हुम्ला समाचारदाता
हुम्ला, असार २३ गते । आर्थिक वर्ष सकिन लाग्दा हुम्लाका बैङ्कहरूमा सेवाग्राहीको भीड बढेको छ । राजस्व दाखिला गर्ने र चेक सटही गर्नेले भीड बढाएको हो ।
अदानचुली गाउँपालिका–३ का मक्क सुनारले सोमबार बिहान १० बजेदेखि बैङ्कमा चेक साट्न लाइनमा बस्दा पनि पालो पाउन नसकेको बताउनुभयो । उहाँले बैङ्कमा कामको चाप बढी हुनु र सम्बन्धित कार्यालयबाट निकासा कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाए पनि त्यताबाट बैङ्कमा ढिलो आउँदा भुक्तानीमा पनि समस्या भएको उल्लेख गर्नुभयो । उहाँले दुई दिन लगाएर डेढ लाखको चेक साटेको बताउनुभयो ।
बैङ्कमा बिहानैबाट भुक्तानीका लागि सेवाग्राहीले लाइनमा बस्नुपर्ने अवस्था रहेको र त्यो पनि त्यसै दिन भुक्तानी हुने नहुने निश्चित हुने गरेको छैन । कतिपय सेवाग्राही लाइनमा बसेर फिर्ता हुनुपर्ने अवस्था छ ।
अर्का सेवाग्राही निमा लामाले पाँच घण्टा लाइनमा बसेर ३० हजारको भुक्तानी लिएको बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैङ्कका सहायक प्रबन्धक मानबहादुर शाहीले अन्य बेलाभन्दा यतिबेला बैङ्कमा भुक्तानी लिनको चाप बढेको बताउनुभयो । बैङ्कले विकटको ठाउँमा पनि दैनिक छ सयसम्म चेकहरू भुक्तानी गर्नुपरिरहेको बताउँदै दैनिक तीन करोड भुक्तानी दिएको उल्लेख गर्नुभयो । भुक्तानीका लागि सेवाग्राहीहरू लामो समय लाइनमा बस्दा पनि समयमै दिन नसकिएको उहाँको भनाइ छ ।
कामको चाप बढेपछि बैङ्कका कर्मचारी बिहान ८ बजेदेखि बेलुका आठ बजेसम्म काम गरिरहेका छन् । सरकारी कारोवारमा प्रत्येक भौचर राजस्व छुट्टै जम्मा गर्नुपर्ने भएका कारण पनि बैङ्कमा कामको चाप बढेको हो । हाल बैङ्कमा १९ करोडसम्म मात्र मौज्दात रहेको र धेरै ठूला कार्यालय र आयोजनाको भुक्तानी दिन बाँकी रहेका कारण पैसाको अभाव हुन सक्ने बैङ्कले जनाएको छ । सदरमुकाममा रहेका सिटिजन्स, साङ्ग्रिला र कृषि विकास बैङ्कले पनि सेवाग्राहीको चाप बढेको जनाएका छन् ।