logo
२०८० चैत्र १६ शुक्रवार



अवैध मोबाइल अब निस्तेज हुने

पुराना मोबाइललाई असर नगर्ने विदेशबाट ल्याए दर्ता गर्नुपर्ने नेपालभित्रै खरिद गरेका ‘ढुक्क’

अर्थ |


अवैध मोबाइल अब निस्तेज हुने


विश्वास रेग्मी

काठमाडौँ, असार २७ गते । कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि सफ्टवेयर जडान गरिसकेको छ । साउन १ देखि प्रारम्भिक रूपमै भए पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।
करिब पाँच वर्षको प्रयत्नपछि मोबाइल संयन्त्र व्यवस्थापन प्रणाली (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को परीक्षणको प्रयोगमा प्राधिकरण जुटेको छ । यद्यपि यसका लागि आवश्यक हार्डवेयर नेपाल आइनसकेकाले यसको पूर्ण कार्यान्वयन भने अझै केही महिना हुने छैन । प्राधिकरणका अनुसार साउन १ पछि हाल जडान गरिएको एमडीएमएसको सफ्टवेयरले नेपालमा अहिलेसम्म प्रयोग भइरहेका वैध र अवैध मोबाइल चिन्नेछ । सफ्टवेयरले वैध मोबाइललाई श्वेत सूची (ह्वाइट लिस्ट) र अवैधलाई कालोसूची (ब्ल्याक लिस्ट)मा राख्नेछ ।
साउन १ अघि प्रयोगमा रहेका र कालोसूचीमा परेका मोबाइललाई भने ह्वाइट लिस्टमा रूपान्तरण गरिने अध्यक्ष खनालले जानकारी दिनुभयो । “सर्वसाधारणले अहिलेसम्म प्रयोग गरिरहेका मोबाइलमा कुनै बन्देज लगाउने प्राधिकरणको मनसाय छैन,” उहाँले भन्नुभयो, “तर साउन १ पछि नयाँ प्रयोगमा आउने अवैध मोबाइल भने यो प्रणालीले रोक लगाउन सक्नेछ । ”
भन्सार छलेर भित्रिएका अवैध मोबाइलका कारण सरकारले बर्सेनि ठूलो राजस्व गुमाउनु परेको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयसमेतको निर्देशनमा एमडीएमएस प्रणाली स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । सोहीअनुसार प्राधिकरणले ७८ करोड रुपियाँमा मलेसियाको न्युमेरा, भारतको ओएसआई डिजिटल तथा सिङ्गापुरको नमस्ते ग्लोबलको संयुक्त उपक्रम (जेभी)लाई एमडीएमएस विकास, जडान तथा सञ्चालनका लागि जिम्मा दिएको थियो ।
उक्त जेभीले हालसम्म सफ्टवेयर मात्र उपलब्ध गराएको छ । सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र मातहतमा रहेको सरकारको एकीकृत डेटा सेन्टर (जीआइडीसी)को सर्भरमा उक्त सफ्टवेयर जोडिएको छ । हार्डवेयर आयात गर्न अझै तीन महिना लाग्ने प्राधिकरणको अनुमान छ । हार्डवेयर प्राधिकरणको चाबहिलस्थित जग्गामा राखिनेछ ।

