्ट्रियस्तरको राजमार्गको नौ सय मिटर सुरुङ मार्ग बनाउन दुई अर्ब ४६ करोड रुपियाँ लाग्ने अनुमानित प्रतिवेदन तयार गरेको छ ।
सुरुङ मार्ग बनाउन कोही कसैलाई अनुमति नदिएको सडक डिभिजन चरीकोटका प्रमुख विजयकुमार महतोले बताउनुभयो । “मैले विभागको सम्बन्धित शाखामा सोधपुछ गर्दा हालसम्म कोही कसैलाई पनि सुरुङ बनाउने अनुमति नदिएको भन्ने सूचना पाएको छु,” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सुरुङ बनाउनेजस्तो जोखिमको काम जो कोहीले बनाउँछु भन्दैमा बन्ने कुरा होइन । यसका लागि उपयुक्त निर्माण कम्पनी छनोट गरेर उसैमार्फत काम गराउनुपर्छ । जसले पायो उसले सुरुङ खन्छु भनेर सुरुङ बन्ने होइन । ”
हाल उक्त क्षेत्रमा दुगड समूहले सडक मार्ग खुलाउन धेरै पटक ब्लास्टिङ गरे पनि सुरुङ खन्ने काम भएको छैन । केही थान स्काभेटर हेलिकप्टरबाट लामाबगर पारि झारेर बाटो खन्ने कामबाहेक अरू हुन नसकेको उहाँले बताउनुभयो ।
सुरुङ मार्ग ४५६ मेगावाटको राष्ट्रिय गौरवको तामाकोसी बाँध क्षेत्रको ठीकमाथि निर्माण गर्न लागिएकाले पनि सावधानी र दक्ष जनशक्तिबिना उक्त कार्य सम्भव नहुने बताइन्छ ।
तिब्बतको सिगात्से सहरबाट तातोपानी र केरुङ पुग्नुभन्दा लामाबगर पुग्न करिब ८० किलोमिटरभन्दा कम दूरी पर्छ । तातोपानी र केरुङबाट काठमाडौँ पुग्नु र लामाबगरबाट काठमाडौँ पुग्नु उस्तैउस्तै दूरी पर्न आउने हुनाले यो नाकालाई सरकारले प्राथमिकतामा राखेको छ ।
भूगर्भविद्को अध्ययनअनुसार केरुङ र तातोपानीको तुलनामा लामाबगरको भौगोलिक बनावट सुरक्षित छ ।
सडक विभागका अनुसार दोलखाको सदरमुकाम चरीकोटबाट सिँगटी हुँदै लामाबगर उपत्यकासम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले करिब ६८ किलोमिटर फराकिलो सडक बनाइसकेको छ । लामाबगरबाट तिब्बतको फलाक पुग्न करिब २१ किलोमिटर सडक खन्नुपर्छ ।
लामाबगरबाट दोलखा सदरमुकाम चरीकोटदेखि पुष्पलाल मार्ग हुँदै रामेछाप सदरमुकाम मन्थली निस्केर सिन्धुलीको खुर्कोटमा पुगेपछि बीपी राजमार्ग जोड्ने सडक निर्माण
भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?