logo
२०८२ भाद्र २१ शनिवार



किसानलाई कृषि कर्जा कार्ड

अर्थ |


किसानलाई कृषि कर्जा कार्ड


मकवानपुर समाचारदाता

हेटौँडा, असार २७ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानलाई कृषि कर्जा कार्ड प्रदान गर्न सुरु गरिएको छ । गाउँपालिका कार्यालयको सहजीकरणमा गाउँपालिकाभित्रका साना तथा सीमान्तकृत किसान पहिचान गरी ऋण प्रवाह गर्न कृषि कर्जा कार्ड प्रदान गर्न सुरु गरिएको हो ।
साना तथा सीमान्तकृत किसानमा वित्तीय पहुँच वृद्धि गर्ने उद्देश्यसहित चालू आर्थिक वर्ष २०७७/७८ मा २५ जना किसानलाई कृषि कर्जा कार्ड वितरण गरिएको छ ।
गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले चार वर्षमा आठ सय जना कृषकलाई बिनाधितो प्रतिकिसान दुई लाख रुपियाँका दरले कृषि तथा पशुपालनका लागि ऋण प्रवाह गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
उहाँले तरकारी खेती, बङ्गुरपालन, गाई–बाख्रापालनलगायत कामका लागि सहुलियत दरमा ऋण प्रदान गर्ने योजना रहेको सुनाउँदै नेपाल बङ्गलादेश बैङ्क लि., आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौताबमोजिम किसानलाई कृषि कर्जा कार्ड वितरण गरिएको बताउनुभयो ।
उहाँका अनुसार यो पटक मकवानपुरगढी गाउँपालिका–३ स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.मा आबद्ध किसानलाई गाईपालनका लागि ऋण प्रदान गरिएको हो । किसान कर्जा कार्ड प्राप्त भएसँगै किसानको खातामा दुई लाख रुपियाँ जम्मा भएको छ । कर्जाका लागि चार सय जनाको आवेदन आइसकेको र थप ५० जनाको कर्जाका लागि बैङ्कमा कागजात पेस भइसकेको छ ।
सङ्घीय सरकारले प्रदान गर्ने कृषि ऋणमा कृषि कर्जा कार्ड प्राप्त गरेका किसानले ब्याजमा अनुदान पाउनेछन् । हाल कृषि कर्जा ८ प्रतिशत ब्याज रहेकामा विभिन्न शुल्कसहित १० प्रतिशत हुन जानेमा कृषि कर्जा कार्ड प्राप्त गरेका किसान महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत ब्याज अनुदान प्राप्त गर्ने चौधरीले बताउनुभयो ।
कर्जा कार्ड प्राप्त गरेका किसानले मासिक किस्ताबापत तीन हजार दुई सय रुपियाँ कम्तीमा बुझाउनुपर्ने हुन्छ । कर्जा चार वर्ष अवधिको रहेको छ । गाउँपालिकाले किसान कर्जा कार्डका लागि किसान छनोटलगायतका कार्यमा सहजीकरण गर्ने, सहकारी
संस्थाले अनुगमन, किस्ता सङ्कलनमा सहजीकरणलगायतका कार्य गर्नेछ ।
सहजीकरणबापत सहकारीलाई अनुदान दिने व्यवस्था गरिएको भन्दै उहाँले आठ जना महिला र १७ जना पुरुष कृषकलाई किसान कार्डमार्फत प्रतिकिसान दुई लाख रुपियाँका दरले बिनाधितो सहुलियत ब्याजदरको कृषि कर्जा उपलब्ध गराइएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?