यसरी गर्छ काम
एमडीएमएस प्रयोगमा रहेका मोबाइल चिन्ने प्रणाली हो । विश्वभरका मोबाइल सेवा प्रदायकको हितमा काम गर्ने जीएसएमएमा दर्ता रहेका मोबाइलको सूचीसम्म यसले पहुँच राख्छ । साउन १ देखि नेपालमा राखिएको एमडीएमएसको सफ्टवेयरलाई जीएसएमएको त्यही प्रणालीमा ‘लिङ्क’ गराइनेछ । जसले नेपालमा प्रयोग भएका मोबाइल विश्व बजारमा दर्ता भए नभएको पत्ता लगाउन सक्छ । त्यसरी दर्ता नभएका मोबाइललाई एमडीएमएसले कालोसूचीमा राख्नेछ । एमडीएमएसले पहिचान गरेका मोबाइलहरूको सूची नेपालका दूरसञ्चार सेवा प्रदायकसँग पनि ‘लिङ्क’ हुनेछ । जुन हरेक दिन अद्यावधिक भइरहन्छ ।
त्यस्तै एमडीएमएसमा नेपालको भन्सार विभागलाई समेत पहुँच दिइनेछ । यसरी सेवा प्रदायक र भन्सारले एमडीएमएसमा पहुँच राखेपछि उक्त प्रणालीले वर्गीकृत गरेको सूचीअनुसारको मोबाइलबारे जानकारी पाउनेछन् । भविष्यमा एमडीएमएसले कालोसूचीमा रहेका मोबाइललाई नेपालमा प्रयोग गर्न नमिल्ने बनाउन यसरी सेवा प्रदायकहरूलाई उक्त प्रणालीमा जोडिएको हो । एमडीएमएसको सञ्चालक र व्यवस्थापकका रूपमा प्राधिकरणको निर्देशनसरह सेवा प्रदायकले कालोसूचीमा रहेका मोबाइल बन्द गर्नुपर्ने हुन्छ ।

बन्द हुन्छन् मोबाइल ?
तपाईंले कर तिरेरै मोबाइल खरिद गर्नुभएको छ भने हुँदैनन् । साउन १ पछि कर नतिरी सस्तोमा मोबाइल पाएको भन्दैमा त्यस्तो मोबाइल खरिद गर्नुभयो भने त्यो प्रयोग गर्न नमिल्ने हुनसक्छ । त्यस्तै कतै मोबाइल भेट्टाएमा त्यसलाई आफैँ प्रयोग गर्न थाल्नुभयो भने पनि त्यो मोबाइल बन्द हुने सम्भावना रहन्छ । नक्कल गरी बनाइएका मोबाइल प्रयोग गर्नुभएको छ भने यो प्रणालीले दूरसञ्चारका लागि प्रयोग गर्न नसक्ने बनाउँछ ।

विदेशबाट ल्याइएका मोबाइल के हुन्छन् ?
विदेशमा रहेका नेपालीले उपहारस्वरूप नेपालमा मोबाइल ल्याउने प्रचलन बढ्दो छ । यसरी व्यक्ति प्रयोजनका लागि बर्सेनि हजारौँ मोबाइल भित्रिने गर्छन् । सीमा क्षेत्रस्थित भारत बजारबाट समेत सहजै मोबाइल खरिद गरेर ल्याउने प्रचलन छ । यस्तोमा साउन १ पछि विदेशबाट ल्याएका मोबाइल बन्द हुन्छन् डर पनि देखिन्छ । डर मान्नुपर्दैन, त्यो अफवाह मात्र हो ।
त्यसरी उपहारस्वरूप प्राप्त मोबाइल र भारतबाट खरिद गरी ल्याइएका मोबाइल नेपालमा दर्ता भने गर्नुपर्छ । एक व्यक्तिले आफूले प्रयोग गरेकोबाहेक थप एउटा मात्र मोबाइल भन्सार नतिरी ल्याउन सक्ने सुविधा रहेकाले त्यसभन्दा बढी मोबाइल साथमा ल्याएमा भने भन्सार तिर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा मोबाइल खरिद बिक्री हुने भएकाले त्यस्तो अवस्थामा पनि भन्सारकै कानुन लागू हुने प्राधिकरण अध्यक्ष खनालले बताउनुभयो ।

