हरि कोइराला
उर्लाबारी,असार २५ गते । थाइल्याण्डमा एक्वाकल्चर (माछा पालन) अध्ययन गरेर नेपाल फर्किएका उर्लाबारी–७ का ३० वर्षीय प्रतीक खड्गी दिनभर माछासँगै रमाउन हुन्छ ।
उर्लाबारी बजारबाट सात किलोमिटर उत्तरमा प्रतीककको पुख्र्यौली घर र जमिन छ । त्यही धान खेतलाई मासेर प्रतीकले अहिले कुमोरी एग्रो फर्म सञ्चालन गरिरहनुभएको छ । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिए पनि प्रतीकले मत्स्यपालन ब्यवसायलाई रोज्नुभएको छ ।
२०७६ सालमा सुरु गर्नुभएको ब्यवसायमा एक करोड २५ लाख रुपियाँ लगानी भइसकेको छ । तर,ब्यावसायबाट अझै कमाई सुरु भएको छैन् । मत्स्यपालनसँगै बङ्गुर, हाँस, कुखुरा, टर्की,तित्रा र कडकनाथको पालन गरिरहनुभएका खड्गी मासुका लागि भन्दा पनि भुरा र चल्ला उत्पादनमा जोड दिइरहन भएको छ ।
उहाँले भन्नुभयो –२०७६ साउनमा सुरु भएको ब्यावसाय झण्डै आठ महिना संरचना निर्माणमा नै बित्यो । तीन बिघा पाँच कट्ठा जमिनलाई जस्तापाताले घेरेर उहाँले त्यसै भित्र एक बिघा क्षेत्रफलमा ३ वटा माछापोखरी निर्माण गर्नुभएको छ । त्यस्तै वायोफ्लक प्रविधिबाट माछापालन गर्न तीन वटा पोखरी निर्माण गर्नु भएको छ । माछाका भुरा उत्पादन गर्न अलग्गै पोखरी निर्माण गर्नु भएको छ । सबै काम प्रारम्भिक चरणमा छन् । दुई वर्षको बन्दाबन्दीले गर्दा ८ महिना कुनै काम गर्न सकिएन । खड्गीले भन्नुभयो – माछामा मात्रै केन्द्रित हुँदा ब्यावासाय सङ्कटमा पर्छ भन्ने डर लाग्यो, त्यसैले बङ्गुर, हाँस, कुखुरा, टर्की, तित्रा र कडकनाथ समेत पाल्न थालेको हुँ । खड्गीका अनुसार फर्ममा अहिले ३० माउ बङ्गुर र ६० वटा बुचा–बुची छन् । १५ वटा बाख्रा, खसी, २ माउ गाई , ३ वटा टर्की,२५ वटा कडकनाथ,४० वटा स्थानीय जातका कुखुरा र ४० वटा हाँस छन् ।
फर्मलाई अझ बिस्तार गर्ने योजना रहेकोले हाल मासु प्रयोजनका लागि उहाँले केही पनि बिक्री गर्नुभएको छैन । अबको एक वर्षमा पंक्षी र बङ्गुरको सङ्ख्या दोब्बर बनाउने योजना छ । थोरै परिणाममा काम गर्दा लगानी नउठ्ने भएकोले फर्म विस्तार गर्न लागेको खड्गीले बताउनुभयो ।
शहरमा वातानुकूलित घर छ । शहरको प्रतिष्ठित ब्यापारी घरानामा जन्मिए पनि प्रतीक गाउँमै रमाउनुहुन्छ । माछाका विषयमा नयाँ नयाँ खोज गर्नुहुन्छ । खड्गीले फर्म वरिपरि ठाउँ ठाउँमा क्यामरा जडान गर्न भएको छ । कुनै कारणले फर्म छोडेर बाहिर जानुपर्दा पनि उहाँ मोवाइलबाटै फर्मको प्रत्यक्ष निगरानी गर्न सक्नुहुन्छ । प्रतीकले भन्नुभयो – सवा करोड पुँजी लगानी भएको व्यवसायलाई सामान्य काम गर्ने मजदुरको भरमा छोड्न मिल्दैन । पाँच जनाले रोजगार पाइरहेको फर्मले आगामी एक वर्षभित्र १५ जनालाई रोजगार दिने लक्ष्य राखेको छ । कुनै दैवी विपत्ति लागेन भने आगामी माघ फागुनदेखि मासिक तीन लाख रुपियाँ कमाइ गर्ने लक्ष्य हो,खड्गीले भन्नुभयो ।