लेखनाथ समाचारदाता
पोखरा, असार २१ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषि उपज बिक्रीका लागि समर्थन मूल्य तोकी बिक्री हुन नसकेको कृषिजन्य उत्पादन प्रदेशले खरिद गर्ने बताउनुभएको छ । सिलिङ्गे कृषि उत्पादक सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि औजार तथा सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले यो योजना कार्यान्वयनका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो ।
उहाँले सहकारी संस्थाको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा संस्थागत क्षमता विकासलाई प्रदेश सरकारले प्राथमिकतमा राखिएको बताउनुभयो । उहाँले बाँझो तथा खेतीयोग्य जमिनको चक्लाबन्दी गरी सहकारी, सामूहिक, करार तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने योजना सरकारको रहेको पनि उल्लेख गर्नुभयो ।
उक्त अवसरमा हाते ट्याक्टर, डिजिटल तराजु, सिँचाइ पाइप, हजारी, थोपा सिँचाइका लागि सामग्री किसानलाई हस्तान्तरण गरिएको छ । करिब ४७ लाख बराबरका सामान किसानलाई प्रदान गरिएको सहकारी अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले बताउनुभयो ।