कस्ता मोबाइल दर्ता गर्ने ?
नेपालले स्थापना गर्न लागेको एमडीएमएस प्रणालीसँग कानुनअनुसार नेपाल भित्रिएका मोबाइलको मात्र सूची दर्ता भएको हुन्छ । जुन नेपालस्थित आधिकारिक बिक्रेताले ग्राहकलाई बिक्री गर्नुपूर्व नै दर्ता गराइसकेका हुन्छन् ।
एमडीएमएसले यसरी दर्ता भइसकेका मोबाइलको पहिचान गर्छ र त्यसलाई वैध मानेर ह्वाइट लिस्टमा राख्छ तर दर्ता नभई प्रयोगमा रहेका मोबाइल भने एमडीएमएसको कालोसूचीमा रहन्छन् । विदेशबाट ल्याइएका मोबाइल पहिले नै दर्ता नहुने भएकाले त्यस्ता मोबाइलको भने अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । प्राधिकरणले तत्कालका लागि अनलाइनबाटै गर्नसक्ने सुविधा दिएको छ । जसका लागि भष्च।लतब।नयख।लउ मा गएर दर्ता गर्नुपर्ने हुन्छ । यो अहिले निःशुल्क छ ।
नेपालमा भ्याट बिल तिरेर खरिद गरिएका मोबाइल आफैँले दर्ता गर्नुपर्दैन । भविष्यमा यस्ता मोबाइल बन्द हुने डर पनि रहँदैन । विदेशबाट ल्याइएका मोबाइल भने दर्ता गर्नु अनिवार्य छ । अन्यथा यस्ता मोबाइललाई प्रणालीले पहिचान गर्न नसकेमा कालोसूचीमा राख्न सक्नेछ ।

प्रयोगकर्तालाई के फाइदा ?
एमडीएमएस प्रणालीले नेपालमा अवैध मोबाइलको प्रयोगलाई निरुत्साहित गर्दै सरकारको राजस्व मात्र बढाउँदैन, त्योभन्दा महŒवपूर्ण यसले प्रयोगकर्ताकै सुरक्षा गर्छ । व्यक्तिगत प्रयोगमा रहेका मोबाइलमा महŒवपूर्ण डेटा हुनसक्छन् । मोबाइल बैङ्किङ अथवा वालेटसँग मोबाइल जोडिएको हुन सक्छ ।
सरकारले पछिल्लो समय ल्याएको नागरिक एप प्रयोग गर्नुभएको छ भने आफूसँग सम्बन्धित सम्पूर्ण सूचना तथा विवरण त्यसमै रहेको हुन्छ । मोबाइल व्यक्तिगत विवरणको भण्डार पनि रहेकाले यो हराएको अवस्थामा प्रयोगकर्तालाई निकै ठूलो समस्या हुनसक्छ । यो परिस्थितिमा हराएका मोबाइलको पहिचान गर्ने र त्यस्तो मोबाइललाई प्रयोग गरेर भविष्यमा दूरसञ्चारका लागि प्रयोग गर्न नमिल्ने बनाउन एमडीएमएसले सहयोग गर्छ ।
मोबाइल हराएको अवस्थामा निवेदन दिएर त्यस्तो मोबाइल ब्लक गराउन सकिन्छ । अहिले मोबाइल हराएको अवस्थामा सिमकार्ड मात्र ब्लक हुने भए पनि एमडीएमएसले हराएको मोबाइल नै भविष्यमा अर्को सिमकार्ड राखेर प्रयोग गर्न नसकिने बनाउनेछ । त्यस्तै अपराधमा प्रयोग भएका मोबाइलको पहिचान पनि यो प्रणालीले गर्न सक्छ । जसले आपराधिक कार्य नियन्त्रणमा तत्काल सहयोग पु¥याउँछ ।

कसरी चिन्ने अवैध ?
साउन १ पछि तपाईंले प्रयोग गर्ने नयाँ मोबाइलमा भ्याट तिर्नुभएको छैन र तिरेको भ्याट बिल लिनुभएको छैन भने त्यो अवैध हो तर यसो भन्दैमा विदेशबाट ल्याएका मोबाइल भने पर्दैनन् । सीमा नाकाबाट चोरी तस्करी गरेर ल्याएका मोबाइल अवैध हुन् ।
हराएको मोबाइल प्रयोग गर्न थाल्नुभएको छ भने त्यो अवैध प्रयोग हो । यसरी अवैध मोबाइल प्रयोग गर्नुभएको छ भने तपाईंलाई सेवा प्रदायकबाट एउटा म्यासेज आउनेछ । तपाईंले प्रयोग गर्नुभएको मोबाइल दर्ता नभएको अथवा अवैध रहेकोजस्ता सन्देशसहितको उक्त म्यासेजको १५ दिनपछि मोबाइल ब्लक हुन सक्ने एमडीएमएस विनियमावलीमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?